कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दिउँसो सुनसान, मध्यरातमा ठेलमठेल

कान्तिपुर संवाददाता

पाल्पा — गुल्मीका ऋषिराम अर्जेल पहिलोपटक सत्यवती तालको रातिमा लाग्ने मेला भर्न पुगे । उनलाई लागेको थियो, सहज रूपमा मेला भर्न पाइन्छ । सिद्धार्थ राजमार्गको झुम्सा पानीमिलकै भीड छिचोल्न उनलाई हम्मे भयो । तिनाउ खोलाबाट ताल क्षेत्रमा जाने झोलुङ्गे पुल चुँड्एिलाजस्तो अवस्था देखेपछि झुम्साबाट अर्को बाटो रोजे । ‘यति ठूलो भीड लाग्ने भएपछि वैकल्पिक बाटोको पनि व्यवस्थापन गर्नुपर्ने हो,’ सत्यवती तालमा लाग्ने कात्तिके पूर्णिमाको मेला भर्न पुगेका अर्जेलले भने, ‘रातिमा लाग्ने मेलामा यति ठूलो भीड मैले देखेकै थिइनँ ।’ 

दिउँसो सुनसान, मध्यरातमा ठेलमठेल

रूपन्देहीको बुटवल–१४ की केशरा पाण्डेय तीन वर्षपछि तालमा मेला भर्न पुगेकी थिइन् । आफूले चिच्चाएर भाकल गरेको पुगेपछि पुन: तालमा आएको उनले बताइन् । उनी तेस्रो पटक यसरी चिच्चाएर वर माग्न आएकी हुन् । ‘मैले मागेको वर पूरा भयो अनि पुन: आएकी हुँ,’ उनले भनिन्, ‘पहिला भन्दा धेरै सहज भए पनि अहिले भीड अत्यधिक बढेको छ ।’ उनले पनि झोलुङ्गे पुल र मोटरबाटो व्यवस्थापनमा स्थानीय तह र मन्दिर व्यवस्थापन समितिले ध्यान दिनुपर्ने बताइन् ।

अर्जेल र पाण्डेयमात्र होइन, शनिबार, आइतबार र सोमबार ताल क्षेत्रमा मध्यरातमा अत्यधिक भीड लाग्यो । दिउसोमा सुनसानजस्तै बनेको ताल क्षेत्रमा बेलुकी पखबाट मान्छेको धुइरो नै लागेको हो ।


चिच्चाएर वर माग्दा मनले चिताएको पुग्छ भन्ने धार्मिक विश्वास सत्यवती तालमा छ । चुरे र महाभारत क्षेत्रको सिमानामा पर्ने यहाँ सानो ताल छ । यति मात्र होइन, सत्यवती बाजे र बज्यैको मन्दिर पनि छ । ताल क्षेत्रमा तीनपटकसम्म कराउँदै वर माग्दै चिच्चाएर घुम्ने गरिन्छ । तिनाउ गाउँपालिका–४, कोलडाँडा सत्यवती जंगलको यस तालमा कात्तिकमै पूर्णिमा परेका बेला बढी भीड लाग्ने गर्छ । यहाँ दिउँसोमा भन्दा मध्य रातमा भीड लाग्छ । रातिमा चिच्चाएर वर माग्दा पाइने जनविश्वास छ । मध्य रातमा जोग परेका बेलामा सत्यवती बज्यैले मागेको वर पुर्‍याइदिने भएकाले नै आएको कास्की, पोखराकी रञ्जना क्षत्रीले बताइन् । उनले भनिन्, ‘गाउँका धेरै जना आएर मनोकामना पूरा भएको बताएपछि म पनि आएकी हुँ ।’


मन्दिर व्यवस्थापन समितिका अनुसार विगतका वर्षमा भन्दा यस वर्ष दुई रात अत्यधिक भीड बढ्यो । सत्यवती ताल र मन्दिर दर्शन गर्न झन्डै तीन घण्टा उकालो चढ्नु परेको रूपन्देहीकी विष्णु डुम्रेले बताइन् । ‘दिउँसो भन्दा बेलुकी र राति थामिनसक्नु भीड देखियो,’ उनले भनिन्, ‘राति र बिहानसम्म नै भीड लाग्दो रहेछ ।’


सयौंको संख्यामा लाइन लागेर चिच्याउँदै मेला भर्न राजमार्गदेखि ठाडै उकालो चढेर आएको वडाध्यक्ष दानबहादुर गाहाले बताए । कोलडाँडा सत्यवती मन्दिर र ताल परिसरमा परम्परागत रूपमा मेला लाग्ने गर्छ । भाकल अनुसार पूजा गर्ने, बलि चढाउने र परेवा उडाउने गर्छन् ।


नजिकै रहेको सत्यवती तालमा पाती, बाँसको लिंगो गाडेर पूजा गर्ने चलन छ । ‘ताल र मन्दिर वरपर बिजुली बत्ती जडान, सरसफाइ र बाटोको बीचबीचमा सूचनामूलक बोर्डसमेत राखिएका छन्,’ समितिका सचिव लालबहादुर दर्लामीले भने । विगतका वर्षमा भन्दा यस वर्ष धेरै श्रद्धालुले सत्यवती बज्यैको दर्शन गरेका छन् । एक लाखभन्दा बढी श्रद्धालु तालमा पुगेको आयोजकको दाबी छ ।


धार्मिक महत्त्वकै कारण पाल्पाका साथै रूपन्देही, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, दाङ, कास्की, काठमाडौंलगायत भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट समेत यहाँ मेला भर्न आएका थिए । सत्यवती माई कानले नसुन्ने भन्ने जनविश्वास रहेको हुँदा त्यहाँ गई बेस्मारी चिच्याएर वर माग्नुपर्ने जनविश्वास छ । चिच्याई चिच्याई वर मागेपछि पछाडि नफर्केर घरतिर लाग्ने चलन रहेको समितिका पूर्वअध्यक्ष तथा पूजा व्यवस्थापन समितिका संयोजक सुनवीर गाहाले बताए ।


प्रदेश ५ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लीला गिरीसमेत पूर्णिमाको अवसरमा तालमा पुगेको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए । गाउँपालिकाले यस वर्ष सत्यवती तालमा लाग्ने मेलाको जोग (साइत) परेकाले पूर्णिमाको दिन मंगलबार स्थानीय बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पनेरुले बताए ।


रामघाटमा पनि घुइँचो

कपिलवस्तु । ऐतिहासिक महत्त्व बोकेको रामघाट मेला भर्न मंगलबार श्रद्धालु भक्तजनको घुइँचो लाग्यो । कात्तिक शुक्ल पूर्णिमाका दिन कपिलवस्तु नगरपालिका–३, वाँणगंगा नदीको रामघाटमा मेला लाग्छ ।


बिहान रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नेको लामो लाइन थियो । भारतको बस्ती र सिद्धार्थनगर जिल्लाबाट पनि भक्तजन आएका थिए । त्यस्तै दाङ, रूपन्देही, अर्घाखाँची र पश्चिम नवलपरासीसम्मका श्रद्धालु भक्तजनको मेलामा भीड लागेको रामजानकी मन्दिर व्यवस्थापन समिति अध्यक्ष कमलेश शुक्लाले बताए । मन्दिर वरिपरि र नदी किनारमा रातभर जाग्राम बसेर ढोल, तासा, खैजडी, झाँज र हारमोनियम बजाउँदै भजन–कीर्तन र चुड्का भन्दै बसेका थिए । सुन्नेको पनि उस्तै भीड थियो । त्रेता युगमा भगवान राम वनवास जाने क्रममा रामघाट आइपुग्दा उनलाई पानी प्यास लाग्यो । त्यसपछि अर्जुनले वाँण हानेर पानी निकालेको धार्मिक किंवदन्ती रहेको अवधी लोककला विशेषज्ञ विक्रममणी त्रिपाठीले बताए । ‘त्यही भएर यो ठाउँको नाम रामघाट भयो,’ उनले भने, ‘त्यसकारण रामघाटलाई सबैले श्रद्धा र पवित्र मान्छन् ।’


मेलाका दिन घाटमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने भारतको चिल्हियाबाट आएका श्यामदास नाउले बताए । कतिपयले रामघाटमा स्नान गरी नदी छेउमा गौदान गरेका थिए । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहाँ गौदान गर्न आउने गरेको पण्डित कृष्णकुमार मिश्रले बताए ।


प्रकाशित : कार्तिक २७, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?