‘अम्मी ने स्कुल भेजा’

‘पढ्यो भने धेरै कुरा सिक्न र बुझ्न पाइन्छ, मलाई अझै पढ्ने मन छ, अहिल्यै बिहे गरे पढ्न पाउँदिनँ’
रूपा गहतराज

नेपालगन्ज — पालगन्ज उपमहानगरपालिका ८, गगनगन्जकी सबिना हलवाई १८ वर्षकी भइन् । किशोर उमेरसम्म विद्यालय पुगेकी थिइनन् । साथीहरू ठाँटिएर विद्यालय जाँदा उनलाई पढ्ने मन नलागेको होइन । त्यो चाहना दबाएर राखिन् । बुवा अरूको पसलमा कपडा सिलाउँछन् । आमा घरधन्दामा व्यस्त । कसैले पढ्न हौंसाला दिएनन् ।

‘अम्मी ने स्कुल भेजा’

पढ्ने उमेरमा घरधन्दामा तल्लीन उनी अहिले नेपालगन्ज ४, सल्यानीबागमा रहेको आधारभूत विद्यालयअन्तर्गत बालबिकास कक्षामा भर्ना भएकी छन् । ‘घरनजिकै स्कुल खुलेपछि पढ्न पाएँ,’ उनले भनिन्, ‘अम्मी ने ही स्कुल भेजा है ।’ छात्रा विद्यालय सञ्चालनमा आएको खबर पाएपछि आमाले छोरीलाइ विद्यालय पठाएकी हुन् । ढिलो अवसर मिले पनि उनलाई संकोच छैन् । ‘धेरै पढने धोको छ,’ उनले भनिन्, ‘बल्ल त सुरु गरेँ ।’ कक्षामा उनी पाकी विद्यार्थी हुन् । अन्य छात्रालाई अनुशासनका साथै पढ्न सिकाउँछिन् । सविना पढाइमा जिज्ञासु रहेको कक्षा शिक्षक रितु क्षत्रीले बताइन् ।


‘जस्तोसुकै काम परे पनि दैनिक विद्यालय आउछिन् एक दिन पनि गयल हुँदिनन्,’ रितुले भनिन्, ‘सबैभन्दा राम्रो कुरा साना बालिकासंग बसेर पढ्न संकोच मान्दिनन् । उनी अहिले कक्षाकी अभिभावक पनि हुन् ।’ सबिना विद्यालय गएको देखेर उनका २ बहिनी पनि पढ्न थालेका छन् । उनका भाइ मदरसामा पढीरहेका छन् । उमेर पुगिसकेको भन्दै घरमा सबिनाको बिहेको कुरा पनि चल्ने गरेको छ । पढाइ सकेर मात्र बिहे गर्ने उनको निधो छ । ‘पढ्यो भने धेरै कुरा सिक्न र बुझ्न पाइन्छ,’ उनले भनिन्, ‘मलाइ पढ्ने मन छ, अहिले बिहे गरे पढ्न पाउदिनँ ।’


उनी उदाहरण मात्र हुन् । यहाँ छात्रा विद्यालय सञ्चालनमा आएपछि धेरैको पढने रहर पूरा भएको छ । नेपालगन्ज १ की १२ वर्षीया फारिया खान १ कक्षामा भर्ना भएकी छन् । ‘स्कुल आउँदा रमाइलो लाग्छ,’ उनले भनिन्, ‘पहिले परिवारले पढ्न दिएनन् ।’ उनका बुवा अटो रिक्सा चलाउँछन् । घरनजिकै छात्रा विद्यालय सुरु भएपछि परिवारले नाम लेखाइदिए । उनले पढ्न पाइन् । बाबुले नै कलमकापी किनेर ल्याइदिन्छन् । कहिलेकाँही खाजाको चिन्ता हुन्छ । ‘स्कुल आउँदा भोकै आउँछौं,’ उनले भनिन, ‘हाफछुट्टी भएपछि घरमै गएर खाना खान्छौं ।’ उनका अनुसार खाजाका लागि अभिभावकले पैसा दिन सक्दैनन् । उनीसँगै २ बहिनी पनि पढ्न आउछन् ।


विद्यालय जाने र पढने रहर पूरा भयो । उनीहरूलाई अहिले पढ्न आवश्यक पर्ने कापीकलम अभावले पिरोल्ने गरेको छ । नेपालगन्ज ४, की १० वर्षीया सानिया शाही २ बहिनीसँगै केही दिनअघि कक्षा १ मा भर्ना भइन् । परिवारले नै पढ्न पठाए । आफूसित सिसाकलम र इरेजर नहुँदा खल्लो लाग्ने गरेको उनले सुनाइन् । ‘धेरै किन्न पर्‍यो भनेर परिवारका सदस्य झर्किन्छन्,’ उनले भनिन्, ‘कलम र पेन्सिल नहुँदा साथीसंग मागेर लेख्छु ।’ उनका बुबा रिक्सा चलाउँछन् ।


विद्यालयमा मदरसाबाट आएका बालिका धेरै छन् । जसमध्ये ९० प्रतिशत विपन्न समुदायका छन् । पढ्न शुल्क लाग्दैन । शैक्षिक सामग्री अविभावकले जोहो गर्नुपर्छ । ‘सीमित स्रोत–साधनमा सञ्चालन गरिरहेका छौं,’ प्रधानाध्यापक बुधेश जयसवालले भने, ‘अलिकति भए पनि चेतनाको स्तर बढेको छ । छोरी पढाउनु हुँदैन भन्ने मानसिकता भन्दा माथि उठेका छन् ।’


छात्रालाई ध्यानमा राखेर उपमहानगरपालिकाले यसै वर्षदेखि सल्यानीबागमा यस्तो विद्यालयका सञ्चालनमा ल्याएको हो । विद्यालयमा अहिले २ सय ७४ छात्रा पढिरहेका छन् । यसअघि नेपालगन्जमा सरस्वती मावि एकमात्र छात्रा विद्यालय थियो । विपन्न समुदायलाई लक्षित गरी छात्रा विद्यालय सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित : मंसिर ७, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?