शैक्षिक गुणस्तर सुधार्न पहल

(बुटवल) — धेरै सामुदायिक विद्यालयमा अतिरिक्त पढाउने र प्रयोगात्मक अभ्यास गर्ने व्यवस्था छैन । त्यसले विद्यार्थीको सिकाइ र शैक्षिक गुणस्तर कमजोर छ । सामुदायिक विद्यालयको यही शैक्षिक गुणस्तर सुधारका लागि बुटवल उपमहानगरले आधुनिक विज्ञान प्रयोगशाला र पुस्तकालय निर्माण थालेको छ । 

शैक्षिक गुणस्तर सुधार्न पहल

पहिलो चरणमा कक्षा ११ र १२ मा विज्ञान शिक्षाका कक्षा सञ्चालन भएका विद्यालयमा आधुनिक प्रयोगशाला बनाएको छ । मावि तहका विद्यार्थीलाई कम्प्युटर र वाइफाइ सुविधासहितका व्यवस्थित पुस्तकालय बनाउँदै छ ।


उपमहानगर प्रमुख शिवराज सुवेदीले प्रयोगात्मक अभ्यासको अभावमा सिकाइलाई कमजोर हुन नदिन सबै विद्यालयमा विज्ञान प्रयोगशाला र व्यवस्थित पुस्तकालय बनाउने नीति लिएको बताए । ‘सामुदायिक विद्यालयको अध्ययनले प्रयोगात्मक अभ्यास र अतिरिक्त पढाउने व्यवस्था नहुँदा लगानीअनुसारको प्रतिफल आउन र त्यसअनुसार शैक्षिक गुणस्तर सुधार हुन नसकेको देखाएको छ,’ उनले भने, ‘यसलाई सुधार्न पुस्तकालय र प्रयोगशालामा जोड दिएका हौं ।’


गत वर्ष उपमहानगरले विज्ञान प्रयोगशाला निर्माणका लागि झन्डै २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसबाट नविन औद्योगिक कदरबहादुर रीता मावि देवीनगर, कान्ति मावि हाटबजार लाइन र सिद्धेश्वर लालकुमारी मावि दीपनगरमा आधुनिक विज्ञान प्रयोगशाला निर्माण भएको छ ।


‘किताबमा पढेका हरेक कुरा प्रयोगशालामा प्रयोग गरेर हेर्छौं,’ कक्षा ११ मा जीव विज्ञान पढ्दै गरेकी अमिशासेन वलीले भनिन्, ‘यसले पढेको कुरा बुझ्न र सम्झन पनि सजिलो भएको छ ।’ विज्ञका अनुसार प्रारम्भिक कक्षा अर्थात् १ देखि ३ सम्मका विद्यार्थीमा अक्षर चिन्ने, यति, गति र लय मिलाएर शब्द, वाक्य परिच्छेद पढ्ने, पढेका कुरा बुझ्ने र बुझेका कुरालाई मौखिक वा लिखित रुपमा अभिव्यक्त गर्ने सीप हुनुपर्छ । प्रारम्भिक कक्षामा नेपाली विषयमा कमजोर हुँदा उनीहरूको माथिल्लो तहसम्मको पढाइ नै प्रभावित बन्छ । त्यो रोक्न बुटवलका सबै सामुदायिक विद्यालयमा शैक्षिक कुनो (बाल पुस्तकालय) बनाइएको छ । यहाँ ३८ सामुदायिक विद्यालय छन् । गत वर्ष प्रत्येक सामुदायिक विद्यालयमा बाल पुस्तकालय बनाउन ४८ लाख १८ हजार ४ सय ५० रुपैयाँ रकम उपलब्ध गराइएको थियो । कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवालीले बाल पुस्तकालयले साना बालबालिकालाई अक्षर बुझेर पढ्ने र बुझेको कुरा अभिव्यक्त गर्ने सीप बढाउन सहज भएको बताए । ‘उनीहरूमा पढ्ने रुचि जागेको छ,’ उनले भने ।


उपमहानगरले मावि तहका विद्यार्थीलाई लक्षित गरी आधुनिक पुस्तकालय निर्माण थालेको हो । अहिलेसम्म अमर, उजिरसिंह, ज्ञानोदय रात्रि र जितेश्वरी माविमा आधुनिक पुस्तकालय स्थापना भएका छन् । त्यसका लागि उपमहानगरले प्रतिविद्यालय ६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । यस वर्ष थप पाँच विद्यालयमा आधुनिक पुस्तकालय बन्नेछन् । शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले विद्यार्थीलाई अतिरिक्त ज्ञान दिन तथा खाली पिरियडमा पढ्ने बनाउन पुस्तकालय स्थापना गरिएको बताए । ‘किताबी ज्ञानले मात्रै व्यावहारिक शिक्षा अपुरो हुन्छ,’ उनले भने, ‘त्यसैले विद्यार्थीमा सूचना प्रविधि, नैतिकता, आचरण, कला साहित्यलगायतको जानकारी दिन कम्प्युटरसहितका पुस्तकालय स्थापना गरिएको हो ।’ विद्यालयले सिकाइमा चक र डस्टरको साटो ल्यापटप र प्रोजेक्टर प्रयोग गर्न थालेको उनले बताए ।


प्रकाशित : मंसिर ३, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?