कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पर्यटक कुर्दै बाघ र गैंडा

(बर्दिया) — नेपाल भ्रमण वर्ष नजिकिंदै गर्दा यहाँ धमाधम आवासीय संरचना बन्न थालेका छन् । पर्यटक बढ्ने आशामा व्यवसायीले आवास बनाउन लागेका हुन् । यहाँका पर्यटकीय क्षेत्रमा अब बाघ र गैंडा हेर्न पर्यटक भित्रिने आशा गरिएको छ ।

पर्यटक कुर्दै बाघ र गैंडा

ओझेलमा परेका क्षेत्रलाई भ्रमण वर्षले चिनाउने धेरैको विश्वास छ । अहिलेसम्म ठाकुरद्वारालाई मात्र पर्यटकीय क्षेत्रका रूपमा चिन्ने गरिन्छ । तर, जिल्लामा थुप्रै पर्यटकीय क्षेत्र छन् । बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको दनुवा ताल प्रचारमै छैन । यो ताल बर्दिया र थारू समुदायको इतिहाससँग जोडिएको छ । बार बर्दिया नगरपालिकाको कतर्निया जंगलमा कर्णे राजाको दरबार छ । जसको अध्ययनै हुन सकेको छैन । तर, दरबारको अवशेष अझै रहेको स्थानीय बताउँछन् । ‘दरबारका इँटा अझै भेटिन्छन् । दरबारका विभिन्न सामग्री पनि देखिन्छ,’ स्थानीय रामबहादुर चौधरीले भने, ‘ऐतिहासिक दरबारको अनुसन्धानका लागि कसैले चासो दिएको छैन । जसका कारण धार्मिक महत्त्वको पर्यटकीय क्षेत्र ओझेलमा छ ।’


ठाकुरद्वारासँगै जोडिएको गेरुवा गाउँपालिका अझै पनि पर्यटकीय क्षेत्रका लागि नौलो क्षेत्र हो । प्राकृतिक रूपमा सुन्दर रहेको यहाँका धेरै क्षेत्रको प्रचार हुन सकेको छैन । पर्यटक रमाउन सक्ने प्राकृतिक सुन्दरता धेरै छन् । पालिकालाई मध्यवर्ती वनले घेरेका कारण वन्यजन्तु सहजै देख्न सकिन्छ । पालिकाले सबैजसो वडामा होमस्टे सञ्चालनमा ल्याउँदै छ । गेरुवा गाउँपालिका प्रमुख जमानसिंह केसीले पालिकालाई पर्यटकीय क्षेत्र बनाउने प्रयास भइरहेको बताए । ‘नयाँ स्थानको प्रचार पनि गर्दै छौं,’ उनले भने, ‘संरचना निर्माणको काम पनि हुँदै छ ।’


भ्रमण वर्षका लागि बाँके र बर्दियाका अधिकांश पर्यटकीय र धार्मिक स्थलमा चहलपहल देखिन थालेको छ । राष्ट्रिय निकञ्जबाहेकका स्थानलाई पर्यटक गन्तव्यमा राखिएको छैन । बर्दिया राष्ट्रिय निकुञ्जबाहेक सामुदायिक वन, होमस्टे, धार्मिक स्थल, विभिन्न समुदायका परम्परागत संस्कृति जिल्लामा छन् । त्यस्तै, बाघ र गैंडा हेर्न पाइने बर्दिया राष्ट्रिय निकुञ्ज मुलुककै लामो गेरुवा नदी पुल, डल्फिन, ११० बिघाको बढैयाताल, एसियाकै नमुना कर्णाली चिसापानी पुल, ठाकुरद्वारास्थित डल्ला होमस्टे, गुलरिया नगरपालिका खैरापुरमा संरक्षण गरिएका कृष्णसार, बाँसगढीको केदारेश्वर धाम, सुन्दर चेपाङ गाउँलगायत पर्यटकीय क्षेत्रलाई नयाँ गन्तव्य बनाइन लागिएको छ ।


पर्यापर्यटन विकास समिति ठाकुरद्वाराका अध्यक्ष तथा होटल व्यवसायी मोहन चौधरीले सरकारको नजरमा नपरेका थुप्रै पर्यटकीय क्षेत्रलाई समेट्नुपर्ने बताए । स्थानीय सरकारले पनि छुटेका क्षेत्रलाई लक्षित गरी प्रचार गर्नुपर्ने छ ।

प्रकाशित : मंसिर ५, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?