कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

न नागरिकता, न सदरमुकामको पहुँच

कान्तिपुर संवाददाता

(परासी) — सेतै फुलेको कपाल, चाउरिएका गाला र दुई–चारवटामात्र दाँत छन् । तर, हाँस्न भने छोड्दिनन् । उमेरले ७१ पुगेकी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५, की दीपरानी हरिजनको सक्रियता अहिले पनि घटेको छैन । पहिलेजस्तै बिहान उठेर घरको काम गर्छिन् । अहिलेसम्म रोग लागेको उनलाई थाहा छैन ।

छोरा–बुहारीले खेतबाट बदाम खनेर ल्याएपछि उनले दिनभर लगाएर केलाउँछिन् । सुस्तामा उनी कहिलेदेखि बस्न थालिन्, उनैलाई थाहा छैन । तर, सुस्तामै जन्मेर बाल्यकालदेखि बुढ्यौली बिताएको भने बताउँछिन् । अहिलेसम्म नेपाली नागरिकता पाएकी छैनन् । वृद्धभत्ताको सुविधा लिने समयमा नागरिकता नहुँदा वञ्चित छन् । नागरिकता कहाँ बन्छ भन्नेसम्म पत्तो छैन । उनले अहिलेसम्म जिल्लाको सदरमुकाम देखेकी छैनन् । ‘श्रीमान् हुँदा पनि नागरिकता पाइन्छ, लिनुपर्छ भन्ने थाहा पाइनँ,’ उनले भनिन्, ‘नागरिकता कहाँ बन्छ, थाहै छैन ।’ सुस्ता र भारतबाहेक आफू अन्यत्र नगएको उनले बताइन् । नागरिकता लिएपछि वृद्धभत्ता पाइन्छ भन्ने कुरा पनि उनलाई थाहा छैन ।


सुस्तामा हरिजनको मात्र होइन, धेरैको नागरिकता छैन । स्थानीयले बसोबासका आधारमा नागरिकता लिएका छन् । जम्मा ४५ घर परिवारका सदस्यको मात्र वंशजको नागरिकता छ । स्थानीय चन्द्र चमारलाई पनि सदरमुकाम कहाँ हो भन्ने थाहा छैन । नारायणीवारि आएर नेपाली बजार आउनुभन्दा भारतीय बजार नै गएर किनमेल गर्छन् । जवानीमा कामका लागि उनले पनि धेरै समय भारतमा नै बिताए । ३० वर्षदेखि उनी सुस्तामा बस्दै आएका छन् । पाँच छोरीलाई यहींबाट भारतमाा विवाह गरिदिए । अहिले वृद्ध बुढाबुढीले घर कुर्दै छन् । दु:ख–बिमार हुँदा हेर्ने कोही छैन । नागरिकता भएको भए यो दम्पतीले पनि वृद्धभत्ता र राज्यको अन्य सुविधा पाउने थियो । तर, नागरिकता बनाउनुपर्छ भन्ने कहिल्यै सोचेनन् । नारायणी तरेर गाउँपालिकाको कार्यालयसम्म पनि पुगेका छैनन् ।


सुस्तामा बसोबास गर्ने धेरै ज्येष्ठ नागरिक अहिलेसम्म सदरमुकाम पुगेका छैनन् । नागरिकता, विवाह, नाता सम्बन्ध तथा किनमेल भारतमा नै हुने भएकाले आफ्नै जिल्ला पनि उनीहरूका लागि टाढाको सहर बनेको छ । नारायणी नदीले धार फेर्नुभन्दा पहिले उनीहरू नारायणीवारि थिए । ०३० सालमा नारायणी नदीले धार फेरेर सुस्तालाई टापुमा परिणत गरेपछि उनीहरू आफ्नै स्थानीय तह र जिल्लाबाट अलगजस्तै बनेका हुन् । नारायणीपारिको सुस्ता टापुमा करिब तीन हजार जनसंख्या छ । तर, नागरिकता नभएकै कारण २ सय २५ जनामात्रै मतदाता छन् ।


स्थानीय चन्द्रावती राजभरले नारायणी नदीको कटानले आफूहरूलाई सुकुम्बासी बनाएको र आफ्नै गाउँ जानका लागि पनि नारायणी नदी बाधक भएकाले राज्यले नागरिकको व्यवहार नगरेको बताइन् । ‘पहिले जग्गाको लालपुर्जा लिने तथा अन्य कागजपत्र बनाउने हामीमा चेत भएन,’ उनले भनिन्, ‘अहिले राज्यले दिनै मान्दैन ।’

प्रकाशित : कार्तिक ३०, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?