कर्णाली तटबन्धको काम प्रभावित

बर्दिया — कर्णाली नदी नियन्त्रणका लागि सुरु गरिएको तटबन्ध निर्माण कर्मचारी र आर्थिक अभावले प्रभावित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजनाका ३ इन्जिनीयर र एक सवारी चालकलाई १५ लाख रुपैयाँ घूससहित पक्राउ गरेपछि कर्मचारी अभाव छ । आव ०७१/७२ मा सुरु आयोजना ९ वर्षभित्र पूरा गर्ने सरकारी लक्ष्य छ ।

कर्णाली तटबन्धको काम प्रभावित

चालु वर्ष तटबन्धका निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन भएको छ । त्यसमध्ये पुरानो ठेक्काको दायित्वबापत १२ करोड रुपैयाँ तिर्नुपर्ने छ । यस वर्ष ३ करोड रुपैयाँमात्र खर्च गर्न मिल्नेछ । कटान अझै जारी छ । निर्माण गरिएको तटबन्ध भत्किने क्रममा छ । आयोजना प्रमुख केदारकुमार श्रेष्ठले आवश्यक बजेटका लागि मन्त्रालय धाइरहेको बताए । ‘अहिले प्राविधिक कामका लागि जम्मा २ इन्जिनियर हुनुहुन्छ । बजेट ३ करोड मात्रै छ । त्यसैले बजेट माग्न काठमाडौं आएको छु,’ उनले भने, ‘माध्यम बर्गीय आयोजनाका लागि बजेट माग गरेका छौँ । लामो अवधिको आयोजनाको लागत बजेट पनि तयार गर्दै छौं ।’


उनका अनुसार यही गति कायम रहे निर्धारित समयमा आयोजना पूरा हुने छैन । ५ वर्षयता करिब २ अर्ब रुपैयाँ खर्च भइसकेको छ । ४३ किमि तटबन्ध निर्माणमा ११ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसका लागि गुरुयोजना संशोधन गर्न केन्द्रमा प्रस्ताव पठाइएको छ । बर्दियाको राजापुर र कैलालीको टीकापुर नगरपालिकालाई कटानबाट जोगाउन सरकारले नदी नियन्त्रण आयोजना सुरु गरेको थियो ।


आयोजना असफल हुन थालेपछि नाम फेरेर कर्णाली नदी व्यवस्थापन आयोजना राखिएको छ । बजेट अभावमा टुक्रे तटबन्ध निर्माण चलिरहेको छ । जसले बर्सेनि करोडौं रकम कर्णालीमा बग्ने गरेको छ । कर्णालीमा पानीको बहाव तीव्र भएकाले कटानका लागि बाढी नै आउनु पर्दैन । हालै निर्माण गरिएको राजापुरको चुनौरा, मुर्गौवालगायतका स्थानमा निर्माण गरिएको पक्की तटबन्ध बगेको छ । एक वर्ष नपुग्दै तटबन्ध भत्किएपछि दर्जनौं गाउँ कटानको जोखिममा परेका हुन् । तटबन्ध पूरा भएपछि राजापुर कटानबाट जोगिने विश्वास छ । कटानबाट प्रभावित गेरुवा गाउँपालिकाको वनघुस्रा, सनकट्टी र गुप्तीपुर तथा राजापुर नगरपालिकाको टिहुनी, नंगापुर, अनन्तपुर, सत्ती घाट र तीघ्रामा तटबन्ध निर्माण गरिएको छ ।


सडक अलपत्र

हुलाकी मार्गअन्तर्गत सदरमुकाम गुलरियामा सडक स्तरोन्नतिको काम अलपत्र छाडेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ । यसको ठेक्का लिएको गणपति निर्माण सेवा कम्पनीले काम अलपत्र छाडेको हो । सदरमुकाम भित्रको करिब ८ सय मिटर सडकमा गिटी, बालुवा छरिएको छ । लगत्तै पिच निर्माणको काम नगरेपछि सर्वसाधरणलाई आउजाउमा समस्या भएको छ ।


गणपतिले ३ किमि सडक अलपत्र छाडेकाले सास्ती बढेको छ । यसरी छरिएका गिटी, बालुवामा दैनिक साना सवारीका साधन चिप्लिने गरेका छन् । हुलाकी मात्र नभएर भित्री सडक निर्माणमा भएको ढिलाइले सदरमुकाम अस्तव्यस्त बनेको छ । जताततै धराप र खाडलले आवागमन प्रभावित भएको छ । गत असार मसान्तभित्र निर्माण सक्नुपर्ने थियो । अहिलेसम्म काम अधुरै छ ।

प्रकाशित : मंसिर ७, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?