कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघको आक्रमण बढ्यो

कान्तिपुर संवाददाता

नेपालगन्ज — पाटेबाघको आक्रमणमा परेर बाँकेको कोहलपुर नगरपालिका–१३, नयाँबस्तीकी ७५ वर्षीया काली बस्नेतको मृत्यु भएको छ । आइतबार दिउँसो बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको मनकामना मध्यवर्ती सामुदायिक जंगलमा गएकी उनको बाघको आक्रमण परी मृत्यु भएको हो । 

घाँस काट्न गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा बाघको आक्रमणले मृत्यु भएको अवस्थामा भेटिएकी थिइन् । गत कात्तिक १९ मा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी माउतेको मृत्यु भएको थियो । निकुञ्ज नजिक पाटेबाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–७, मोहनपुर गाउँका ४५ वर्षीय निकुञ्जका माउते मंगरु थारुको ज्यान गएको हो । हात्तीका लागि घाँस काटिरहेका उनीमाथि बाघले एक्कासि आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।


असोज १५ मा सामुदायिक वनमा बाख्रा चराउन जाँदा बाघको आक्रमणमा परी बर्दिया बासगढी नगरपालिका–२, राँझाकी ४२ वर्षीया गंगा सलामी मगरको मृत्यु भएको थियो । कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।


दिउँसो बाख्रा चराउन बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको स्वर्गद्वारी सामुदायिक वनमा गएको बखत उनी बाघको आक्रमणमा परेकी थिइन् । यसै गरी असार २१ मा भैंसी चराउन गएका बर्दिया राजापुर नगरपालिका–७, शंकरनगरका २५ वर्षीय धर्मेन्द्र यादवको पनि बाघको आक्रमणमा परी मृत्यु भएको थियो । भैंसी चराउन भारतीय आरक्षमा गएका उनी अबेरसम्म घर नर्फेपछि परिवार र गाउँलेले खोजी गर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।

पछिल्लो समय निकुञ्जमा बाघको संख्या बढेसँगै आक्रमणमा परी मृत्यु हुनेको संख्या पनि बढेको छ । निकुञ्जबाहिर आएको पाटेबाघको आक्रमणबाट असार महिनायता मात्रै ६ जनाको ज्यान गइसकेको छ । निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानव–वन्यजन्तु द्वन्द्व बढ्न थालेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भएसँगै मानव बस्तीतर्फ बाघ पस्न थालेको बताइन्छ ।


‘आहारा कमी भएर मानव–वन्यजन्तु द्वन्द्व बढ्यो भन्ने होइन,’ बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्माले भने, ‘२१ वटा बाघलाई चाहिने आहारा पर्याप्त छ तर आहारैका लागि वन्यजन्तु मानव बस्तीमा प्रवेश गरे भन्ने कुराको निर्णय गर्न अध्ययन अनुसन्धान जरुरी छ ।’


बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ र बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा पाटेबाघ रहेका छन् । देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयको सक्रियताले बाघको संख्या बढोत्तरी भए पनि उचित संरक्षण तथा आहाराका कारण मानव वस्तीमा पुगेर वन्यजन्तुले आक्रमण गरिरहेका छन् ।


मध्यवर्ती क्षेत्रमा सामुदायिक वनबाट वन पैदावार लैजान सुविधा छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाले दुर्घटनामा परी घाइते र मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरेको छ ।


पाटेबाघको आक्रमण बढेपछि स्थानीय त्रस्त भएका छन् । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले बाँकेमा पशु–बालीमा क्षति अधिक भए पनि मानवीय क्षति पहिलो भएको बताए । ‘संरक्षण भन्ने कुरा सजिलो छैन, व्यवस्थापन गर्न गाह्रो छ,’ उनले भने, ‘जोखिम भए पनि जीवन यापनका लागि वन पैदावार उपभोग गर्न स्थानीयलाई रोक्न सक्दैनौं ।’

प्रकाशित : कार्तिक २६, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?