फस्टाउँदै टनेल खेती

टनेल प्रविधिमा थोरै भूमिबाट धेरै आम्दानी हुने, रोग कम लाग्ने, गुणस्तरीय उत्पादन हुने र श्रमशक्तिको बचत हुने भएकाले किसान आकर्षित 
अमृता अनमोल

(बुटवल) — बुटवल उपमहानगर–१३, तामनगरका गणेश पौडेलले एक कट्ठा खेतमा टनेल बनाएका छन् । टनेलभित्र गोलभेडा, रायो, धनिया, भान्टा, काँक्रालगायत खेती गरेका छन् । सोखले थालेको तरकारी खेती फस्टाएपछि उनी व्यावसायिक किसान बन्ने प्रयासमा छन् । ‘बेमौसममा पनि राम्रो तरकारी उत्पादन हुने रहेछ,’ ग्रीष्मा कृषि फार्मका सञ्चालक उनले भने, ‘त्यसैले थप दुई कट्ठा जमिनमा टनेल बनाउने तयारीमा छु ।’

फस्टाउँदै टनेल खेती

बुटवल, सेमलारकी गीता थापाले पनि यस वर्ष खेतमा टनेल बनाइन् । टनेलमा लगाएको तरकारी खाली खेतमा भन्दा धेरै फल्यो । बेमौसमी तरकारी लगाउन र नियमित आम्दानी लिन सकिने भएपछि आउँदो वर्ष टनेल खेती बढाउने योजनामा छन् । ‘टनेल बनाउने झन्झटले सुरुमा मानेकी थिइनँ । उपमहानगरले आफैं टनेल बनाइदिएपछि खेती थालेकी हुँ,’ उनले भनिन्, ‘सोचेभन्दा राम्रो आम्दानी भयो । अब आफैंले थप टनेल बढाउँछु ।’


पौडेल र थापा मात्र होइन, टनेल खेतीप्रति यस क्षेत्रका धेरै किसान आकर्षित भएका छन् । विज्ञका अनुसार टनेल प्रविधिमा थोरै भूमिबाट धेरै आम्दानी हुने, रोग कम लाग्ने, गुणस्तरीय उत्पादन हुने र श्रमशक्तिको बचत हुने भएकाले किसान यस प्रविधितर्फ आकर्षित भएका हुन् । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रका किसानका लागि टनेल खेती सहयोग कार्यक्रम सञ्चालन गरेको छ । त्यसअनुसार टनेलमा तरकारी खेती गर्न सिकाउने र टनेल बनाउन अनुदान उपलब्ध गराएको नगर प्रमुख शिवराज सुवेदीले बताए । ‘बाह्रै महिना व्यावसायिक तरकारी खेती उत्पादन गरेर यहाँका किसानको आय बढाउने प्रमुख लक्ष्य हो,’ उनले भने, ‘त्यसमा वर्षामा धान रोपेर हिउँदभर खेत बाँझै राख्ने ग्रामीण क्षेत्रका किसान र घरवरपरको जमिन उपयोगविहीन बनाएका बजार क्षेत्रका नागरिक दुवैलाई समेटेका छौं ।’


उपमहानगरले गत वर्ष प्रांगारिक खेती तथा टनेल प्रविधिबारे वडास्तरीय तालिम सञ्चालन गरेको थियो । विज्ञले थोरै जमिन हुनेले समेत मौसमी र बेमौसमी दुवै प्रकारको तरकारी खेती गरेर नियमित आम्दानी हुने तरिका सिकाएका थिए । किसानको मागअनुसार चालु आवमा टनेल निर्माणमा अनुदान बाँडेको छ । किसानले प्रतिटनेल ४० हजार रुपैयाँसम्मको सहयोग पाएका छन् । तीव्र बजारीकरण भएको बुटवलमा अझै पनि करिब ३० प्रतिशत जमिनमा तरकारी खेती गरिन्छ । उक्त क्षेत्र सेमलार र मोतीपुरमा धेरै छ ।

पहिलो चरणमा ४१ टनेल बनेका छन् । टनेल निर्माणका लागि ५० लाख ११ हजार रुपैयाँ बजेट लगानी भएको छ । त्यसमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु आवको सुरुमै टनेल निर्माणका लागि प्रस्ताव आह्वान गरिएको थियो । त्यसबाट इच्छुक र प्रतिबद्ध किसान छनोट गरेर अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । ‘जस्तोसुकै मौसममा पनि फलाउन सकिने तरकारीको अध्ययन गरेर किसानलाई तरकारी खेती गर्न सिकाएका छौं,’ उनले भने, ‘यसबाट पहिलो फसल नै राम्रो भएको छ । किसान उत्साहित छन् ।’


टनेलमा गोलभेडा, बन्दा, काउली, गाँजर र साग उत्पादन भएको छ । उपमहानगरको कृषि विकास शाखा प्रमुख सन्तोष जीसीले किसानलाई समस्या हुन नदिन प्राविधिक आफैं वडामा खटेको बताए । ‘परीक्षणका लागि गरिएकाले आफैं खटेर टनेलको हावापानी र मलबीउमा सामन्जस्यता मिलाइदिने गरेका छौं,’ उनले भने, ‘यसैले किसानहरू सोचेभन्दा राम्रो फसल उत्पादन गर्न सफल भएका छन् ।’


प्रकाशित : कार्तिक २९, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?