भीड कम गर्न बाइपास सडक

‘सवारी दुर्घटना कम गर्न र सडक जाम घटाउन सहयोग पुग्नेछ’ 
अमृता अनमोल

(बुटवल) — सडक अतिक्रमण गरेर बनाइएका घर भत्काउन नसक्दा बुटवलको राजमार्ग क्षेत्र विस्तारको काम तीन वर्षदेखि अलपत्र छ । यही नगरका भित्री सडक भने धमाधम ८२ फुटमा विस्तार गरिँदै छन् ।

भीड कम गर्न बाइपास सडक

बुटवल उपमहानगरपालिकाले राजमार्ग क्षेत्रको भीड कम गर्न चार लेनको वाइपास सडक निर्माण थालेको हो । त्यसका लागि अतिक्रमण हटाउन र ढल निकासको अभावमा अस्तव्यस्त बनेका मुख्य बजारका सडक फराकिलो बनाउन थालेको छ । उपमहानगर प्रमुख शिवराज सुवेदीले पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्ग प्रदेश मन्त्रालय र त्यसमातहतका कार्यालयले बनाउन थालेपछि वाइपासका लागि भित्री सडक खुला र व्यवस्थित गर्न लागेको बताए । ‘अब ८२ फुटको बाइपास सडक बन्नेछ,’ उनले भने, ‘यसले सवारी दुर्घटना कम गर्न र सडक जाम घटाउन सहयोग पुग्नेछ ।’ सडकमा साना मात्रै होइन, ठूला सवारी साधन पनि चलाउन मिल्नेछ ।


पहिलो चरणमा राजमार्गको पश्चिम क्षेत्रमा योगीकुटीदेखि कालिकानगर–इँटाभट्टी हुँदै नेपालगन्ज रोडसम्मको कालिकापथ सडक चार लेनको बन्दै छ । यहाँ अहिले धमाधम सडक क्षेत्र कायम गर्ने, फुटपाथ निर्माण गर्ने र ढल खन्ने काम भएको छ । सडक सुधार गर्न मापदण्डविपरीत बनेका घर–टहरा र पिंढी भत्काएर साबिकको सडक कायम गरिएको छ । पहिलो चरणमा नाली र फुटपाथ निर्माण सक्ने र त्यसलगत्तै पिचको काम सुरु गर्ने नगर प्रमुख सुवेदीले बताए ।


योगीकुटीदेखि नेपालगन्ज रोडसम्मको आन्तरिक बाइपास सडक करिब तीन किलोमिटर लम्बाइको हुनेछ । यसले बुटवल उपमहानगर–११, ९ र ७ वडालाई समेटेको छ । यसलाई तीन खण्डमा बाँडेर ठेक्का लगाइएको छ । ०५४ सालमा यस सडकलाई ८२ फुटको कायम गरी सडक मापदण्ड बनाइएको थियो । वाइपास सडक आवश्यक पर्ने भन्दै त्यसयता हरेक वर्ष उपमहानगरले सडक विस्तारको योजना बनाएको थियो । तर, ठूला व्यापारीको बसोबास र बाह्रै महिना चहलपहल हुने भएकाले यसअघि स्थानीय तह सडक फराकिलो गर्न असफल भएको थियो ।


सडक सर्वेक्षणअनुसार यस सडकको दायाँबायाँ १ सय ९० घर तथा तिनका संरचना भत्काउनुपर्छ । बसपार्क र इँट्टाभट्टा क्षेत्रमा सबैभन्दा धेरै संरचना भत्काइँदै छ । उपमहानगरपालिकाले त्यस क्षेत्रका वडा प्रतिनिधि, टोल विकास संस्था र स्थानीय उपभोक्ता समितिलाई मापदण्ड मिचेर बनाएका संरचना भत्काउन र सडक क्षेत्र कायम गर्न सहमत गराएको छ । अहिले तीनै पक्षको सामूहिक पहलमा सडक भत्काउन थालिएको हो । ‘सडक राम्रो बनाऔं भन्ने अभियान नै चलाएर आफ्नो क्षेत्रका संरचना भत्काउन र सडक क्षेत्र कायम गराउन खटेका छौं,’ सडक विस्तारमा उपभोक्ताका तर्फबाट अगुवाइ गरेका बाबुराम पन्थीले भने, ‘टोलवासी नै सडक कायम गर्ने पक्षमा भएपछि मिचेका संरचना भत्काउन सहज भएको छ ।’


उपमहानगरले गत वर्ष राजमार्ग पूर्व–पश्चिमका सडकलाई बाइपास सडक बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको थियो । प्रतिवेदनमा सडक क्षेत्र ८२ फुटमा विस्तार गर्दा झन्डै ६४ करोड रुपैयाँ खर्च लाग्ने र तीन वर्षमा काम सक्ने उल्लेख छ । यस वर्ष डीपीआर पुनरावलोकन गरिएको छ । त्यसमा भने एक अर्ब लागत लाग्ने अनुमान छ । यसअनुसार उपमहानगरले गत वर्षको सुरुमै सडकको क्षेत्राधिकार छुट्याएको थियो । सडक अतिक्रमण नभएको योगीकुटी र तल्लो कालिकानगर क्षेत्रमा गत वर्ष केही काम भएको थियो । अतिक्रमित क्षेत्र खाली गराउन नसक्दा अन्य क्षेत्रमा विस्तारको काम रोकिएको हो । ‘एक क्षेत्र वा थोरै भूभागमा संरचना भत्काउँदा विवाद आउने देखियो,’ बुटवल उपमहानगरका सहरी पूर्वाधार विकास प्रमुख इन्जिनियर सुमन श्रेष्ठले भने, ‘यसैले यसपालि सबै क्षेत्रमा सडक कायम गरेर मात्रै विस्तारको काम थालेका छौं ।’


सडक विस्तारका लागि तीन तहकै सरकारले गत आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट छुट्याएका थिए । चालु आर्थिक वर्षमा संघीय सरकारले ससर्तमा ५० लाख र प्रदेश सरकारले समपूरक अनुदानमा एक करोड रुपैयाँ बजेट यस सडकका लागि छुट्याएका छन् । बाँकी रकम बुटवल उपमहानगरले जुटाएर ३ करोड ५० लाख रुपैयाँ पुर्‍याउने योजना छ । कालिकापथ सडक विस्तारलगत्तै राजमार्गबाट पूर्वी क्षेत्र अस्पताल लाइन, चाँदबारी, सुख्खानगर, दीपनगर, शिवनगर हुँदै रामनगर जोड्ने सडक विस्तार थाल्ने उपमहानगरको योजना छ । त्यसका लागि चालु आर्थिक वर्षमा सडक क्षेत्र कायम गर्ने र आगामी वर्षदेखि निर्माण थाल्ने उपमहानगर प्रमुख सुवेदीले बताए ।

प्रकाशित : कार्तिक २८, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?