३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कालोपत्रे गर्दा बालुवा प्रयोग

बर्दिया — हुलाकी सडकअन्तर्गत गुलरिया बजार क्षेत्रमा कालोपत्रे गर्नका लागि बेस (गिट्टीको धूलो) को सट्टा बालुवा बिछ्याएपछि स्थानीय विरोधमा उत्रिएका छन् । राधाकृष्ण चोकमा भेला भएका स्थानीयले शुक्रबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमलाल लामिछानेलाई सडकमै गुनासो पोखेका हुन् । 

निर्माण व्यवसायीलाई कारबाही गर्न स्थानीयले प्रजिअसमक्ष माग गरेका छन् । अहिले हुलाकी सडकअन्तर्गत गुलरिया, भुरीगाउँ र राजापुर क्षेत्रमा निर्माणको काम चलिरहेको छ । संघीय सरकारको बजेटमा निर्माण भएको हुलाकी सडकअन्तर्गत गुलरिया प्याकेजको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । ठेक्का सम्झौता विपरीत काम गरे पनि हुलाकी आयोजना मूकदर्शक भएर बसेको स्थानीय विजय देवकोटाले आरोप लगाए ।


मापदण्डविपरीत निर्माण गरिएको सडकको आयु नहुने र त्यो बन्दाबन्दै भत्किने गुलरिया नगरपालिकाका सव–इन्जिनियर अर्जुन लम्सालले बताए । ‘सडकमा बेस नराखेर बालुवा राखिएको छ,’ उनले भने, ‘तत्काल बालुवा हटाएर बेस राख्नुपर्छ ।’


गणपति निर्माण सेवाले बनाइरहेको सडकमा बिछ्याइएको बालुवा तत्काल हटाउन निर्देशन दिएको प्रजिअ लामिछानेले बताए । हुलाकी आयोजनाका साइड इन्चार्ज रमेश पाठकले पनि ठेकेदार कम्पनीलाई बालुवा हटाउन भनिएको बताए । निर्माण व्यवसायी संघका अध्यक्ष भरत आत्रेयले निर्माण व्यवसायीले गुणस्तरहीन सडक निर्माण गर्दा पनि सम्बन्धित निकायले चासो नदिएकामा आशंका व्यक्त गरे । गणपति सेवाका सञ्चालक तुलसी घिमिरेले तत्काल बालुवा हटाउन कामदारलाई अह्राइसकेको बताए ।


प्रकाशित : मंसिर १५, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?