वर्षौंदेखि टुकीकै भर

कान्तिपुर संवाददाता

पाल्पा — जिल्लाका रुप्से र सिलुवामा सब–स्टेसन निर्माण र प्रसारण लाइन नबन्दा निस्दीका पाँच वडाका बासिन्दा बिजुली बाल्नबाट वञ्चित छन् । विद्युत् प्राधिकरणको तीन तहमा समन्वय नहुँदा सब–स्टेसन अलपत्र परेका हुन् । केन्द्र र प्रादेशिक कार्यालयबाट भएका निर्माणको काम जिल्लालाई थाहा नहुँदा यसको अनुमगन, नियमनमा समेत समस्या देखिएको छ । 

सब–स्टेसन र प्रसारण लाइनको काम समयमा नसक्दा अहिले निस्दीको गल्धामा ‘थोक मिटर’ राखेर बत्ती बाल्न बाध्य हुनु परेको छ । ट्रान्सफर्मरमा राख्नुपर्नेमा थोक मिटरबाट काम चलाउनु परेको लालीगुराँस ग्रामीण विद्युतीकरण सहकारी संस्थाका अध्यक्ष दुर्गा सोमैले बताए । उनका अनुसार सिलुवाको सब–स्टेसनको काम नसकिएकाले दुई ट्रान्फर्मर चार्ज गरेर थोक मिटरबाट बिजुली बाल्नुपरेको हो ।

सिलुवामा सब–स्टेसन निर्माणको काम ५ वर्षदेखि अलपत्र छ । जिल्लाकै अर्को रुप्सेमा निर्माण भएको सब–स्टेसनको काममा समेत ढिलाइ भएको छ । दुवै स्थानमा ३३ केभी सब–स्टेसनको काम सुरु भएको हो । सिलुवामा ०७१/७२ मा ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम सकिएको छैन । जिल्लाको पूर्व भेकका लागि सिलुवामा र दक्षिण क्षेत्रका लागि रुप्सेमा सब–स्टेसन निर्माण भएको हो ।

रुप्सेमा निर्माण भएको सब–स्टेसन जिल्लाकै विद्युत् कन्ट्रोल गर्न सक्ने क्षमताअनुसार निर्माण सुरु भएको हो । ३३ केभी प्रसारण लाइनअन्तर्गत दुवै सब–स्टेसनमा कन्ट्रोल रुम, गार्ड कोठा, स्टाफ क्वार्टर लगायत भवन निर्माण भइरहेका छन् । दुवै स्थानमा अहिलेसम्म निर्माण कार्य सम्पन्न भएको छैन । सिलुवासम्म लैजाने प्रसारण लाइनको कामसमेत सम्पन्न भएको छैन । सुरुमा सिद्धार्थ राजमार्गको लसुने (पीपलडाँडा) मा जग्गा विवाद भएर काम रोकिएको थियो । पछिल्लो समयमा भने कुनै विवाद छैन । निर्माण व्यवसायीले काम नगर्दा ढिलाइ भएको हो । पीपलडाँडा अगाहाखोला क्षेत्रमा व्यक्तिको जग्गा पर्ने भएकाले केही पोल गाड्न विवाद आएको थियो । तर, अहिले विवाद मिलिसकेको छ । निर्माण व्यवसायीले पोल गाड्ने र तार तान्ने काममा ढिलाइ गरेको निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । सिलुवाको सब–स्टेसन निर्माणको कामसमेत अलपत्र छ । सिलुवामा निर्माण भएको सब–स्टेसनसम्म पीपलडाँडाबाट प्रसारण लाइन लगिएको छ । सिलुवाबाट पूर्वको गल्धा, अर्चले, ज्यामिरे, मित्याल, झिरुवासमा बिजुली बाल्न ट्रान्सफर्मर चार्ज हुनेछ । प्रदेश सभा सदस्य नारायण आचार्यले निर्माण व्यवसायीले ढिलाइ गर्दा काम अघि नबढेको बताए ।

सिलुवाको सब–स्टेसन नबन्दा बिजुलीको सपना देखेको ११ वर्षसम्म बिजुली बाल्न नपाएको निस्दी ४, मित्यालका ६४ वर्षीय नरबहादुर गाहा मगरले गुनासो गरे । बिजुली बाल्न समुदायबाट पैसा संकलन भएको समेत ११ वर्ष भयो । बत्ती चाँडै बल्छ भनेर सुरुमै ७ हजार रुपैयाँ बुझाएकाहरू अहिलेसम्म टुकीकै भरमा छन् । घरमा वायरिङ पनि गरिसकेका छन् । वायरिङ धूलोधूँवाले कालै भइसक्यो । त्यतिमात्र होइन, घरअगाडि गाडेको पोल पनि ढल्ने अवस्थामा पुगिसकेको छ । ठेकेदारले गाडेका पोलका तार चुँडिएका छन् । ‘बिजुली बाल्ने सपनै हुने हो कि भन्ने लागेको छ,’ गाहाले भने, ‘दुर्गमका बासिन्दा भएर कोही कसैले पनि यसमा चासो नदिएको होला ।’ यस क्षेत्रमा जयदुर्गे, आरके इन्टरनेसनल, त्रिपुरेश्वर कन्डक्टर निर्माण कम्पनीले कामको ठेक्का लिएका हुन् । सिलुवामा सामुदायिक ग्रामीण विद्युतीकरण विभागअन्तर्गत काम भइरहेको हो । ‘सिलुवामा प्रसारण लाइन र सब–स्टेसनको काम बीचमा रोकिए पनि अहिले अघि बढेको छ,’ प्रादेशिक कार्यालयका प्रमुख नवराज सुवेदीले भने, ‘केही समय ढिलाइ भए पनि अब काम सुरु भएको छ ।’

प्रकाशित : कार्तिक ३०, २०७६ ११:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

तीन स्थानीय तहबीच भगिनी सम्बन्ध

कान्तिपुर संवाददाता

बागलुङ — जिल्लाको ताराखोला गाउँपालिकाले तनहुँको बन्दीपुर र गुल्मीको धुर्कोट गाउँपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको छ । यी तीनवटा गाउँपालिकाले कृषि, पर्यटन, विकासको मोडल र लगानीको साझा एजेन्डामा छलफल र साझेदारीमा काम गर्ने सहमति गरेका हुन् । ताराखोलाका अध्यक्ष प्रकश घर्तीको निमन्त्रणामा आएका बन्दीपुरका अध्यक्ष पूर्णसिंह थापा र धुर्कोटका अध्यक्ष भूपाल पोखरेलले सहमतिपत्रमा हस्ताक्षर गरे ।

पहाडकी रानी बन्दीपुर, श्रमजीविको गाउँ ताराखोला र ऐतिहासिक महत्त्वको धुर्कोट गाउँपालिका पहाडी भूभागमा पर्छन् । उनीहरूले कृषि, घरेलु उद्योग र पर्यटक भित्र्याएर समृद्धि ल्याउने प्रतिबद्धता पनि जनाए । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको उपस्थितिमा उनीहरूले साझा सहमतिमा हस्ताक्षर गरे ।

तीन गाउँपालिकाको यो सम्बन्ध पर्यटन प्रवर्द्धनमा कोशेढुंगा हुने लम्सालले बताए । ‘तीनवटा पालिका मिलेर विकासको मोडल बनाउने, एक गाउँका बासिन्दालाई अर्को गाउँ घुमाउने प्रक्रियाले नेपाल भ्रमण वर्ष सफल बन्नेछ,’ लम्सालले भने, ‘देशभरका अरू पालिकामा पनि यो क्रम अब थालिनेछ ।’ ग्रामीण पर्यटनको विकासका लागि पूर्वाधार निर्माणमा तीनवटै तहले प्राथमिकता दिने प्रतिबद्धता पनि जनाएका छन् । ‘सडक संजाल पहिलो आवस्यकता हो, त्यसमा लगानी गरिरहेका छौं,’ घर्तीले भने, ‘विदेश पलायन रोक्न घरघरै उद्यमीको योजना पनि बुनेका छौं ।’ ताराखोलामा अर्गानिक कृषि फार्म, पशुपालन, ट्राउट माछा, अल्लो लगायतको कृषि उत्पादन भइरहेको छ ।

तीनवटै तहले होमस्टे मार्फत पर्यटक भित्र्याउने योजना पनि बनाएको बताए । बन्दीपुरमा विदेशी पर्यटक समेत आउने भए पनि होमस्टे पनि सञ्चालन गरेको उपाध्यक्ष करुणा गुरुङले बताइन् । ‘विदेशी पर्यटकको आफ्नै गन्तव्य छ, तर महिलालाई रोजगार बनाउन दुइवटा होमस्टेमा लगानी समेत गरेका छौं,’ गुरुङले भनिन्, ‘आन्तरिक पर्यटक लक्षित गरिएका होमस्टेमा बिदेशीले पनि रुचाउन थालेका छन् ।’ धुर्कोट गाउँपालिका चौबीसे राज्यको शक्तिशाली थियो । उक्त विरासत राख्नका लागि विकास र रोजगारीमा निरन्तर खटेर विदेश पलायन रोक्ने अभियान थालेको पोखरेलले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७६ ११:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्