नबुझी विदेश जाँदा ठगिंदै महिला

अमृता अनमोल

बुटवल — दुई वर्षअघि वैदेशिक रोजगारीमा गएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका माधवलियाकी गीता परियार अघिल्लो साता रित्तो हात घर फर्किन् । ‘घर आउने खर्च पनि साथीहरूले उठाएर दिएका हुन्,’ उनले भनिन्, ‘खर्च चलाउन मुस्किल भएपछि तीन नाबालक छोडेर कमाउन गएकी थिएँ । आफैं हराएँ । साह्रै दुःख पाइयो ।’ गीता घरेलु श्रमिकका रूपमा दुबई गएकी थिइन् । 

नबुझी विदेश जाँदा ठगिंदै महिला

कमाएपछि तिर्ने सर्तमा नवलपरासीका जोगनारायण चौधरीले उनलाई विदेश पठाएका थिए । ६० हजार रुपैयाँ खर्चेर भारतीय बाटो हुँदै घर छोडेको १५ दिनमा उनी दुबई पुगेकी थिइन् । त्यहाँ चार बालबालिका स्याहारसुसार गर्ने जिम्मेवारी पाएकी थिइन् । खाना र आवासबाहेक मासिक नेपाली ३० हजार रुपैयाँ कमाउँथिन् ।


सुरुको दुई महिनाको तलब घरमालिकले चौधरीलाई नै पठाइदिए । त्यसपछि चार महिनाको तलब करिब एक लाख रुपैयाँ घर पठाइन् । दिन कट्दै थियो । एक दिन बालबालिकाले खाजा खान खोजे । घरमा कोही थिएनन् । गीताले माइक्रो ओभन (विद्युतीय चुलो) चलाउन खोजिन् । तर, जानिनन् । विद्युत् सट भयो । माइक्रो ओभन पनि बिग्रियो । ‘त्यही दिनबाट मेरो दशा सुरु भयो,’ उनले सुनाइन्, ‘साह्रै कुटे । तीन दिन खाना खान पनि दिएनन् । मैले घर जान्छु के भनेकी थिएँ, कागजात र मोबाइल खोसेर लगे । त्यसयता घरबाहिर निस्कन रोके । तलब पनि दिएनन् ।’


पछिल्लो समय उनीसँगै गएका महिला साथीले बेखबर भएको भनी दूतावासमा खबर गरे । भारतीय बाटोबाट गएकी उनको कुनै प्रमाण भेटिएन । अन्ततः त्यहाँका अरू नेपाली श्रमिकले उद्धार गरे । उनीहरूले नै भाडा उठाएर उनलाई स्वदेश फर्काएका हुन् । थोरै रकममा जान पाइने, सीप र शिक्षा नभए पनि हुने भएपछि रूपन्देहीको विपन्न वर्गका धेरै महिला भारतीय बाटो हुँदै खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । घर छोड्दा रोजगारीका लागि के काममा, कति समयका लागि र कुन बाटो लैजाने भन्नेसम्म जानकारी दिइन्न । आफू जाने ठाउँको जानकारी र विदेश जाँदा चाहिने न्यूनतम सीप एवं ज्ञान नजान्दा दुःख र यातना पाउने धेरै छन् ।


त्यसैमध्येकी हुन्, बुटवलको सेमलारकी माया अर्याल । दुर्घटनामा पति गुमाएपछि दुई छोरोछारी माइतीको जिम्मा लगाएर उनी वैदेशिक रोजगारीका लागि कुबेत गइन् । तर, सोचेजस्तो भएन । उल्टै शारीरिक र मानसिक यातना भोग्नुपयो । ‘साह्रै दुःखले दुई वर्षमा दुई लाख रुपैयाँ बचाएँ,’ गत भदौमा फर्केकी उनले भनिन् । मायाका भनाइमा उनलाई टाढाका एक आफन्तले ५५ हजार रुपैयाँ लिएर भारतीय बाटो हुँदै कुबेत पठाएका थिए । उनलाई १० जनाको परिवारलाई खाना पकाउने र घर सरसफाइ गर्ने जिम्मेवारी थियो । ‘जे गर्दा काम बिग्रन्छ, त्यसैले पोल्थे । कहिले आइरन त कहिले तातेको चुलोले हात डामिदिन्थे,’ उनले भनिन्, ‘काम बिगारेको भनेर तलब पनि काटिदिए । मासिक ३५ हजार दिने भनेकोमा १० देखि १२ हजार रुपैयाँ मात्रै दिन्थे । त्यो पनि समयमा दिंदैनथे ।’


रूपन्देहीका कति महिला वैदेशिक रोजगारीमा छन् भन्ने तथ्यांक कतै छैन । वैदेशिक रोजगारीबाट फर्केका महिलाको अनुभवमा सस्तोमा जान पाइने लोभमा दलालसँग भारतीय बाटो हुँदै खाडी मुलुकमा जाने र दुःख पाउने महिला यहाँ बर्सेनि बढ्दो छन् । अन्जानमा अवैध बाटोबाट जाँदा आफूहरूले भोगेका समस्या अरूलाई भोग्नु नपरोस् भनेर रूपन्देहीका आप्रवासी महिला संगठित भएका छन् ।

प्रकाशित : मंसिर १, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?