कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विद्यालयमा प्रहरी ब्यारेक

हरि गौतम

(रुकुम पूर्व) — कुनै कार्यक्रमको सन्दर्भ पारेर प्रहरी विद्यालयमा बसेका होइनन्  । केही समयका लागि गएका पनि होइनन्  ।

यहाँको एक विद्यालयमा लामो समयदेखि प्रहरी बसिरहेका छन् । सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी मावि प्रहरी ब्यारेक बनेको छ । विद्यालयका दुई भवनमा प्रहरी आवास छ । जिल्लामा कार्यरत प्रहरीलाई विद्यालयमा राखिएको हो । दुई वर्षदेखि पठनपाठन नभएको विद्यालय भवनलाई जिल्ला प्रहरीले आवास बनाएको छ ।

रुकुम पूर्व छुट्टै जिल्ला कायम भएपछि जिल्ला प्रहरीले विद्यालय भवनलाई ब्यारेकका रूपमा प्रयोग गरेको हो । यहाँ ०७४ असोज १९ गते जिल्ला प्रहरी कार्यालय स्थापना गरिएको हो । प्रहरीले संरचना अभाव भएपछि खाली रहेको भवन प्रयोग गरिरहेको जनाएको छ । ‘जिल्ला प्रहरी अहिले इलाका प्रहरी कार्यालयको भवनमा छ,’ प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले भने, ‘इलाकामा जिल्ला प्रहरी बस्नुपर्दा भवन पुग्ने कुरा पनि भएन ।’ विद्यालयका दुई भवनमा जुनियर अधिकृत तथा जवान ब्यारेक बनाइएको छ । रुक्मिणी माविको १ देखि ५ कक्षासम्म पठनपाठन हुने ती भवन ०६९ सालदेखि खाली थिए । खाली भवन ०७० सालको संविधानसभाको निर्वाचनमा पनि प्रहरीले प्रयोग गरेका थिए ।

जग्गा नभएकाले भवन निर्माणको माग गर्न नसकिएको खड्काले बताए । इलाका प्रहरीको भवनमा एउटा सानो घर बनाएर काम चलाइएको छ । त्यसको छतमा समेत ट्रस हालेर काम चलाइएको छ । हाल जिल्ला प्रहरीका लागि भनेर ३ हजार २ सय ५० वर्गमिटर जग्गा छ । त्यसमा २ हजार ४ सय वर्गमिटर जग्गा सिस्ने गाउँपालिकाको हो । गाउँपालिकाले प्रहरीका लागि उक्त जग्गा सिफारिस गरेको छ । तर त्यो जग्गा प्रहरीको नाममा आउने नआउने यकिन छैन । प्रहरीलाई भनिएको जग्गा गौचरन रहेको पनि सुन्नमा आएको छ । आफ्नो जग्गा नभई भवन निर्माणका लागि माग गर्ने वातावरण नभएको खड्काको भनाइ छ ।

विद्यालय भवन भएको जग्गा प्रहरीलाई दिने पहल नभएको होइन । विद्यालयले उक्त जग्गा दिन मानेको छैन । प्रहरीलाई जग्गा दिने कुरा सम्भव नहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द समालले बताए । जिल्ला प्रहरीसहित जिल्लाभर १२ वटा प्रहरी एकाइ छन् । जिल्ला प्रहरी कार्यालय, तीनवटा ‘क’ श्रेणीका इलाका प्रहरी कार्यालय, दुईवटा ‘ख’ श्रेणीका इलाका प्रहरी कार्यालय, दुई प्रहरी चौकी र चारवटा अस्थायी प्रहरी पोस्ट छन् । सबै संरचनाविहीन छन् ।

प्रकाशित : मंसिर १३, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?