शीत भण्डारसहितको हाटबजार

कान्तिपुर संवाददाता

गुल्मी — गुल्मी सदरमुकाम तम्घासमा शीत भण्डारसहितको हाटबजार सुरु भएपछि कृषक उत्साहित भएका छन् । गाउँबाट ल्याएका ताजा तरकारी खान पाइने भएपछि उपभोक्ता खुसी भएका छन् । 

सात वर्षदेखि अलपत्र हाटबजारलाई रेसुंगा नगरपालिकाले १ करोड ३३ लाख ५० हजार रुपैयाँको लागतमा शीत भण्डारसहित हाटबजार सुरु गरेको हो । आधुनिक शीत भण्डारको क्षमता पाँच टनको रहेको छ । कृषि तथा पशु उपज संकलन एवं शीत भण्डारसहितको हाटबजारमा अब कृषकले सीधै तरकारी र खसीबोका ल्याएर बिक्री गर्न पाउने रेसुंगा नगर प्रमुख डिल्लीराज भुसालले बताए । बजारमा भन्दा हाटबजारमा कृषि उपज ३५ प्रतिशत सस्तो रहेको भुसालले दाबी गरे ।

बिक्री नभएको तरकारी शीत भण्डारमा स्टोर गरी राखिनेछ । सिजनमा उत्पादित फलफूललाई स्टोर गरी राखेपछि बेसिजनमा बिक्री गर्न सकिन्छ । दैनिक खुला रहने हाटबजारमा कृषकले उत्पादन गरेको तरकारी, खाद्यवस्तु खरिद गरेर ल्याउने र उपभोक्तालाई बिक्री गरिने प्रमुख भुसालले बताए । ‘अब बिचौलियाको अन्त्य हुनेछ,’ उनले भने, ‘कृषकले उचित मूल्य पाउनेछन् । उपभोक्ताले सस्तो र ताजा तरकारी खान पाउनेछन् ।’


तम्घासमा अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको भगवती, मरेङ, अर्घातोष, छत्रगञ्जलगायत गाउँबाट पनि तरकारी, दूध, फलफूल जान्छ ।


तम्घासमा शीत भण्डारसहितको हाटबजार सुरु भएपछि भगवतीका कृषक सुनिता पाण्डे खुसी छन् । ‘नगरपालिकाले कृषकको फार्ममै आएर खरिद गरिदिने सुनेपछि उत्साहित छु,’ उनले भनिन्, ‘अब थप जग्गामा तरकारी

खेती लगाउने सोच छ ।’


विदेशबाट फर्किएका युवालाई फार्म खोल्न विशेष प्राथमिकता दिने छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए । गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले गाउँमा फलेको सुन्तला स्टोर गरेर राखेपछि चैत/वैशाखतिर खान पाइने बताए । तम्घासमा स्थापित शीत भण्डारसहितको हाटबजारले कृषि उद्यमी बढ्ने र गाउँगाउँमा उत्पादन वृद्धि हुँदा आर्थिक कारोबार उच्च हुने उद्योग वाणिज्य संघ, गुल्मीका उपाध्यक्ष रामप्रसाद पन्थीले बताए । ‘शीत भण्डारले कृषकलाई धेरै फाइदा भएको छ,’ उनले भने, ‘अब गाउँगाउँका कृषक कृषि उत्पादन वृद्धि गर्नेतर्फ लाग्नेछन् ।’

प्रकाशित : कार्तिक २६, २०७६ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?