२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कृष्णसार बचाउन चुनौती

कमल पन्थी

(बर्दिया) — दुर्लभ वन्यजन्तुमा सूचीकृत कृष्णसार हेर्नुपरे मुलुकमै एक मात्र सुगम स्थान गुलरियाको खैरापुर हो । यहाँ निश्चित क्षेत्रफललाई तारबार गरेर वन्यजन्तु हुर्काइएको छ । यसलाई अवलोकन गर्न दिनहुँ सर्वसाधारण आउने गरेका छन् । 

कृष्णसार बचाउन चुनौती

आगन्तुकले रूपरंग र गतिविधि हेरेर रमाइलो मान्ने यो दुर्लभ वन्यजन्तु जोगाउन भने चुनौती बढ्दो छ । मानवीय अतिक्रमण, बस्तुभाउको चरन, भुस्याहा कुकुर र चितुवाको आक्रमण बढेपछि संरक्षणमा चुनौती बढेको हो । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ४५ वर्षअघि कृष्णसार लोप भएको अनुमान गरिएको थियो । कतै नदेखिएपछि हराइसकेको संरक्षणकर्मीले अड्कल गरेका थिए । त्यही बेला बर्दिया वन्यजन्तु आरक्ष स्थापना भयो । २०३२ असोजबाट यसको खोजी थालियो । संरक्षणकर्मीका अनुसार बाँके र बर्दियामा कृष्णसार खोजी गर्ने क्रममा गुलरिया–२ स्थित खैरी पण्डितपुरको वनमा एउटा सिङ भाँचिएको बूढो भाले, एउटा वयस्क भाले, तीनवटा पोथी र चार बच्चासहित नौवटा कृष्णसार फेला परे । तिनको संरक्षणका लागि तत्कालीन वन विभागको सुरक्षा पोस्ट खडा गरेको बर्दिया निकुञ्जले जनाएको छ । लामो प्रयासपछि अहिले भाले ४४, पोथी १ सय २५ र बच्चा ६५ गरी २ सय ३४ वटा कृष्णसार छन् । निकुञ्जका अनुसार कृष्णसार दुबो र काँस भएको मैदानमा बस्न रुचाउँछन् । गाई, भैंसी र भेडाबाख्रासँगै चर्न रमाउँछन् ।


बथानमा चरिरहेका कृष्णसार मानिस देख्नासाथ सुरक्षित स्थलतर्फ भाग्छन् । अन्य वन्यजन्तु र वस्तुभाउसँग चर्न मन पराउने भएकाले संरक्षित क्षेत्रमै गोठालाले बस्तुभाउ ल्याउने गर्छन् । घरपालुवा वस्तुभाउले कृष्णसारको आहारा खाने भएकाले दैनिक झगडा गर्नुपरेको संरक्षण केन्द्रका कर्मचारीले बताए । चितुवा र भुस्याहा कुकुरको आक्रमणमा वर्सेनि एक दर्जनभन्दा बढी कृष्णसारको मृत्यु हुने गरेको छ । सामुदायिक वनबाट निस्कने चितुवाको आक्रमणबाट गत साउनयता पाँचवटा कृष्णसार मारिएको कृष्णसार संरक्षण क्षेत्रका सूचना अधिकारी मनराज मोक्तानले बताए । उनका अनुसार बर्सेनि १२ देखि १५ वटा कृष्णसार मारिने गर्छन् । अहिले भुस्याहा कुकुर नियन्त्रणमा आए पनि चितुवाले आक्रमण गर्न थालेको संरक्षण समितिका अध्यक्ष कृष्ण खनालले बताए । ०३२ सालमा नौवटा कृष्णसार रहेकोमा ०७१ मा ३ सय १ वटा पुगेका थिए । ०७१ साल साउन अन्तिम साता आएको बाढीले ४० वटा बगाएको थियो । ०७४ सालमा बाढीले १८ वटा कृष्णसार मारिएको संरक्षण समितिले जनाएको छ । कृष्णसार संरक्षण क्षेत्रसँग बबई नदी जोडिएका कारण पनि बाढी आउनासाथ कृष्णसार संरक्षण क्षेत्रलाई क्षति पुर्‍याउँदै आएको छ ।


सूचना अधिकारी लामाका अनुसार यसको एउटा भालेले प्रजननका लागि एक दर्जन पोथी खोज्ने गर्छ । एउटै भालेले दिनहुँ एक दर्जनभन्दा बढी पोथीलाई आफ्नै नियन्त्रणमा राख्ने गर्छ । आफ्नो नियन्त्रित क्षेत्रमा अन्य भालेलाई प्रवेश गर्न दिंदैन । बलियो भाले आयो भने लडाइँ हुन्छ । त्यसमा जित्नेले ती पोथीलाई नियन्त्रणमा राख्ने गरेको दुई दशकदेखि कृष्णसार संरक्षण क्षेत्रमा काम गर्दै आएका गेम स्काउट डुम चन्दले बताए । उनका अनुसार पूर्णिमा र अँधेरी रात प्रजनन्का लागि कृष्णसारलाई मन पर्ने समय हो । एउटा कृष्णसारले ६–६ महिनामा २/३ वटा पाठापाठी जन्माउँछन् ।


अतिक्रमण समस्या

गुलरिया नगरपालिका–२ खैरापुर फाँटस्थित कृष्णसार संरक्षण क्षेत्र ७ सय ८ बिघा क्षेत्रमा फैलिएको थियो । हाल करिब ३ सय ५० बिघा क्षेत्रफल अतिक्रमण भएर १ सय ४२ घरटहरा बनिसकेको छ । अतिक्रमण हटाउन पहल नभएकाले वन्यजन्तु संकटमा परेको छ । केही वर्षयता थप अतिक्रमण रोकिएको छ । तर, त्यहाँबाट हटाइएकाहरूको व्यवस्थापन नहुँदा उनीहरूको दृष्टि कृष्णसार क्षेत्रकै जग्गामा छ । ०६५ चैत ३ मा संरक्षण क्षेत्र घोषणाअघि ऐलानी जग्गामा बस्दै आएका ५३ घरधुरी पनि यहीँ छन् । ०६२/६३ को जनआन्दोलनका समय विभिन्न ठाउँबाट आएका ९३ जनाले संरक्षित क्षेत्रको जमिन कब्जा गरी अस्थायी टहरा बनाए । सरकारले यहाँ रहेका सुकुम्बासीका लागि अन्यत्र व्यवस्था गरे पनि छाडेर गएनन् ।


कृष्णसार संरक्षण समितिका पूर्वअध्यक्ष एवं गुलरिया–२ का वडाध्यक्ष टंक अधिकारीले केन्द्रले बस्ती अन्यत्र स्थानान्तरण गर्न समिति गठन प्रक्रिया अघि नबढाएका कारण समस्या भएको बताए । वर्दिया राष्ट्रिय निकुञ्जले कृष्णसारको वंश नै समाप्त गर्न अतिक्रमणकारी समूह लागिपरेको शंका गरेको छ ।


जमिन अतिक्रमण भएलगत्तै केही समयसम्म चोरी सिकारीले चारवटा कृष्णसार मारेर कान, नाइटो र पुच्छर काटेर लगेका थिए । त्यस अवधिमा भुस्याहा कुकुर, हुँडार र प्राकृतिक कारणबाट पाँचवटाको मृत्यु भएको थियो ।


कृष्णसारलाई संरक्षित वन्यजन्तु घोषणा गरे पनि संरक्षणका लागि सरकारले खासै पहल नगरेको वडाध्यक्ष अधिकारी गुनासो गर्छन् । चितुवा र स्याललगायतको आक्रमणले कृष्णसार मर्दै जाने हो भने केही वर्षभित्र निमिट्यान्न हुने स्थानीय जग्गु यादवले बताए । कृष्णसार एन्टीलोप (मृग) जातिको एक वन्यजन्तु हो । यसको वैज्ञानिक नाम सर्भिकापा हो । यसलाई अंग्रेजीमा ब्ल्याक बक भनिन्छ । नेपालबाट लोप हुन थालेका कारण यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको हो । पहिले तराइका धेरै भागमा पाइने उक्त वन्यजन्तु वासस्थान र आहाराको कमीले गुलरियाको खैरापुर क्षेत्रमा मात्र सीमित छ । ०५५ सालमा ३५ वटा कृष्णसार हराएका थिए । तिनीहरू भारतीय सीमा नजिक रहेको जंगलात क्षेत्र र कृष्णसार (काली मृग) संरक्षण केन्द्रमा गएको शंका स्थानीयले गरेका छन् । सामान्यत: भाले कृष्णसार पोथीभन्दा अलि ठूलो हुन्छ । भालेका दुईवटा सिङ बटारिएको हुन्छ तर पोथीको सिङ नै हुँदैन । जिल्ला वन कार्यालयदेखि पाँच किमि पश्चिम र राष्ट्रिय निकुञ्जबाट ५० किमि पूर्व–दक्षिणमा छ ।

प्रकाशित : मंसिर १४, २०७६ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?