कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अन्तर्राष्ट्रिय बाल दिवस : ‘बालविवाहविरुद्ध बोल्नै डर’

दाङ — कपिलवस्तुकी दीक्षा विक आफ्नो वरिपरि भइरहेको बालविवाहबारे जानकार छन् । बाल क्लबमा आबद्ध विक बालविवाहविरुद्ध खरो उत्रिन चाहन्छिन् तर गाउँसमाज उनको पक्षमा छैन । प्रहरीमा गुनासो गर्दा सुनुवाइ हुँदैन, स्थानीय तह गम्भीर छैन, स्थानीय सरकारसँग बालविवाह नियन्त्रणका कुनै नीति र योजना छैनन् । बालविवाह गर्ने र गराउनेलाई कारबाही हुँदैन । यी कुराले उनलाई निराश बनाएको छ ।

कपिलवस्तुकै बाल क्लबका सदस्य सागर थारूलाई पनि बालविवाहमा कमी आउन नसकेकामा दु:ख लाग्छ । ‘क्लबबाट विभिन्न अभियान चलाए पनि सामाजिक सोचमा परिवर्तन आउन सकेको छैन,’ उनले भने, ‘हामीलाई गाउँ समाज, स्थानीय सरकार र प्रहरी प्रशासनबाट सहयोग भएको छैन ।’ बालविवाहप्रति सरकारी निकाय गम्भीर नहुँदा समस्या बढ्दै गएको बाल सञ्जाल कर्णाली प्रदेशका उपाध्यक्ष यम विकले बताए । ‘प्रहरीलाई खबर गर्दा उजुरी चाहियो भन्छ । बालबालिका लिखित उजुरी गर्न जाने अवस्था हुँदैन । अभिभावकहरू दुस्मनी गर्छन्,’ उनले भने, ‘जनप्रतिनिधिलाई भोट घट्ला कि भन्ने चिन्ता छ, उनीहरू बोल्नै डराउँछन् । बालविवाहविरुद्ध लड्ने इच्छाशक्ति छैन ।’


शिक्षित जनशक्तिको संख्या बढ्दै गए पनि बालविवाह न्यूनीकरण हुन नसकेपछि बालबालिकाका सरोकारवालालाई चिन्तित बनाएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारी काठमाडौंमा आयोजित बालविवाह न्यूनीकरणसम्बन्धी राष्ट्रिय कचहरीमा सहभागी बालबालिकाले बालविवाह नै बालअधिकारको मुख्य चुनौती भएको गुनासो गरे । काठमाडौं, ललितपुर, गोर्खा, पर्वत, कास्की, म्याग्दी, बर्दिया, कैलाली, डोटी, बाजुरा, मुगु, हुम्ला, कालीकोट र कपिलवस्तुका १ हजार ३२ किशोरकिशोरी र अभिभावकबीच गरिएको सर्वेक्षणमा बालविवाह गर्नेमध्ये ८ प्रतिशतको सम्बन्ध बिग्रिएको देखिएको छ । २ दशमलव ३ प्रतिशतको बाल्य अवस्थामै सम्बन्धविच्छेद भएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । सामाजिक सञ्जालको प्रयोग, मायाप्रेम, घरपरिवारमा विखण्डनजस्ता कारणले बालविवाह हुने गरेको पाइएको छ । सर्वेक्षणमा देखिएका समस्या सम्बोधन गर्न बालविवाह न्यूनीकरणसम्बन्धी १६ वटा नगर र तीनवटा प्रदेश स्तरका बालकचहरी सम्पन्न गरिसकेको किर्डाकका कार्यक्रम संयोजक गोविन्द शाहीले बताए ।


घरमा दुर्व्यवहार हुँदा, अभिभावकलाई चेतना नहुँदा, मनोविमर्श नहुँदा बालविवाह बढिरहेको शिक्षिका शिक्षा अधिकारीले बताइन् । सामाजिक मूल्य मान्यता, पारिवारिक दबाब, प्रजनन स्वास्थ्य शिक्षाको अभाव, कानुन कार्यान्वनमा कमीजस्ता कारणले बालविवाह भइरहेको बालअधिकारकर्मी इन्दु पन्तले बताइन् । देशभर २४ हजार बाल क्लब रहेको र त्यसमा संलग्न बालबालिका बालविवाहविरुद्ध क्रियाशील रहेको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए । बाल क्लबहरू चेतनाका वाहक भइरहेको बालअधिकारकर्मी गौरी प्रधानले बताए ।प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्वाहाम्फेले बालविवाह न्यूनीकरण गर्ने मुख्य दायित्व सरकारकै भएको बताइन् । ‘बालविवाह नियन्त्रण गर्न तीनै तहका सरकार जिम्मेवार हुनुपर्छ । संसद्ले आवश्यक ऐन नियम बनाएको छ,’ उनले भनिन् ।


राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले सरकारले बालबालिका र किशोरकिशोरीको हितमा पर्याप्त नीति र कार्यनीति बनाएको बताए । १५ वर्षमुनिको विवाह घट्दै गएको उल्लेख गर्दै उनले सबैले बालविवाहविरुद्ध बोलेर जतिसक्यो धेरै घटना बाहिर ल्याउन जरुरी रहेको बताए । प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय प्रमुख डीआईजी पीताम्बर अधिकारीले प्रहरीमा बालविवाहसम्बन्धी उजुरीहरू निकै कम आउने गरेको बताए ।

प्रकाशित : मंसिर ५, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?