दशगजामै प्रदर्शन

कान्तिपुर संवाददाता

रुपन्देही — भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा नेपाल तरुण दल रुपन्देहीले बेलहीयाको दशगजामा विरोध प्रदर्शन गरेको छ । तरुण दलले रुपन्देहीको दशगजामा प्रदर्शनसहित विरोध गरेको हो । भारतीय हेपाहा प्रवृत्तिको विरोध र सरकार मौन बसेको आरोपसहित तरुण दलले सीमा नाका बेलहियामा प्रदर्शन गरेको तरुण दलका जिल्ला सभापति सोम गुरुङले बताए । कालापानी, लिपुलेक हाम्रै हो, भारतीय सेना गर्दे खाली भन्ने नारासहित तरुणले सभा गरेको थियो ।

लिपुलेक र कालापानीको समस्या हालैको सिर्जित समस्या नभई पुरानै समस्या रहे पनि वर्तमान सरकारले समस्या समाधानतर्फ कुनै पहल नगरेको तरुणको आरोप छ । अहिले पनि सरकारले विज्ञप्ति जारी गर्नु बाहेक नक्सा संशोधन र भारतीय सेना फिर्ताको कुनै पहल नगरेको नेपाल भारतमैत्री संघका अध्यक्ष शान्तकुमार शर्माले बताए । ‘अतिक्रमित भूभाग नेपालमा फिर्ता नआएसम्म आन्दोलन रोकिन्न,’ उनले भने ।


त्यस्तै विरोध सभामा बोल्दै कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले सरकारलाई सीमामा सेना खटाएर सीमा रक्षा गर्नुपर्ने बताए । ‘अहिलेको सरकारले यसको रक्षाका लागि कदम चाल्न नसके पनि नेपाली कांग्रेसका कार्यकर्ता कालापानी र लिपुलेक जोगाउन ज्यान बाजी लाएर खट्न तयार हुन्छौं,’ उनले भने ।


उनले सरकारलाई देशको सीमा रक्षाका लागि सेना खटाउन समेत माग गरे । भारतीय सीमा रक्षा गर्ने नेपाली सेना नै भएको भन्दै उनले नेपालीलाई नजिस्क्याउन चेतावनी दिए । नेपालीलाई जिस्क्याएर कसैले एक इन्च पनि हटाउन नसक्ने बताए । सार्वभौमसत्ता सम्पन्न देश नेपालका स्वाभिमानी जनताले विस्तारवादविरुद्ध लडने बताए ।


प्रकाशित : कार्तिक २८, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?