कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वैदेशिक रोजगारमा जानेहरू परामर्श लिदैनन् 

ठाकुरसिंह थारु

(बर्दिया) — मधुवन नगरपालिकाकी सपना परियारले राहदानी बनाउने सिफारिस लिन स्थानीय प्रशासनमा निवेदन दिइन् । उनी जापान जाने तयारीमा रहेकाले निकै हतारमा रहेको सुनाइन् । ‘एक सातामा राहदानीलगायतका सबै काम नसके विदेश जान पाइँदैंन,’ उनले भनिन्, ‘राहदानी बनाउनैका लागी प्लेनमा काठमाडौं जाने तयारीमा छु ।’ 

वैदेशिक रोजगारमा जानेहरू परामर्श लिदैनन् 

उनको हतारो देखेर जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले सम्झाउन खोजे । वैदेशिक रोजगारमा जाने क्रममा सावधानी नअपनाए मानव तस्करले बिक्री गर्न सक्ने सुझाए । उनले कसैको बहकाउमा नलाग्न आग्रह गरे । तर, परियार यी कुनै कुरा सुन्ने स्थितिमा थिइनन् । ‘मलाई सबै कुराको जानकारी छ,’ उनले भनिन्, ‘मलाई केही हुँदैन । हजुरले सिफारिस दिए पुग्छ ।’ पछिल्लो समय वैदेशिक रोजगारीका लागि राहदानी बनाउने महिलाको संख्या बढेको छ । मानव तस्करले महिलालाई आर्थिक प्रलोभनमा पारेर विदेश पठाउने नाममा बिक्री गर्न सक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाएको छ । मानव तस्कहरूले भने राहदानी बनाउन लाग्ने शुल्क र भिसा खर्च तिरेर चंगुलमा पारी बिक्री गर्ने गरेका छन् । परियार तिनैमध्येकी एक हुन् । बाँसगढी नगरपालिकाकी मीना केसीले वैदेशिक रोजगारका लागि जाने भन्दै राहदानी बनाइन् । उनलाई त्यसैगरी प्रशासनका अधिकारीले वैदेशिक रोजगारीका चुनौतीबारे सुझाए । तर, उनले पनि सुझाव लिन चाहिनन् ।


चालु आर्थिक वर्षको साउनयता ९ सय १६ जनाले जिल्लाबाट राहदानी लिएका छन् । त्यसमध्ये इमर्जेन्सी सेवाबाट ८ सय १ जनाले राहदानी बनाएको देखिन्छ । गत आर्थिक वर्षमा २ सय ९८ महिलाले इमर्जेन्सीमा काठमाडौंबाटै राहदानी लिएको तथ्यांक छ । जिल्लाबाट २ हजार २ सय ३८ पुरुष र ३ सय ७० महिलाले राहदानी लिएका छन् ।


‘मानव तस्करले महिलालाई प्रलोभनमा पार्न सक्ने भएकाले हामीले कार्यालयमा बिचौलियाको प्रवेशलाई रोकेका छौं । कोही महिला राहदानी बनाउन आए सम्झाउँछौं,’ प्रशासकीय अधिकृत सुवेदीले भने, ‘तर, जति नै सम्झाउने प्रयास गरे पनि विदेश जाने भूत सवार भइसकेका महिला सुन्नै तयार हुँदैनन् ।’ एक साताभित्रै राहदानी बनाउँदा १० हजार शुल्क तिर्नु पर्छ । तीन दिनमा राहदानी बनाउँदा १५ हजार र दुई दिनमा बनाए २० हजार शुल्क लाग्छ ।


अहिले जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन दैनिक करिब पाँच दर्जन युवायुवती आउने गरेको प्रशासनले जनाएको छ । तीमध्ये झन्डै आधा जतिले दोब्बर दस्तुर तिरेर इमर्जेन्सीमा बनाउने गरेका छन् । इमर्जेन्सीमा राहदानी लिनेमध्ये महिलाको संख्या बढी छ । कतिपय महिला परिवारलाई जानकारी नदिई लुकीछिपीमा राहदानी बनाउन आउने गरेको पाइएको छ । धेरै पैसा कमाउने प्रलोभनमा वैदेशिक रोजगारमा जाने गाउँगाउँमा लहड चलेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्ति ब्याजमा ऋण खोजेर भए पनि विदेश जाने गरेका छन् । पछिल्लो समयमा वैदेशिक रोजगारतर्फ महिला पनि आकर्षित भएका छन् । .गृह मन्त्रालयले सामान्य तरिकाले निवेदन दिएको ४५ दिनभित्रै राहदानी उपलब्ध गराउने नियम छ । त्यसका लागि पाँच हजार रुपैयाँ सरकारी दस्तुर तिर्नु पर्छ । इमार्जेन्सी सेवाका लागि स्थानीय प्रशासनबाट सिफारिस लिएर राजधानी जानुपर्छ ।


नेपाली महिलाहरू बिक्री हुन सक्ने भन्दै सरकारले भारत भएर वैदेशिक रोजगारीमा जान रोक लगाएको छ । तर, मानव तस्करले भारतको दिल्लीमा भिसा बनाई दिने भन्दै भारत लैजाने गरेको पाइएको छ । कतिपय नेपाली महिलालाई पर्यटक भिसामा विदेश पठाउने गरेको पाइएको छ । ‘छिटो धनी हुने चाहना जोकोहीलाई छ । यसैलाई मानव तस्करहरूले ठूलो हतियार बनाएका छन्,’ नेपालगन्ज नाकामा रहेको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले भने, ‘तस्करले सञ्जालमार्फत प्रलोभनमा पार्छन् र भारत लैजान्छन् ।’ वैदेशिक रोजगारीका लागि भारत गएका कतिपय महिला सम्पर्कविहीन हुने गरेका छन् । माइती नेपालका अनुसार नेपालगन्ज सीमा हुँदै भारत जाने पाँच सयभन्दा बढी महिला हरेक वर्ष सम्पर्कविहीन भएको भन्दै खोजीका लागि निवेदन दिने गरेका छन् ।


वैदेशिक रोजगारका लागि खाडी मुलुक पठाउने भन्दै भारत लगिएका नेपाली महिलालाई उद्दार गरी फिर्ता पठाइने गरिएको छ । तर, उद्दार गरिएका तिनै महिला फेरि पनि भारतमै पुग्ने गरेका छन् । जसका कारण उनीहरू बेचबिखनको उच्च जोखिममा पर्ने गरेका हुन् । त्यसरी फिर्ता पठाइएका महिलाको पहिचानका लागि भारतीय सुरक्षाकर्मीले अभिलेख राख्ने गरेका छन् । भारत जाने नेपालीको परिचयपत्र अनिवार्य नगरिएका कारण हराएकाहरूको खोजीमा समस्या हुने गरेको सरोकारवालाले बताए । भारतको दिल्ली एयरपोर्ट हुँदै खाडी मुलुक पुगेका सयौं नेपाली महिला अझै पनि हराइरहेका छन् । तर, उनीहरूको पहिचान हुन नसक्दा उद्दार हुन असम्भव हुँदै आएको छ ।


भारतकै देहात संस्थाका जितेन्द्र चतुर्वेदीले सीमाबाट उद्दार गरिएका नेपाली महिला तथा बालबालिकाबारे नेपालका अधिकारीलाई बुझाउने गरेको बताए । ‘हामी नेपाल–भारत सीमामा काम गर्दै आएका छौं । दैनिकजसो महिलालाई उद्दार गर्छौं,’ उनले भने, ‘कतिपय महिला पटकपटक दोहोरिएर भारत आउने प्रयास गरेको भेटेका छौं ।’ हराएका तथा बेपत्ता महिला र बालबालिकाको खोजीका लागि सरकारी संयन्त्र छैन । विदेशमा बेपत्ता भएकाको उद्दारका लागि पनि सरकारी संयन्त्रण नहुँदा समस्या भएको हो । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने भन्दै भारत गएका महिला हराउने बढीजसो सम्पर्कविहीन हुने गरेका हुन् । वास्तविक ठाउँ र प्रभावकारी संयन्त्र अभावमा बेपत्ताको खोजी हुन सकेको छैन ।

प्रकाशित : मंसिर ४, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?