कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मत माग्दै शीर्ष नेता गाउँमा

बढ्यो चुनावी रौनक

अर्घाखाँची — गुल्मी र अर्घाखाँचीका २ वडाका लागि उम्मदेवारी दर्तासँगै गाउँमा चुनावी माहोल बढेको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवा र अर्घाखाँचीको मालारानी गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि मंसिर १४ मा हुने उपनिर्वाचन विजयी हुन उम्मेदवार र नेता जुटेका हुन् । 

उम्मेदवारले घरदैलो सुरु गरेका छन् । सभा र प्रचारप्रसार तीव्र पारेका छन् । चुनावका लागि शीर्ष नेता गाउँमा खटिएका छन् । दुवै वडामा नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा छ । मालारानीमा राप्रपाले पनि उम्मेदवारी दिएको छ ।


गुल्मीको रिमुवामा नेकपाबाट गिरिप्रसाद सिंजाली, कांग्रेसबाट वेदबहादुर दर्लामी र स्वतन्त्रका मनबहादुर दर्लामी उम्मेदवार छन् । तत्कालीन एमालेबाट वडाध्यक्ष जितेका पूर्णबहादुर रेगामीको मृत्युपछि उपनिर्वाचन हुन लागेको हो । रेगामीसँग नौ मतले पराजित वेदबहादुर कांग्रेसबाट पुनः उम्मेदवार बनेका छन् । नेकपाले वडा सदस्यमा विजयी युवा नेता सिंजालीलाई उठाएको छ । रिमुवामा २ हजार ४८ मतदाता छन् ।


सिंजालीलाई विजयी गराउन नेकपाका प्रदेशसभा सदस्य कमलराज श्रेष्ठ, जिल्ला इन्चार्ज दिनेश पन्थी, अध्यक्ष मधुकृष्ण पन्तलगायतका नेता गाउँमा खटिएका छन् । त्यस्तै, कांग्रेसका दर्लामीलाई विजयी गराउन कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, जिल्ला सभापति भुवन श्रेष्ठलगायत पनि गाउँ पुगेर फर्किएका छन् ।


अर्घाखाँचीको मालारानीमा तीन खनाल प्रतिस्पर्धामा छन् । नेकपाबाट यमलाल खनाल, कांग्रेसबाट शोभाखर खनाल र राप्रपाबाट रणबहादुर खनाल उम्मेदवार बनेका हुन् । वडाध्यक्ष जीवन चौहानको गत पुसमा दुर्घटनामा परी मृत्यु भएपछि पद खाली भएको हो । चौहानसँग आठ मतले पराजित शोभाखरलाई कांग्रेसले पुनः उम्मेदवार बनाएको छ । नेकपाले मतदातामा भिजेका यमलाललाई अघि सारेको छ । दुवैबीच तीव्र प्रतिस्पर्धा छ ।


यमलाललाई जिताउन नेता टोपबहादुर रायमाझी, नेकपा जिल्ला इन्चार्ज नजिर मिया, जिल्ला अध्यक्ष एवं प्रदेसभा सदस्यद्वय चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरेलगायत नेता गाउँ पुगेका छन् ।


शोभाखरको पक्षमा माहोल बनाउन प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्यद्वय मानबहादुर विश्वकर्मा र पुष्पा भुसाल, जिल्ला सभापति विष्णुप्रसाद खनाल (मुस्कान), प्रदेशसभा सदस्य निर्मला क्षत्रीलगायत शीर्ष नेता गाउँमा भोट माग्दै हिंडेका छन् । उम्मेदवार र नेताले मत आकर्षित गर्न विकासका सपना बाँड्ने गरेका छन् । मालारानी गाउँपालिकाका नौवटै वडामा एक सदस्यबाहेक सबै पदमा नेकपाले जितेको छ । तत्कालीन माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल भए पनि अध्यक्ष र उपाध्यक्ष तत्कालीन एमालेले जितेको थियो । मालारानी–३ मा ३ हजार ११ मतदाता छन् ।

प्रकाशित : मंसिर १, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?