सयमध्ये ९३ घरका जागिरे

हरि गौतम

(रुकुम पूर्व) — सिस्ने गाउँपालिका–६ बाहुनडेराका विष्णुप्रसाद गौतम पेन्सनर हुन्  । शिक्षण पेसाबाट अवकाशप्राप्त उनको घरमा अझै पनि ११ जना विभिन्न रोजगारीमा छन्  ।

निजामती कर्मचारी तथा शिक्षण पेसामा परिवारका सदस्य आबद्ध छन् । उनको घरमा जस्तै गाउँका अन्य परिवारका सदस्य पनि विभिन्न रोजगारीमा छन् । संख्यात्मक रूपमा उनको जति नभए पनि गाउँका ९३ प्रतिशत घर बेरोजगारविहीन छन् । रोजगारीमा संलग्न नभएकाहरू पनि विभिन्न पेसा व्यवसायमा आबद्ध छन् ।

बाहुनडेरा शिक्षकको गाउँका रूपमा चिनिन्थ्यो । एक सयमध्ये ८० भन्दा बढी घरका सदस्य शिक्षण पेसामा आबद्ध छन् । पछिल्लो समय गाउँबाट निजामती सेवा र सैन्य सेवामा प्रवेश गर्नेको संख्या बढ्दो छ । एउटै घरमा तीन जनासम्म शिक्षक छन् । पछिल्लो पटक एकै घरबाट तीन जनासम्मले निजामती सेवामा प्रवेश गरेका छन् ।

बाहुनडेरामा २२ वर्षका युवादेखि ५९ वर्षीयसम्म स्थायी जागिरमा आबद्ध छन् । गाउँका सय घरमध्ये सातबाट मात्र कोही पनि जागिरे छैनन् । उनीहरू आफ्नै व्यवसायमा रहेकाले बेरोजगार भने होइनन् । ९३ घरका शिक्षक, निजामती कर्मचारी, सैन्य र प्राविधिक सेवामा कार्यरत छन् । गाउँबाट वैदेशिक रोजगारमा जानेको संख्या निकै कम छ । २२ जनामात्रै मुलुकबाहिर छन् । तिनमा पनि भारतमा मजदुरी गर्नेदेखि क्यानडामा खोज अनुसन्धान गर्ने वैज्ञानिकसम्म छन् । कतिपय अध्ययनका लागि विदेश गएका छन् । जागिरबाट अवकाश पाएका २१ जनाको पेन्सन आउँछ । ५६ घरधुरीका शिक्षक, निजामती कर्मचारी तथा सैन्य सेवाका छन् । ३७ घरधुरीमा निजामतीतर्फ प्राविधिक र अप्राविधिक दुवैतर्फ कर्मचारी छन् । यी घरमध्ये पनि कतिपय घरमा शिक्षण र निजामती दुवैतर्फको सेवामा छन् ।

‘यो गाउँका लगभग शतप्रतिशत रोजगारमा छन्,’ रुक्मिणी माविका शिक्षक वसन्तकुमार गौतमले भने, ‘सयमध्ये सात घरका जागिरे हुनुहुन्न, तर आफ्नै व्यवसाय गरेर बस्नुभएको छ ।’ रुकुम जिल्ला एउटै हुनुपूर्व पनि सल्यानबाट शिक्षकको नियुक्ति लिएर यस क्षेत्रका विभिन्न ठाउँमा पढाउन आउनेमा बाहुनडेरावासी नै थिए । त्यसअघि बाहुनडेराकै भुवनेश्वर उपाध्याय र नन्दलाल उपाध्याय संस्कृतमा आचार्य हुन् । उनीहरूकै पालादेखि पढ्नुपर्छ र पढेपछि रोजगारीमा जोडिनुपर्छ भन्ने परेको भनाइ स्थानीयको छ ।

उनीहरू दुवैले साविकको सल्यान र रुकुम भएपछि विभिन्न ठाउँमा गएर पठनपाठन गराएका थिए । जिल्लाको पहिलो गुरुकुलमा पनि नन्दलालले ००४ सालमा मुसीकोटको गुरुकुलमा पढाएको दाबी स्थानीय ६६ वर्षीय भीमकान्त गौतमले गरे । ‘अघिल्लो पुस्ताले गरेको सिको पछ्याउँदै गएको एउटा उदाहरण बाहुनडेरा हो,’ उनले भने, ‘उतिबेला सुरु भएको यो क्रम अझै टुटेको छैन ।’ पढ्न मिहिनेत गर्नुपर्छ अनिमात्र जीवन सजिलो हुन्छ भन्ने कुरालाई मनन गरेकैले उमेर पुग्नेहरू अहिले पनि धमाधम रोजगारीमा जोडिने गरेको उनले बताए ।

बाहुनडेरामा निरक्षर पनि औंलामा गन्न सकिने संख्यामा छन् । अघिल्लो पुस्ताले नै पढाउने भएपछि पछिका कसैलाई पनि पढाइबाट बञ्चित हुने वातावरण नभएको स्थानीय फत्य ओलीले बताइन् । ‘अरू गाउँबाट विवाह गरेर आएका पुरानाबाहेक नयाँ पुस्तामा कोही पनि निरक्षर छैनन्,’ उनले भनिन्, ‘हाम्रै गाउँकी गायत्री शर्माले ०१७ सालमा राप्ती अञ्चलमा पहिलो महिलाका रूपमा एसएलसी पास गरेकी थिइन् ।’ उतिबेलैबाट छोरीलाई पनि पढाउनुपर्छ भन्ने मान्यताको विकास गाउँमा भएको उनले बताइन् ।

प्रकाशित : मंसिर १३, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?