लुम्बिनीमा बढ्यो चहलपहल

माधव अर्याल

(लुम्बिनी) — पछिल्लो एक महिनामा लुम्बिनी आउने आन्तरिक पर्यटक बढेका छन् । आन्तरिक पर्यटकले मायादेवी मन्दिरलगायत विभिन्न देशले निर्माण गरेका विहार र होटलमा घुइँचो लागेको छ । 

लुम्बिनी विकास कोषका अनुसार पछिल्ला केही महिनामा विदेशीभन्दा स्वदेशी पर्यटकले लुम्बिनी गुलजार बनेको छ । ‘तथ्यांकका आधारमा पनि अघिल्लो वर्षको यही सिजन र यस वर्षको तुलना गर्दा आन्तरिक पर्यटक बढेका छन्,’ कोषका सूचना अधिकृत हरिध्वज राईले भने, ‘पर्यटक बढेर चहलपहल भए पनि बसाइँ अवधि लम्ब्याउन भने सकिएको छैन ।’


लुम्बिनी घुम्ने आन्तरिक पर्यटकले यहाँका होटल व्यवसायी, रिक्सा चालक, ह्यान्डीक्राफ्ट, सोभिनियर पसलमा भीड लागेको छ । राईका अनुसार अघिल्लो महिनाको तुलनामा यस महिना झन्डै दोब्बर पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । अघिल्लो महिना सेप्टेम्बरमा २२ हजार ७ सय ५३ आन्तरिक पर्यटक लुम्बिनी आएका थिए । अक्टोबरमा एक लाखभन्दा बढीले यहाँको भ्रमण गरेका छन् । अघिल्लो वर्षको अक्टोबर महिनामा ८८ हजार ५ सय ८२ पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए । गत जनवरीदेखि अहिलेसम्म ९ लाख २२ हजार आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरिसकेका छन् ।


पर्यटक आगमनका हिसाबले सबैभन्दा कमजोर सिजन भनेको मार्चदेखि जुनसम्म हो । जनवरी र सेप्टेम्बरमा सामान्य मानिन्छ । ‘अघिल्लो महिनाको तुलनामा पर्यटक बढे पनि उनीहरूको बसाइँ लम्ब्याउने र रात बिताउने योजना भने अझै पूरा हुन सकेको छैन,’ उनले भने, ‘हरेक हिसाबले पर्यटकको बसाइँ बढाउने योजना बनाउने तयारीमा छौं ।’ अहिलेको सिजनमा कमाएको पैसाले नौ महिना गुजार्नुपर्ने होटल व्यवसायी र ह्यान्डीक्राफ्ट सञ्चालकको गुनासो छ ।


सत्यम् ह्यान्डीक्राफ्टका सुनिलकुमार बानियाँका अनुसार यतिबेला आन्तरिक पर्यटकको चहलपहल अत्यधिक छ । शीतलहर चलेन भने पुस, माघ र फागुनको पहिलो सातासम्म चहलपहल बढ्नेछ । दसैंदेखि लुम्बिनीमा चहलपहल बढेको हो । अहिले दैनिक एक सयभन्दा बढी बसका साथै उत्तिकै संख्यामा जिप, कारमा आन्तरिक पर्यटक लुम्बिनी भित्रिने गरेका छन् । उनका अनुसार देशभरका आन्तरिक पर्यटक लुम्बिनी आउने गर्छन् । ‘कोषले गुरुयोजनाअनुसार काम नगर्दा यहाँ आउने पर्यटकलाई बास बसाल्न सकिएको छैन,’ उनले भने, ‘के देखाएर भुलाउने भन्ने समस्या छ ।’ उनी मात्र होइन, लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणी शर्मा पनि सय किलोमिटरभन्दा टाढाबाट आउने आन्तरिक पर्यटकको मात्रै बसाइँ हुने गरेको बताए । त्यसभन्दा कम दूरीबाट आउने पर्यटक फर्किहाल्ने अवस्था रहेको उनले बताए । तर, दोस्रो त्रिपिटक च्यान्टिङ, पत्रकारको न्युज फेस्टिभलले यहाँको चहलपहल र प्रचारप्रसार बढाउनमा सहयोग पुगेको उनको अनुभव छ । ‘आन्तरिक पर्यटक धेरै नै आएको देखिएको छ,’ उनले भने, ‘दिउँसो खाना खाने मात्र रहेका छन् । बास बस्ने निकै कम छन् ।’ विद्यार्थी, शिक्षक, क्लबबाट घुम्न आउनेहरू प्राय: बास नबस्ने उनले बताए । अघिल्लो वर्ष यही समयमा होटलमा ६० प्रतिशत अकुपेन्सी थियो । यस वर्ष त्यो ४० प्रतिशतमा झरेको उनले सुनाए ।


त्रिपिटक च्यान्टिङ अर्थात् बौद्ध धर्मग्रन्थ पाठका अवसरमा लुम्बिनीमा देश/विदेशका भिक्षु/भिक्षुणी र लामाको ठूलो सहभागिता रह्यो । तीन दिनसम्म चलेको त्रिपिटिक च्यान्टिङमा झन्डै आठ सय व्यक्तिले लुम्बिनीको भ्रमण गरेका थिए । यस्तै लुम्बिनी प्रेस क्लबले राखेको न्युज फेस्टिभलमा पनि तीन सयभन्दा बढीले तीन दिनसम्म लुम्बिनीमा बसाइँ गरे । देशका विभिन्न स्थानबाट आएका पत्रकारले यहाँको पवित्रता र आध्यात्मिकता उजागर गरी शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सहयोग गर्ने विश्वास लिएको लुम्बिनी प्रेस क्बलका अध्यक्ष दिपेश पछाईंले बताए ।


लुम्बिनी होटल एसोसिएसनका सल्लाहकार संयोजक हेमबहादुर विष्टका अनुसार लुम्बिनी क्षेत्रका होटल, विहार र मायादेवीमा चहलपहल बढी हुने अहिलेकै सिजन हो । उनका अनुसार यस सिजनमा विदेशी तीर्थयात्री र अन्तर्राष्ट्रिय पर्यटक भने कम मात्रमा आउने गर्छन् । ‘मायादेवी र विहारमा खचाखच भीड हुन्छ,’ उनले भने, ‘तर, बजार क्षेत्रमा भने त्यसको चहलपहल कमै देख्न पाइन्छ ।’ आन्तरिक पर्यटकको बसाइँ लम्ब्याउने र बस्नुपर्ने अवस्था सिर्जना गर्न अझै नसकिएको अवस्था रहेको उनले सुनाए । लुम्बिनी क्षेत्रमा ८० भन्दा बढी टुर गाइड छन् भने सयभन्दा बढी रिक्साले रोजगारी पाएका छन् । लुम्बिनी क्षेत्रमा सानाठूला गरी ३५ होटल खुलेका छन् ।


प्रकाशित : मंसिर ३, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?