कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

माछा मारेर पढाइ खर्च

कक्षा ८ मा पढ्ने सिस्नेका शैलेन्द्र खड्काले ४ कक्षादेखि माछा मारेर खर्च आफैं जुटाइरहेका छन्
हरि गौतम

रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिका–१४ जामाबगरका नन्दराम सुनार १५ वर्षका भए । हरेक वर्ष असोजदेखि जेठसम्म उनले पढाइका साथै माछा मार्ने काम गर्छन् । यी ९ महिना अबेर सुत्नु, सबेरै उठ्नु उनको दैनिकी हुन्छ ।

माछा मारेर पढाइ खर्च

बिहान सबेरै उठेर घर नजिकै भएर बग्ने सानीभेरी नदीमा पस्छन् । बेलुका स्कुल बिदा हुनासाथ घर फर्किंदा पनि उनी सानीभेरी नदीमा पसेरै फर्किन्छन् । बिदाको दिन र स्कुलमा केही समय फुर्सद मिल्ने बित्तिकै पासा (माला) र जाल बनाउनु उनको मुख्य काम हुन्छ ।


सानीभेरीमा माछा मारेर पढाइ खर्च जोहो गर्ने नन्दराम प्रतिनिधि पात्र हुन् । सानीभेरी नजिक बस्ने बालकहरू आफ्नो पढाइ र अन्य खर्च जुटाउन यसरी माछा मार्ने गर्छन् । १० वर्षमाथिका बालक जाडो, गर्मीको पर्वाह नगरी जोखिमका साथ नदीमा पसी माछा मारेर पढाइ खर्च जुटाइरहेका हुन्छन् ।


पुथाउत्तरगंगा गाउँपालिकाका राङ्सी, जामाबगर, त्रिवेणी, देउखोला, सिस्ने गाउँपालिकाको प्वाङ, पोखरा, रुकुमकोट, नाथीगाड, स्यालापाखाका बालक सानीभेरी नदीको वारि र पारि किनारमा हरेक बिहान–बेलुका यस्ता बालक प्रशस्त भेटिन्छन् ।


पढाइका अलावा घरखर्च टार्न ती बालक माछा मार्ने काममा सरिक भएको स्थानीयले बताए । केही बालकलाई पासा र जाल जुटाइदिने काम अभिभावकको हुन्छ भने माछा मारेर त्यसबाट भएको आम्दानी उनीहरूले अभिभावकलाई बुझाउने गर्छन् । सिजनका बेला घरभन्दा टाढा पुगेर पनि माछा मार्ने गरेको नन्दरामले बताए । ‘यता धेरै माछा नलाग्ने भएपछि तलतिर पनि गएर माछा मार्ने गरेका छौं,’ उनले भने, ‘साथीभाइ जम्मा भएर स्कुल बिदाको दिन टाढा गएर माछा मार्छौं ।’


सिस्ने गाउँपालिका–३ का शैलेन्द्र खड्काले पनि लामो समयदेखि माछा मारेरै पढाइ खर्च धानिरहेका छन् । कक्षा ८ मा पढ्दै गरेका उनले ४ कक्षादेखि पढाइ खर्च आफैं जुटाइरहेको बताए । ‘सबैले माछा मार्छन्, त्यसैले मैले पनि पहिल्यैदेखि माछा मारेर बेच्छु,’ उनले भने । सिस्ने गाउँपालिका–३ को सौजन्य आधारभूत विद्यालय पांगाका शिक्षक कमानसिं खत्रीले कतिपय विद्यार्थीले सिजनका बेला माछा मारेर पढाइ खर्च जुटाउने गरेको बताए ।


घर नजिक नदी हुनुको फाइदा उनीहरुले उठाइरहेको उनले सुनाए । तर, नदीमा माछा मार्न जाँदा जोखिम पनि उत्तिकै रहेको उनले सुनाए । ‘नदीले बगाउँछ भन्दा पनि सधैं गरेको काम हो भन्दै उनीहरू मान्दैनन्,’ शिक्षक खत्रीले भने ।


सिस्ने गाउँपालिका–२ का वडाध्यक्ष जीवन केसीले सानीभेरी नदी वारिपारिका बस्तीका बालक माछा मार्न व्यस्त रहने सिजन आएको बताए । पछिल्लो समय माछाको मूल्य समेत बढेपछि बालकहरूले यसैबाट आफ्नो पढाइ खर्च जुटाउने गरेको उनले सुनाए । ‘जोखिम बढी हुने भएकाले त्यसो नगर्न आग्रह गर्छौं,’ उनले भने, ‘तर, बाध्यताका कारण हो वा अटेर गरेर टेर्दै टेर्दैनन् । माछा मारेरै पढाइ खर्च जुटाउने बताउँछन् ।’

प्रकाशित : कार्तिक २७, २०७६ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?