कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

घर पाउँदै विपन्न परिवार

रुकुम पूर्व — जिल्लाका विपन्न परिवारका लागि ४६ नयाँ घर बन्ने भएका छन् । जिल्लाका तीनवटै स्थानीय तहका विपन्न परिवारका लागि निःशुल्क घर बनाउन लागिएको हो । 

प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत चालु आवमा प्रतिघर ३ लाख ३३ हजार रुपैयाँका दरले ४६ घर निर्माण गर्न बजेट विनियोजन भएको छ । सिस्ने–४ र ८, भुमे –१, २ र ९ एवं पुथाउत्तरगंगा गाउँपालिका–१, २, ३, ४ र ८ वडाका विपन्न परिवारका लागि घर बनाउन लागिएको हो ।


घरपरिवार छनोट गर्ने जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको छ । गाउँपालिकाले विपन्न परिवार पहिचान गरेको विवरण दिएपछि प्रदेश ५ सरकारले घर निर्माणको काम सुरु गर्ने प्रदेशसभा सदस्य एवं समितिका संयोजक तेजबहादुर वलीले बताए । उनले ४६ घर निर्माणका लागि प्रदेश सरकारबाट १ करोड ५३ लाख १८ हजार रुपैयाँ विनियोजन भएको बताए ।


तीन स्थानीय तहका १० वडाका ४६ घरबारविहीन परिवारका लागि यस वर्ष दुईकोठे घर बन्ने उनले सुनाए । छनोटका लागि बनाइएको फारम भर्ने, त्यसकै आधारमा घरबासविहीन परिवार छनोट हुने र उनीहरूलाई नै घर हस्तान्तरण गरिने समितिले जनाएको छ । घर निर्माणका लागि जग्गाको व्यवस्थापन स्थानीय तहले गर्नेछ । सकेसम्म लालपुर्जासहितको जग्गा व्यवस्था गर्ने, नभए सार्वजनिक जग्गामा भए पनि बसाल्ने गरी निर्णय भएको छ । वलीको संयोजकत्वमा रहेको समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी तथा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।


प्रदेश सरकारले गत वर्ष पुथाउत्तरगंगा–१२, कोलका ५ परिवारका लागि घर बनाइदिएको थियो । उनीहरूका लागि घर तयार भइसकेका छन् । यद्यपि, हस्तान्तरण हुन बाँकी छ । जनता आवास कार्यक्रमअन्तर्गत कोलका मानबहादुर दमाई, धनपुरा सुनार, तिरमाला कामी, रामप्रसाद कामी र तिलपुरी दमाईको परिवारका लागि ती घर बनेका हुन् । अघिल्लो वर्ष बजेट नपुगेका कारण जनता आवासका घर बन्न नसकेको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवर्द्धन बुढामगरले बताए ।

प्रकाशित : मंसिर १, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?