१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विद्यालयलाई लैंगिकमैत्री बनाइँदै

अमृता अनमोल

(बुटवल) — छात्रछात्राबीच समान सिकाइको वातावरण बनाउन बुटवलका विद्यालयलाई लैंगिकमैत्री बनाउन थालिएको छ । यसअन्तर्गत हरेक विद्यालयमा भौतिक संरचना तयार गर्न र वातावरणमा सुधार गर्न लागिएको हो । 

विद्यालयलाई लैंगिकमैत्री बनाइँदै

विद्यालयभित्र हुने दुर्व्यवहार रोक्न लैंगिक समानतामूलक शिक्षा दिन थालिएको छ । उपमहानगर उपप्रमुख गुमादेवी आचार्यले कतिपय विद्यालयमा शिक्षकले नै छात्रालाई जिस्क्याउने गरेको, संवेदनशील अंग छुने, हेर्ने र यौन दुर्व्यवहारसमेत गर्ने घटना भएकाले त्यसलाई रोक्न लैंगिकमैत्री विद्यालयको अवधारणा ल्याइएको बताइन् । ‘विभिन्न अध्ययनले किशोरी उमेरलाई लैंगिक हिंसा अधिक हुने उमेर समूह पुष्टि गरेको छ,’ उनले भनिन्, ‘विद्यालयलाई नै लैंगिकमैत्री बनाउँदा किशोरीजन्य हिंसा हटाउन र छात्राको सिकाइ उपलब्धि बढाउन सकिने ठानेका छौं ।’


सरकारले विद्यालयलाई लैंगिकमैत्री बनाउन गुनासो सुनुवाइ कार्यविधि, २०७४ जारी गरेको छ । बुटवल उपमहानगरपालिकाले नगरक्षेत्रका सबै विद्यालयमा उक्त कार्यविधि अनिवार्य लागू गराउन आग्रह गरेको छ । यसअनुसार हरेक विद्यालयमा गुनासो पेटिका अनिवार्य गरिएको छ । विद्यार्थीले राखेका गुनासो सुनुवाइ गरी विद्यालयले तिनलाई समाधान गर्ने योजना बनाउने र उपमहानगरलाई बुझाउनुपर्नेछ । मौखिक गुनासो सुन्न गुनासो सुन्ने अधिकारी र लैंगिक विषय सम्बोधन गर्न लैंगिक सम्पर्क व्यक्ति तोकिनेछ । लैंगिक सम्पर्क व्यक्तिले तत्काल शिक्षक–विद्यार्थी एवं विद्यार्थी–विद्यार्थीबीच हुने लैंगिक भेदभाव र दुर्व्यवहारको गुनासा सुन्ने एवं त्यसलाई सम्बोधन गर्न पहल गर्नेछन् । गुनासो सुन्ने अधिकारीले विद्यालयको शैक्षिक वातावरण, अतिरिक्त क्रियाकलाप, शिक्षकको सिकाइ विधि, कक्षामा उपस्थिति, कक्षाकोठा व्यवस्थापन, शौचालय, खानेपानी लगायत समस्याका गुनासा हेर्ने र सुन्नेछन् । उपमहानगरका शिक्षा शाखा प्रमुख मित्रमणी खनालले आफूलाई हुने समस्या तत्काल राख्न र सम्बोधन हुन सके विद्यार्थीको बीचमै कक्षा छोड्ने दर घट्ने तथा विद्यालयमा उपस्थिति दर र सिकाइ उपलब्धि बढ्ने बताए । ‘विद्यालयमा हुने लैंगिक हिंसा, यौन दुर्व्यवहार, बुलिङ वा अनावश्यक गतिविधि रोक्नु यस कार्यक्रमको प्रमुख लक्ष्य हो,’ उनले भने, ‘शिक्षकलाई जिम्मेवार बनाउन पनि यो आवश्यक छ ।’


उपमहानगरमा सामुदायिक र संस्थागत गरी ५७ विद्यालय छन् । अहिलेसम्म यहाँका विद्यालयमा गुनासो सुनुवाइ कार्यविधि लागू भएको छैन । विद्यार्थीका गुनासा सुन्न भन्दै ४० प्रतिशत विद्यालयमा गुनासो पेटिका राखिएका छन् । अधिकांश पेटिका नाम मात्रैका छन् । ‘विद्यालयमा गुनासो पेटिका छन् । विद्यार्थीलाई आफ्ना गुनासा राख्न पनि आग्रह गरिएको छ,’ यहाँको नमुना विद्यालय नविन औद्योगिक कदरबहादुर रीता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले भने, ‘तर, अपेक्षा गरिएअनुसार संख्यात्मक र गुणात्मक गुनासा आएका छैनन् ।’


गुनासो सुनुवाइ कार्यविधिलाई अनिवार्य कार्यान्वयन गर्न उपमहानगरले सोमबार विद्यालयका प्रधानाध्याफक र सरोकारवालाबीच अन्तर्त्रिया आयोजना गर्‍यो । त्यसमा सबै विद्यालयमा तत्काल छात्रछात्राको छुट्टाछुट्टै शौचालय बनाउन र छात्रा शौचालयमा सेनेटरी प्याड व्यवस्थापन गर्न आग्रह गरेको छ । ‘लैंगिक रूपमा कसैलाई बलवान् र कसैलाई कमजोर हुने शब्द प्रयोग नगरौं । केटा बलिया र केटी कमजोर हुन्छन् भन्ने उदाहरण नदिऔं । आमाले भात पकाउनुहुन्छ र बाबा अफिस जानुहुन्छ भन्ने उदाहरण नदिऔं,’ उपमहानगरको सामाजिक महाशाखा प्रमुख तुल्सा शर्माले सुझाव दिइन्, ‘पाठ्यक्रममा भएका लैंगिक विभेदपूर्ण शब्दलाई चिनो लगाएर सुधारेर पढाउने गरौं ।’


प्रधानाध्यापकले छात्राको सिकाइ उपलब्धि बढाउन कक्षाकोठामा छात्र र छात्रा विद्यार्थीर्बीच समान व्यवहार र वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । ‘सबैको लक्ष्य विद्यार्थीको सिकाइ उपलब्धि बढाउने हो,’ अक्सफोर्ड माविका प्रधानाध्यापक दिनेश भुसालले भने, ‘तसर्थ, निजी विद्यालयसमेत लैंगिकमैत्री बनाउन र कार्यविधि अक्षरश: पालना गर्न प्रतिबद्ध भएका छौं ।’ विभिन्न अध्ययनले किशोरी उमेरमा प्रजनन अंगको विकास र तिनलाई समाधान गर्न नसक्दा देखिने मनोवैज्ञानिक असरले धेरै छात्राको सिकाइ उपलब्धि घट्ने र कक्षा छोड्ने देखिएको छ । त्यसमा शिक्षकबाटै हुने दुर्व्यवहार धेरै छ ।


‘शिक्षकबाट जानीनजानी हुने विभेदको सिकार विद्यार्थी हुनुहुन्न । यस्तोमा शिक्षक पीडक होइन अभिभावक बनेर गुनासा सुन्ने र समस्या समाधान गर्ने गर्नुपर्छ,’ इन्सेक प्रतिनिधि रीमा बीसीले भनिन्, ‘विद्यालय पूर्ण रूपमा लैंगिकमैत्री बन्न सके यो सम्भव छ ।’


प्रकाशित : मंसिर ११, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?