कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

तानसेनमा लघुवित्त सम्मेलन

पाल्पा — तानसेनमा आयोजित लघुवित्त सम्मेलन पाँचबुँदे घोषणापत्र जारी गर्दै शनिबार सकिएको छ । घोषणा पत्रमा लघुवित्तको दीर्घकालीन सोच, रणनीति, स्थानीय, प्रदेश र केन्द्र सरकार तथा सम्बन्धित निकायलाई नयाँ संरचनाअनुरूप काम गर्ने वातावरणको विकास गर्न माग गरेको छ ।

पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाले सम्मेलन आयोजना गरेको हो । सहकारी अभियानमा लघुवित्त क्षेत्रको महत्वपूर्ण योगदान हुने हुँदा सेयर सदस्यको दोहोरो सदस्यता अन्त्य गर्न माग गरेको छ । श्रीनगर पार्कमा आयोजित सम्मेलनले सहकारी ऐन, २०७४ को पूर्ण पालना गर्दै विपन्न वर्गलाई सम्पन्नतातर्फ अग्रसर गराउनुपर्नेमा जोड दिएको छ । त्यस्तो नीतिको अवलम्वन गर्न सबै पक्षसँग आग्रह गरेको आयोजक सहकारीका अध्यक्ष जगदीश भट्टराईले बताए ।


घोषणापत्रमा सहकारी शिक्षाको प्रचारप्रसार र प्रशिक्षणलाई प्राथमिकता दिन माग गरेको छ । लगानीको सुरक्षण र बचत तथा ऋण प्रवाहलाई पारदर्शी बनाएर प्रत्येक सेयर सदस्यलाई नियमित बचतको बानी विकास गर्नुपर्नेमा जोड दिइएको छ । कर्मचारीको क्षमता अभिवृद्धि गर्दै जाने प्रतिबद्धताका साथै सहकारीलाई सूचना र प्रविधि मैत्री र पारदर्शी, सहभागितामुखी बनाउन माग गरिएको छ । लघुवित्तको कारोबार गर्ने सहकारी, संघसंस्था र वित्तीय संस्थासँगको सहकार्यलाई जोड दिँदै अगाडि बढ्ने अठोटका साथ सम्मेलन सकिएको उनले बताए ।


संस्थाले लघुवित्त सम्मेलनका साथै सहकारी शिक्षाका सम्बन्धमा प्रशिक्षण दिएको छ । सहकारीको ऐन, नियम, नीतिका साथै वर्तमान अवस्थाका विषयमा जानकारी दिने उद्देश्यले सदस्यलाई प्रशिक्षण दिइएको हो । सम्मेलनका प्रमुख अतिथि तथा प्रशिक्षण कार्यक्रमका प्रशिक्षक प्रदेश ५ सहकारी शिक्षालयका प्रमुख श्रीकृष्ण नेपालले बचत तथा ऋण सहकारीले लघुवित्तको क्षेत्रमा काम गरेको बताए ।


सहकारीले बचत तथा ऋणको कारोबार मात्र नभएर विविध क्षेत्रमा काम गर्न आग्रह गर्दै लघुवित्तका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्य प्रभावकारी भएको उनले सुनाए । सहकारीको लघुवित्तका एक हजारभन्दा धेरै सेयर सदस्यलाई प्रशिक्षण दिइएको थियो । संस्थाका अध्यक्ष भट्टराईले सहकारीलाई सूचनाप्रविधि मैत्री बनाउँदै स्थानीय, प्रदेश र केन्द्रीय सरकारले अगाडि सारेका आर्थिक विकासका कार्यक्रम गर्ने बताए ।


सहकारी अभियन्ता तथा संस्थाका पूर्वअध्यक्ष भीमसेन कार्कीले लघुवित्तले आर्थिक अनुशासनलाई बढावा दिने बताए । विपन्न वर्गका लागि लघुवित्त कार्यक्रम महत्वपूर्ण भएको उनले सुनाए । संस्थाका सञ्चालक समितिका सदस्य अजयमान कर्माचार्यले जिल्लाको आर्थिक विकासमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे । संस्थाका सचिव अरुणकुमार श्रेष्ठले तानसेन र आसपासका ग्रामीण क्षेत्रमा कार्य क्षेत्र बनाएर लघुवित्तको कारोबार गरेको बताए ।

प्रकाशित : मंसिर २, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?