१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

वन जोगाउन सुरक्षा गस्ती

अमृता अनमोल

काठमाडौँ — वनमा हुने चोरी निकासी रोक्न रूपन्देहीको सैनामैना नगरपालिकाले हतियारसहितको सुरक्षा गस्ती खटाएको छ । वनमा अवैध चोरी बढेपछि नगरपालिका, इलाका प्रहरी, वन डिभिजन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिको समन्वयमा संयुक्त गस्ती सुरु गरेको हो । आइतबारदेखि सुरु गस्ती दैनिक रूपमा परिचालन हुने भएको छ ।

वन जोगाउन सुरक्षा गस्ती

नगर प्रमुख चित्रबहादुर कार्कीले वन क्षेत्र मासिंदै र चोरी सिकारी बढ्दै गएकाले संरक्षणका लागि हतियारसहितको गस्ती सुरु गरेको बताए । ‘गस्तीमा वनदेखि सुरक्षाकर्मी र उपभोक्ता सहभागी गराएर सबैको अपनत्व हुने गराइएको छ,’ उनले भने, ‘यसले वन क्षेत्रमा हुने चोरी सिकारीसँगै डढेलोसमेत रोक्न सहयोग पुग्ने अपेक्षा छ ।’


चुरे पहाडबाट सुरु भएर तराईको समथर भाग ओगटेको सैनामैना नगरपालिकामा करिब १२ हजार हेक्टर वनक्षेत्र छ । चुरे पहाड ओगटेको सालझन्डी क्षेत्रको वन लुम्बिनी साझेदारी वनका रूपमा संरक्षित छ । पर्रोहा, दूधराक्ष र सालझण्डी पूर्वका वन उपभोक्ताले संरक्षण गरेका छन् । त्यसमध्ये १६ वटा सामुदायिक वन दर्ता छन् । नगरपालिकाले वन संरक्षणका लागि सामुदायिक वन सञ्चालन तथा व्यवस्थापन ऐन, २०७५ बनाएको छ । त्यसमा वनको संरक्षण गर्न र चोरी निकासी रोक्न सुरक्षा गस्तीको व्यवस्था गरिएको छ । नगरपालिकाका सूचना अधिकारी केशव अर्यालले यही व्यवस्थाअनुसार गस्ती परिचालन गरेको बताए । ‘सैनामैनामा छरिएर रहेको बस्ती छ । चुरे पहाडमा फैलिएको वनसमेत त्यस्तै छ । त्यही कारण यहाँका सामुदायिक वनलाई बस्तीदेखि टाढाको वन रेखदेख गर्न, चोरी निकासी रोक्न र आकस्मिक रूपमा हुने आगो निभाउन समस्या पर्छ,’ उनले भने, ‘यही बुझेर नगरपालिकाले संयुक्त सुरक्षा दस्ता खटाउने नियम बनाएको हो ।’


गस्तीमा १६ वटै सामुदायिक वन, इलाका वन कार्यालय रन्यौरा र सालझण्डी, सव डिभिजन वन कार्यालय कञ्चन र सैनामैना तथा नगर प्रहरीबाट दुई/दुई जना खटाइएको छ । गस्तीमा खटिने प्रहरी, वन रक्षक र नगर प्रहरी हतियारसहितका हुनेछन् । सुरक्षा दस्तामा सामुदायिक वनले स्वस्थ र फुर्तिला युवा पठाउन भनेको छ । नगरपालिकाले उनीहरूलाई सुरक्षाका लागि लठ्ठी, बत्ती र आगो नसल्किने कपडा उपलब्ध गराउनु पर्नेछ । डिभिजन वन कार्यालय र सामुदायिक वनले जोडेका आगो निभाउन प्रयोग गरिने उपकरणसमेत सुरक्षा दस्तालाई दिने रूपन्देही डिभिजन वन कार्यालयका प्रमुख इन्द्रबहादुर पछाईले बताए । ‘चुरे क्षेत्र भएकाले वन फँडानी, काठ चोरी, वन प्रयोग भएर निकासी, वन्यजन्तुको सिकारी, वनक्षेत्रमा हुने आपराधिक क्रियाकलाप र डढेलो यहाँका वनका समस्या हुन्,’ उनले भने, ‘त्यसैले सुरक्षा दस्तासमेत सबल बनाउनुपर्छ भन्ने हाम्रो राय छ ।’


सुरक्षा गस्ती ४२ जनाको छ । गस्तीको नेतृत्व प्रहरीलाई दिइएको छ । त्यसअनुसार इप्रका सालझन्डी र रन्यौराले पालैपालो नेतृत्व सम्हाल्ने छन् । वन क्षेत्रलाई तीन खण्डमा बाँडेर दैनिक सुरक्षा योजना वनाइएको छ । आकस्मिक अवस्थामा भने संयुक्त रूपमा खट्ने छन् । दसैंपछिको समय वनमा अवैध चोरी सिकारी बढी हुने समय हो । चैतदेखि असारसम्म भने डढेलोको जोखिम बढी हुन्छ । अन्य समयमा दिनको एकपटक तर डढेलोको जोखिम बढी हुने समयमा जुनसुकै बेलासमेत गस्ती खट्ने वन प्रमुख प्रछाईले बताए । वन गस्तीसँगै नगरपालिकाले अनुमतिबिना वनजंगलमा प्रवेश गर्नसमेत रोक लगाएको छ । अनुमतिबिना वन प्रवेश गरेको भेटिएमा गस्ती टोलीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्नेछ । ‘सामुदायिक वनले कति क्षेत्र चरिचरण, घाँसका लागि हो भनेर छुट्याएको छ । वार्षिक रूपमा वन क्षेत्र काँटछाँट गर्ने मिति तोकेको छ,’ नगर प्रमुख कार्कीले भने, ‘त्यसबाहेकको समय र क्षेत्रमा वनमा पस्ने जोकोही कारबाहीको भागीदार हुनेछन् ।’


आगलागी धेरै हुने समयमा यहाँका सामुदायिक वनले आफैं पनि सुरक्षा दस्तामार्फत संयुक्त रेखदेख र तत्काल भएको आगलागी निभाउने गरेका थिए । यसले डढेलोको क्षति घटे पनि चोरी निकासी र वन्यजन्तुको सिकारी कम भएको थिएन । सैनामैना सामुदायिक वनका अध्यक्ष लालबहादुर कालामगरले वन फँडानी, काठ चोरी र डढेलोबाट वनलाई बचाउन संयुक्त गस्ती प्रभावकारी हुने बताए । ‘वनको सुरक्षा, डढेलो र आकस्मिक आगलागीबाट बचाउन सामुदायिक वनले पनि वन नजिकको बस्तीमा घरदैलो गर्ने र उपभोक्तालाई सम्झाउने गरेका छौं,’ उनले भने ।

प्रकाशित : कार्तिक २७, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?