१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सत्यवती मेला : भेटी गन्नै ६ दिन

दानपात्रमा जम्मा भएको रकम गन्न बुधबारदेखि १० जना खटिँदै

पाल्पा — सत्यवती मेलाका अवसरमा दानपत्रमा संकलन भएको पैसा गनेर शनिबारसम्म पनि सकिएको छैन । अझै दुई दिन लाग्ने सत्यवती ताल संरक्षण तथा विकास समितिले जनाएको छ ।

सत्यवती मेला : भेटी गन्नै ६ दिन

तीनदिने सत्यवती मेला मंगलबार सकिएको हो । दानपात्रमा संकलन भएको रकम निकालेर मिलाउन दैनिक १० जना लागेका छन् । समितिका अध्यक्ष तिलवीर रानाले बुधबारबाट मन्दिर वरपरको सरसफाइ, प्रसाद संकलन, पैसा मिलाउनेलगायत काममा व्यस्त भएको बताए । मेलामा १ लाख ५० हजारभन्दा बढीको सहभागिता थियो ।


समितिका सचिव लालबहादुर दर्लामीले समितिका सबै पदाधिकारी, सदस्य मिलेर दान रकम गन्ने काम भइरहेको बताए । श्रद्धालुले दानपत्रका अलावा बाहिर पनि रकम फालेका छन् । तालको वरिपरि सबै स्थानमा पैसा भेटिएको छ । शुक्रबार स्थानीय र नेपाली सेनाको गोरख दल गणबाट समेत सेनाको टोली गएर सरसफाइ र पैसा संकलन गरेको छ । तालमा समेत पैसा फालिएका छन् । तालको सबै पैसा निकाल्न सकिएको छैन । पाँच, १०, २०, ५०, सय, पाँच सय र एक हजारका नोट भेटिएको सचिव दर्लामीले बताए । ‘नोटहरू कच्याककुचुक र अक्षताले भिजेको अवस्थामा भेटिएका छन्,’ उनले भने, ‘कतिपय धोएर सुकाउनुपर्ने अवस्थाका छन् ।’


नोट मिलाउन र गन्न सधैं तीन दिन लाग्थ्यो । यसपटक भेटी बढी उठेको छ । कति उठ्यो भन्ने यकिन हुन नसकेको उनले बताए । मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष सुनवीर गाहाका अनुसार गत वर्षभन्दा पाँच गुणा बढी श्रद्धालु आएका थिए । गत वर्ष कुल आम्दानी ६ लाख थियो ।


‘यस वर्ष कति उठ्छ, थाहा भएन,’ उनले भने, ‘दान संकलन राम्रै भएको देखिएको छ ।’ अधिकांश पाँच रुपैयाँका नोट छन् । हजार र पाँच सयका गरी ४० हजारभन्दा बढी संकलन भएकाले यस वर्ष विगत वर्षमा भन्दा बढी भेटी उठ्ने उनले बताए ।

प्रकाशित : मंसिर १, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?