१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भादा पुल उच्च जोखिममा

कान्तिपुर संवाददाता

बर्दिया — हुलाकी राजमार्गअन्तर्गत गुलरिया–नेपालगन्ज सडक खण्डको बबई (भादा)को पुरानो पुल उच्च जोखिममा परेको छ । दुई लेनको पुल निर्माण गर्ने क्रममा पिलर गाड्दा कटान भएपछि जोखिममा परेको हो ।

निर्माणाधीन पुलमा ६ वटा पिलर छन् । स्काभेटरले ठाउँ फराकिलो गर्ने क्रममा छेउको भाग खनेपछि पुल भासिन पुगेको हो । अत्यधिक भारवहन सवारी साधन रोकिएनन् भने जुनसुकै बेला जोखिम मोल्नु पर्ने पुल महाशाखा क्षेत्र नम्बर ३ नेपालगन्जका इन्जिनियर ध्रुवबहादुर चन्दले बताए । ‘स्थानीय प्रशासन र सडक कार्यालयलाई जानकारी गराइसकेका छौं,’ उनले भने, ‘अधिक लोडयुक्त ट्रक र टिपर १५ दिनका लागि रोकिए भने त्यसबीचमा निर्माणको सबै काम पूरा हुन्छ ।’


जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन सुवेदीलगायत गुलरिया नगरपालिकाका प्राविधिक टोलीले जोखिम पुलको अनुगमन गरिसकेका छन् । यो पुल भएर गुड्ने सवारी साधनलाई अवरोध नहोस् भन्दै पुलसँग जोडिएको दक्षिणतर्फ माटो हटाउन लागिएको छ । पुरानो पुलको दक्षिणी रेलिङ तोडेर आउजाउ सुचारु गराउने प्रयासमा पुल महाशाखा लागेको छ । निर्माण कम्पनी लामा स्वछन्द जेभी पुल्चोक, ललितपुरले ३३ करोड ४९ लाख ५० हजार रुपैयाँ लागतमा भादा पुल निर्माणको ठेक्का सम्झौता गरेको पुल महाशाखा नेपालगन्जले जनाएको छ । सम्झौताअनुसार यस पुलको लम्बाई तीन सय मिटर छ । पुल महाशाखा नेपालगन्जका अनुसार ०७४ मंसिर २२ मा सम्झौता भई ०७७ मंसिर २१ भित्र पुल निर्माण गरी ठेकेदार कम्पनीले हस्तान्तरण गर्नुपर्ने छ । पुलको दुवैतर्फ १ दशमलव ६ फुटपाथ र रेलिङ निर्माण गरिने पुल महाशाखाले जनाएको छ ।

प्रकाशित : कार्तिक २७, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?