पर्वतको टापुसम्म पदमार्ग

फेंदीबाट टापुसम्म पैदल यात्रा गराएर पर्यटकलाई नरपानीमै बास बसाल्ने, लोकल परिकार खुवाउने, मगर जातिको कला, संस्कृति देखाउने लक्ष्य
वीरेन्द्र केसी

अर्घाखाँची — नर्तनाञ्चल पर्वत नरपानी पर्यटकका लागि गर्मी छल्ने स्थल बनेको छ । पर्यटकलाई पर्वतको टापुसम्म पुर्‍याउन अब पदयात्रा निर्माण गरिने भएको छ ।
पर्वतको फेंदीबाट टापुसम्म पैदल यात्रा गराएर पर्यटकलाई नरपानीमै बास बसाल्ने, लोकल परिकार खुवाउने, मगर जातिको कला, संस्कृति देखाउने लक्ष्य छ ।

पर्वतको टापुसम्म पदमार्ग

प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५० लाख रुपैयाँको लगानीमा पहिलो चरणमा ११ सय मिटर उकालो पदमार्ग बनाउन लागेको हो । त्यसपछि दोस्रो चरणमा नर्तनाञ्चल पर्वतको चुचुरोसम्म निर्माण हुनेछ । त्यहाँबाट पाणिनि गाउँपालिकाको पाणिनि तपोभूमिमा पदयात्रा बनाइनेछ । डिभिजन वन कार्यालयमार्फत सञ्चालन हुने पदमार्ग परियोजनाको डिटेल सर्वेको काम पुरा भई थप कामका लागि प्रक्रिया अघि बढेको छ । पर्वतको बीचमा गौशाला छ । फेंदीमा रहेको नरपानी पिकनिक स्पोर्टबाट करिब पाँच सय मिटर पदमार्ग पहिले नै निर्माण भइसकेको छ । धार्मिक पर्यटकीय स्थल सुपादेउरालीमा आएका धेरै तीर्थालु नरपानी पुग्छन् ।


तराई, भारतलगायतका विभिन्न स्थानबाट गर्मी छल्न नरपानी आउने पर्यटकको संख्या बर्सेनि बढ्दो छ । आएका पाहुना भुल्ने संरचना नभएकाले छिनभर बसेर फर्कने गरेका छन् । एक वर्षभित्रमा पदमार्ग निर्माण गरिने सहायक वन अधिकृत शिला पोखरेलले बताइन् । आएका पर्यटकलाई पैदल यात्रा गराउने र पर्यटकीय गन्तव्य बनाउने उद्देश्य रहेको उनले सुनाइन् ।


पर्यटकलाई भुलाउन र प्रचार गरी थप पर्यटक भित्र्याउन पहिलो चरणमा पदमार्ग निर्माण सुरु भएको पाणिनि–कालिकाठे–नरपानी पदमार्ग उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर थापाले बताए । फेंदीबाट नरपानी चुचुरोमा पुर्‍याएपछि त्यहाँबाट हिमशृंखला, सदरमुकामसहितको पहाडी जिल्ला गुल्मी, प्यूठान, पाल्पा र तराईका केही भूभाग देख्न सकिन्छ । पाणिनि तपोभूमिमा पर्यटकलाई पैदल हिँडाएर पुर्‍याउने उनले बताए । नरपानीबाट मैदानको कालीकाठे हुँदै तपोभूमि करिब १२ किमिको दूरीमा छ । नरपानीबाट तपोभूमि पुग्न दिनभर पैदल हिंड्नुपर्छ ।


पर्यटकलाई सुन्दर हरियाली डाँडाकाँडा, तराईको दृश्य देखाएर भरपूर आनन्द दिँदै संस्कृत व्याकरणको उद्गम थलो तपोभूमि लैजाने उनले बताए । पाकिस्तानबाट चार सय वर्ष पहिला पाणिनि ऋषि आएर यहाँको जंगलमा विश्व शान्तिको कामना गर्दै वर्षौंसम्म तपस्या गरेर व्याकरणको रचना गरेको बताइन्छ ।


लुम्बिनी आएका पर्यटकलाई सुपादेउराली दर्शन गराउने, नरपानीबाट पैदल हिंडाएर तपोभूमिको अध्ययनका लागि ल्याएर पाल्पाको रानीमहललगायत पर्यटकीय स्थल घुमाएर बुटवल पठाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए । ‘संस्कृत व्याकरणको उद्गम थलो तपोभूमि हो,’ प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले भने, ‘लुम्बिनीजस्तै महत्व पाणिनिको पनि भएकाले लुम्बिनी आएका पर्यटकलाई यहाँ ल्याउने गुरुयोजनाअनुसार काम भइरहेको छ ।’ पहाडी भेगका डाँडालाई अब पर्यटकीय स्थल बनाएर धेरै पर्यटक भित्र्याउने योजना रहेको उनले सुनाए ।

प्रकाशित : मंसिर २, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?