कारागारले अझै पाएन जग्गा

काशीराम डाँगी

रोल्पा — स्थानीय र कारागार प्रशासनले कारागार भवन बनाउनका लागि जग्गा खोज्नमै समय बिताएको छ । बजेट प्राप्त भएको लामो समय बितिसक्दा पनि जग्गा खोज्न नसकेको हो । रोल्पा कारागार जीर्ण र पुरानो भएकाले नयाँ बनाउन प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड बजेट पठाएको थियो । 

कारागार प्रशासनका अनुसार पञ्चायतकालमा बनाइएको कारागार जीर्ण भएकाले कैदीबन्दी राख्न असुरक्षित छ । विगत एक दशकमा तीनपटक गरी एक दर्जनभन्दा बढी कैदीबन्दी सुरुङ खनेर भागिसकेका छन् । जीर्ण कारागार भत्काएर नयाँ बनाउन पटकपटक पहल भए पनि नयाँ बनाउने बारेको योजना चर्चामै सीमित छ । कारागारवरिपरि सरकारी र निजी गरी थुप्रै गगनचुम्बी घर निर्माण भएका छन् । भवन अभावमा कारागार कार्यालयसमेत भाडामा बस्दै आएको छ ।


‘नयाँ कारागार बनाउनका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट पठाएको छ । जग्गा नमिलेकाले काम सुरु भएको छैन,’ प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने, ‘कारागारलाई उचित जग्गा पाइएको छैन ।’ उनका अनुसार सदरमुकाम लिबाङ आसपास, काभ्रेखर्क र रेउघामा जग्गाको खोजी गरिएको छ । हाल कारागार रहेको लिबाङ टुँडिखेल नजिकैको जग्गा थोरै छ भने बजारभित्रै रहेकाले कारागार असुरक्षित बनेको छ । ‘पुरानो कारागार आसपासमा बनेका अग्ला घरले गर्दा झन् असुरक्षित भएको छ,’ प्रजिअ ढकालले भने । कारागार नजिकै एउटा निजी विद्यालयसमेत छ । कारागार छेउमै दुई वटा अग्ला निजी भवन छन् भने सरकारी वकिलको कार्यालय पनि अग्लो भवनमै छ ।


‘कारागारलाई उचित स्थानमा सार्न पहिलेदेखि पहल हुँदै आएको हो,’ स्थानीयबासी पूर्वजेलर दिवाकर आचार्यले भने, ‘कारागार नयाँ बनाउनै पर्छ ।’ ०३९ सालमा बनाइएको कारागारमा कोचेर कैदीबन्दी राख्ने गरिएको छ । ढुंगाको छानो भएको ‘घ’ वर्गको उक्त कारागारमा स–साना

आठ कोठा छन् । महिला र पुरुष गरी ४० जनाको क्षमता रहेको कारागारमा अहिले ९० कैदीबन्दी रहेका छन् । कारागारमा कोठा अभाव भएकाले सबै कैदीबन्दीलाई एकैसाथ राख्ने गरिएको छ । पटकपटक अनुगमन गरेका जिल्ला र उच्च अदालतका न्यायाधीश, अधिकारकर्मी र पत्रकारको सुझाव केन्द्रीय कारागार विभागसम्म पठाउने गरिए पनि सुनुवाइ नभएको प्रशासनले जनाएको छ ।


सधैं मर्मतमात्रै

नयाँ बनाउन माग भए पनि जग्गा नपाउँदा र कम बजेट भएकाले सधैं मर्मत गरेरै काम चलाउनु परेको कारागार प्रशासनको भनाइ छ । कारागारलाई सुरक्षित गर्न सुरक्षाकर्मीको संख्या थपेर र मर्मत गरेर काम चलाउने गरिएको प्रशासनको दाबी छ । सरकारले ठोस योजना बनाउन नसक्दा न गतिलो गरी कारागारको मर्मत भएको छ न सुरक्षित स्थानमा सार्न सकिएको छ । यद्यपि, स्थानीय प्रशासन र कारागार प्रशासनले जिल्लाको भ्रमणमा आउने नेता र कर्मचारीलाई दुःखेसो सुनाउने गरेका छन् । प्रशासनका अनुसार कारागार जीर्ण भएको बारे पूर्वउपप्रधानमन्त्री र पूर्वअर्थमन्त्री समेतलाई लिखित प्रतिवेदन बुझाइएको थियो ।


जिल्ला सुरक्षा समितिले हालको जग्गा बिक्री गरेर अन्यत्र फराकिलो र सुरक्षित स्थानमा नयाँ कारागार भवन बनाउन सुझाव दिएको थियो । कारागारभित्र पुस्तकालय छैन । शौचालयसमेत सीमित छन् । कैदीबन्दीले शौचालय जान पालो कुर्नपर्छ । कोचाकोच पारेर कैदीबन्दी राख्दा सरुवा रोगको प्रकोप पनि देखिने गरेको छ । केही महिनाअघि अधिकांश कैदीबन्दी एकैपटक बिरामी भएको स्वास्थ्यकर्मीले जनाएका छन् । कारागार सुधारगृहजस्तो नभई यातनागृहजस्तो भएको कैदीबन्दीको गुनासो छ ।


सबै प्रकृतिका कैदी एकैसाथ राख्दा बेलाबेलामा झगडासमेत हुने गरेको छ । रोल्पा कारागारमा कर्तव्य ज्यान, डाँकाचोरी, जबरजस्ती करणी, लागूऔषध कारोबार, किर्ते कागज, हातहतियार, शान्ति खलबल्याइएको लगायत अभियोग लागेका कैदीबन्दी धेरै छन् । यस्तै गर्भपतन गराएको, वन फँडानी गरेका अभियोग लागेका पनि रहेका छन् ।

प्रकाशित : मंसिर २, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?