कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हेलिकप्टरमै जिल्ला भ्रमण

‘स्वर्ण जयन्ती उद्घाटन गर्न ९ लाख रुपैयाँ खर्चेर हेलिकप्टर चार्टर, तैपनि मुख्यमन्त्रीले भनेजति समय दिएनन्’
हरि गौतम

(रुकुम पूर्व) — सडक सञ्जालले नजोडेका यहाँका दुई स्थानीय तहमा आयोजना गरिएका ४ कार्यक्रममा सहभागी हुन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भाडाको हेलिकप्टर प्रयोग गरेका छन् ।

हेलिकप्टरमै जिल्ला भ्रमण

सेनाको हेलिकप्टरमार्फत बुधबार काठमाडौंबाट रुकुम पूर्व पुगेका उनी पुथाउत्तरगंगा गाउँपालिकाका दुई र सिस्ने गाउँपालिकाका दुई कार्यक्रममा सहभागी भएका हुन् । पुथाउत्तरगंगा १ मैकोट, वडा १० को तकसेरा र अस्थायी सदरमुकाम रुकुमकोटका कार्यक्रम उनले एकै दिनमा भ्याएका हुन् । पुथा हिमालय मावि मैकोटको स्वर्ण जयन्ती, तकसेराको सभाहल उद्घाटन, जिल्लास्थित कार्यालय प्रमुखसँगको भेटघाट र पत्रकार सम्मेलन मुख्यमन्त्री पोखरेलले गरे । गाडीबाट एक दिनको यात्रा र अर्को एक दिन पैदल यात्रा गर्नुपर्ने भएपछि मुख्यमन्त्री पोखरेलले हेलिकप्टर प्रयोग गरेका हुन् ।


हेलिकप्टरमार्फत सुरुमा तकसेरा ओर्लेका उनी सोही हेलिकप्टरमार्फत मैकोट र रुकुमकोट पुगेका थिए । मुख्यमन्त्री बनेपछि रुकुम पूर्वको यो उनको पहिलो भ्रमण हो । तीनदिने जिल्ला भ्रमणको कार्यक्रमसहित यहाँ आएका उनले एक दिनमा २ स्थानीय तहका कार्यक्रममा सहभागी भए । बिहीबार र शुक्रबार सिस्ने र भूमे गाउँपालिकामा हुने कार्यक्रममा गाडीमार्फत सहभागी हुनेछन् । तीन स्थानीय तह रहेको जिल्लाका केही ठाउँमा अझै सडकको पहुँच पुगेको छैन । सडक नपुगेका ठाउँका कार्यक्रममा मुख्यमन्त्रीलाई सहभागी गराउन स्थानीयले हेलिकप्टर रिजर्भ गरेका हुन् ।


मुख्यमन्त्री पोखरेलको मुख्य कार्यक्रम पुथा हिमालय माविको स्वर्ण जयन्ती उद्घाटन रहेको भए पनि उनले खासै समय नदिएको विद्यालयका प्रधानाध्यापक हस्तिमान पुन मगरले बताए । विद्यालयका तर्फबाट हेलिकप्टर चार्टर गरेबापतको रकम वडा १ ले बेहोर्ने सहमति भएको उनले सुनाए । ‘विद्यालयको कार्यक्रमलाई खासै समय दिनुभएन, विद्यालयका समस्या तथा हाम्रा गुनासा राख्ने योजनामा हामी थियौं,’ उनले भने । विद्यालयलाई धेरै समय दिएपछि हेलिकप्टर चार्टरको धेरै रकम विद्यालयले बेहोर्ने निर्णय भए पनि समय कम दिएकाले अब कति बजेट विद्यालयले बेहोर्ने भन्नेबारे छलफल हुने उनले बताए । वडा १ कार्यालयले ढोरपाटन सिकार आरक्षमा आएका सिकारीबाट संकलन गरेको ५ लाख ३० हजार रुपैयाँ मुख्यमन्त्रीको हेलिकप्टर चार्टरमा खर्च गर्ने गरी तयारी गरेको उनको दाबी छ ।


जिल्लाका अरु स्थानीय तहले १ लाख ५० हजारका दरले हेलिकप्टर चार्टरको भाडा तिरेको उनको भनाइ छ । मैकोटसम्म सडक नपुगेकाले विद्यालय आफैंले हेलिकप्टर रिजर्भ गरेर मुख्यमन्त्रीलाई त्यहाँ पुर्‍याएको हो । बुधबारका दुईवटै सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जिल्लामा सम्भावनै सम्भावना रहेको औंल्याएका छन् । स्रोत परिचालन गरी विकासमा प्रयोग गर्न उनको सुझाव थियो । नयाँ सडक, मर्मत गर्नुपर्ने तथा स्तरोन्नतिका लागि एउटा सडकमा १० लाखदेखि १० करोड रुपैयाँसम्मको बजेट विनियोजन गरिएको उनले बताए ।



बिहीबार जिल्ला अस्पताल उद्घाटन र राजनीतिक कार्यक्रममा रुकुमकोटमै रहने उनी शुक्रबार भूमे गाउँपालिकामा जिल्लाभरिका जनफ्रतिनिधिको अन्तर्त्रिया कार्यक्रममा सहभागी हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।


‘पार्टीभित्र र बाहिरबाट हमला’

मुख्यमन्त्री पोखरेलले पार्टीमाथि पार्टीभित्र र बाहिरबाट हमला भइरहेको बताएका छन् । रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोटमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पार्टी कमजोर बनाउन घेराबन्दी भइरहेको आरोप लगाएका हुन् ।


‘नेपालका दुई ठूला कम्युनिस्ट पार्टी अलग हुँदा त्यसबाट फाइदा लिने दाउमा रहेकाहरू पार्टी एक हुनेवित्तिकै हमलामा उत्रिएका छन्,’ उनले भने, ‘त्यसबाट पार्टी निर्माणमा खासै असर परेको छैन र पर्दैन पनि ।’

प्रकाशित : मंसिर ५, २०७६ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?