रुकुमकोटमा खानेपानीको पिरलो

कान्तिपुर संवाददाता

रुकुम — जिल्लाको अस्थायी सदरमुकाम तथा सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोट लामो समयदेखि खानेपानीको समस्यामा छ । एक सहर एक पहिचानअन्तर्गत ऐतिहासिक सहरको नाम पाएको सिस्ने गाउँपालिका–५ र ६ वडाअन्तर्गत रुकुमकोट उपत्यकाले खानेपानीको पिरलो भोगिरहेको हो । यहाँका स्थानीयले कमल दह तथा लुस्पा धाराबाट समेत खानेपानी बोकेर काम चलाएका छन् । 

पुरानो खानेपानी आयोजना जीर्ण हुनु, मर्मत नहुनु र बढ्दो जनघनत्वका कारण रुकुमकोट उपत्यकाले लामो समयदेखि खानेपानीको अभाव झेलिरहेको हो । मुस्किलले एक घण्टामात्रै आउने पानीले सर्वसाधारण समस्यामा परेका छन् । खान, कपडा धुन तथा बस्तुभाउलाई खुवाउन पानीको समस्या भइरहेको स्थानीयको गुनासो छ । नियमित र लामो समय पानी नआउँदा टाढा–टाढाबाट पानी बोक्नुपर्ने बाध्यता कायमै छ ।

सिस्ने गाउँपालिका–५ को घडारु चौरमा ०४५ सालमा निर्मित खानेपानी आयोजना जीर्ण बन्दा रुकुमकोट उपत्यकामा खानेपानीको समस्या भएको हो । बढ्दो जनसंख्याका कारण पानीको अभाव देखिन लागेको स्थानीयले बताए । अघिल्लो आर्थिक वर्षमा ८० लाख रुपैयाँ लगानी गरेर गाउँपालिकाले थप पानी ल्याएको थियो । त्यसको पनि वितरण व्यवस्थित नहुँदा उपभोक्ताले सजिलै खानेपानी पाइरहेका छैनन् । खानेपानीका कारण समस्या भइरहेको सिस्ने–५ का वडाध्यक्ष शान्तेबहादुर विकले बताए । ‘आइरहेको पानी व्यवस्थित गर्न नसक्दा र केही योजना निर्माणकै चरणमा रहेकाले खानेपानीको समस्या देखिएको हो,’ उनले भने, ‘अब छिट्टै यो समस्या समाधान हुनेमा विश्वस्त छौं ।’
रुकुमकोट उपत्यकालाई लक्षित गरी यहाँ दुईवटा खानेपानीका आयोजना निर्माणको चरणमा छन् । लुस्पाधाराको पानी लिफ्टिङ गर्ने योजनाको काम भइरहेको छ भने सिस्ने–६, खोपिचारको पानीको आयोजना बन्ने भएको छ । यी दुवै आयोजना सम्पन्न भएपछि यहाँ खानेपानीको समस्या समाधान हुने सरोकारवालाले बताए ।

लुस्पाको पानी लिफ्टिङ गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ८६ लाख रुपैयाँ विनियोजन गरेको छ भने प्रदेश ५ सरकारले ४० लाख रुपैयाँ छुट्याएको छ । आगामी असारसम्ममा सिस्ने–६ का तीन सय घरधुरीलाई खानेपानी पुग्ने गरी लुस्पाधारा आयोजना निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् ।

प्रकाशित : कार्तिक २८, २०७६ १०:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

घोराहीमा ७ जनाको उम्मेदवारी

कान्तिपुर संवाददाता

दाङ — मंसिर १४ मा हुने उपनिर्वाचनका लागि घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्षमा पाँच राजनीतिक दल र दुई स्वतन्त्र गरी सात जनाको उम्मेदवारी दर्ता भएको छ । 

नेकपाबाट सुरेशबहादुर केसी र कांग्रेसबाट ताराबहादुर डीसीको उम्मेदवारी दर्ता भएको छ । नेकपाका जगलाल चौधरीले बागी उम्मेदवारी दिएका छन् । यसैगरी राप्रपाबाट प्रकाश केसी, समाजवादीबाट विमला पुन, नेसनल मंगोलबाट पहलमान आले मगर र स्वतन्त्रबाट समिर वलीको उम्मेदवारी परेको छ । वडाध्यक्ष लछिनप्रसाद बुढाको मृत्यु भएपछि पद खाली भएको हो । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।

बुढाकी श्रीमती लालमती बुढालाई उम्मेदवार नबनाएको भन्दै उनका परिवार र समर्थकले जगलाल चौधरीलाई उम्मेदवार बनाएका हुन् । चौधरी मगर र थारु समुदायको उल्लेख्य सहभागितामा बाजागाजासहित उम्मेदवारी दर्ता गर्न गएका थिए । अन्य राजनीतिक दलहरूले पनि बाजागाजा र झाँकीसहित उम्मेदवारी दर्ता गरेका थिए । वडामा ४ हजार ४ सय ५३ मतदाता छन् । जसका लागि दुई मतदान स्थल र पाँच केन्द्र निर्धारण गरिएको छ ।

प्रकाशित : कार्तिक २८, २०७६ १०:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×