गाउँपालिकाको कार्यालयसँग जोडिँदै चुनबाङ

दाङबाट केही वर्षअघि नै चुनबाङसम्म गाडी चल्न थालेको थियो, चुनबाङ आफ्नै गाउँपालिका तथा जिल्ला सदरमुकामसँग भने जोडिएको थिएन
हरि गौतम

(रुकुम पूर्व) — तत्कालीन सशस्त्र युद्धका क्रममा चर्चामा आएको चुनबाङ अब गाउँपालिका केन्द्रमा जोडिंदैछ । भूमे गाउँपालिका–९ मा पर्ने चुनबाङ केही दिनमा वडा २ स्थित खाबाङ बजारमा रहेको गाउँपालिका कार्यालयसँग जोडिने छ । चुनबाङ पहिलोपटक सडकमार्फत गाउँपालिका केन्द्रसँग जोडिन लागेको हो ।

गाउँपालिकाको कार्यालयसँग जोडिँदै चुनबाङ

अघिल्लो आवमा लागेको ठेक्काअन्तर्गत चुनबाङ र खाबाङ जोडिन मात्र ४० मिटर सडक बाँकी छ । वडा ६ को कोर्जामा चुनबाङ र खाबाङ बजारबाट खनिएका सडक जोडिन लागेका हुन् ।


चुनबाङ–महत–तकसेरा–मैकोट–सहरतारा–डोल्पा सडकअन्तर्गत एक करोड ३१ लाख ६ हजार रुपैयाँ अघिल्लो आवको बजेटमा उक्त खण्ड जोडिन लागेको हो । त्यसभन्दा अघिका वर्षमा पनि उक्त सडकमा बजेट विनियोजन गरिएको थियो । अन्य सडकबाट पनि चुनबाङ जोडिंदै छ । दाङ जिल्लाबाट केही वर्षअघि नै चुनबाङसम्म गाडी चल्न थालेका थिए । तर, चुनबाङ आफ्नै गाउँपालिका तथा जिल्लाको अस्थायी सदरमुकामसँग जोडिएको थिएन ।


अस्थायी सदरमुकाम रुकुमकोट जोड्ने सडक पनि निर्माण भइरहेको छ । साबिकको चुनबाङ गाविस भूमे गाउँपालिकाको एउटा वडा बनाइएको छ । गाउँपालिका केन्द्र तथा अस्थायी सदरमुकाम जोड्ने यी दुई सडक मात्रै होइन, अन्य सडकमार्फत पनि चुनबाङ जोडिंदै छ । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको बजेटमार्फत चुनबाङ जोड्ने विभिन्न सडक निर्माण भइरहेका हुन् । प्रदेश ५ सरकारले चुनबाङ जोड्ने विभिन्न सडकमा बजेट विनियोजन गरेको छ ।


चालु आवमा चुनबाङ–महत–तकसेरा–मैकोट–सहरतारा–डोल्पा सडकमा प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै चुनबाङलाई अस्थायी रुकुमकोटसँग जोड्ने रुकुमकोट–चुनबाङ–रुकुमकोट–सिस्नेद्धारी–डोल्पा सडकमा पनि १० करोड रुपैयाँ बजेट छ । यसैगरी, चुनबाङ–महत–हुकाम सहताराका लागि ५० लाख, चुनबाङ–सिचौर–गर्पा–तीनबहिनी–रुकुमकोटका लागि ५० लाख, गैरगाउँ–डागाउँ हुँदै तीनबहिनीका लागि १० लाख, चुनबाङ–रुकुमकोट १० लाख बजेट विनियोजन भएको छ । च्याङचुङ–दोबाटो–गलेबाङ–भेरीडाँडा जाने सडकमा १० लाख बजेट विनियोजन भएको छ । सानाठूला गरी दर्जन सडक निर्माण योजना चुनबाङमा चलिरहेको वडाध्यक्ष प्रवेश पुनले बताए । लगत्तै गाउँपालिकासँग वडा कार्यालय सडकमार्फत जोडिने र केही समयपछि जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोटसँग पनि चुनबाङ जोडिने उनले बताए ।


यसका साथै अरू सडकले पनि चुनबाङलाई गाउँपालिका तथा सदरमुकामसँग जोड्दै छन् । ‘जनयुद्धको ऐतिहासिक ठाउँ चुनबाङ लामो प्रयासपछि सडकमार्फत गाउँपालिकामा जोडिँदै छ,’ गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले भने, ‘गाउँपालिका हुँदै अस्थायी सदरमुकाम जोड्ने सडक पनि निर्माणकै चरणमा छ ।’ गाउँपालिका कार्यालय र चुनबाङ जोड्ने सडकको ४० मिटरको काम सकिएपछि अर्को जिल्ला भएर चुनबाङ पुग्नुपर्ने बाध्यता हट्ने अध्यक्ष बुढाले बताए । यसअघि गाडीमार्फत चुनबाङबाट गाउँपालिका कार्यालय आउने तथा गाउँपालिकाबाट चुनबाङ फर्कनेहरू रोल्पाको थबाङ र परिवर्तन गाउँपालिका भएर जाने गरेका थिए । चुनबाङ चर्चामा रहेकाले तीन तहकै सरकारको नजरमा परेको स्थानीयको बुझाइ छ । स्थानीय प्रेमबहादुर पुन मगरले ढिलो भए पनि सडक सञ्जाल सबैतिर फैलिने तयारीमा रहेको बताए ।


प्रकाशित : मंसिर ३, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?