अवैध हतियारसहित पक्राउ परेका शाहको रिहाइ माग गर्दै बाँके बन्द
बाँके — शुक्रबार बिहानदेखि नेपालगञ्ज र कोहलपुरको जनजीवन बन्दले प्रभावित भएको छ । नेपाली कांग्रेसको भातृसंगठन तरुण दल बाँकेले गरेको बन्दले जनजीवन प्रभावित भएको हो । केहि साताअघि तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई हतियार सहित बाँके प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका शाहको रिहाइ आव्हान गर्दै कांग्रेसले विरोध जनाएको हो । उनीहरुले प्रहरी प्रशासन सरकारको आडमा मनोमानी गरेको आरोप लगाएका छन् । कार्तिक १४ गते शाहलाई बाँके प्रहरी प्रशासनले बेलुका नेपालगञ्जको नमस्ते भिलेज रिसोर्टबाट हतियारसहित पक्राउ गरेको थियो ।
अवैध रुपमा रहेको अमेरिकन लोडेड पेस्तोल २ र दुई थान गोली समेत बरामद गरेको थियो । बन्दले कोहलपुर, नेपालगन्जको चोकहरु प्रभावित भएका छन् । कोहलपुर हुँदै काठमाडौंबाट नेपालगन्ज आउने रात्रीबस चप्परगौडीमा रोकिएका छन् । २० मिनेटको अवधिमा नेपालगञ्ज पुगिने भएपनि काठमाडौंका यात्रु कोहलपुरमै अलमल पर्न बाध्य छन् । चोकचोकमा झन्डा राखेर यातायातमा सञ्चालनमा रोक लगाइएको छ ।
फ्याट्टफुट्ट साइकल र रिक्सा भने चलेका छन् । पक्राउ परेका शाहको रिहाइ नहुँदासम्म अनिश्चितकालीन बन्द गर्ने तरुण दल बाँकेले जनाएको छ । जिल्ला प्रहरी बाँकेका डिएसपी शिव सिंहले भने छलफल गरेर सकेसम्म बन्द फिर्ता लिने प्रयास भइरहेको बताए ।