२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

वडाध्यक्षको निधन

कान्तिपुर संवाददाता

रोल्पा — पूर्वी रोल्पास्थित सुनिल स्मृति गाउँपालिका–३ का वडाध्यक्ष जेदबहादुर विष्टको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका बेला हृदयाघातले उनको मृत्यु भएको आफन्तले बताए । 

‘दिनभर कार्यालय र घरायसी काम गरेर बेलुका सुतेका बेला मृत्यु भएछन्,’ जिल्ला समन्वय समितिका संयोजक राजबहादुर बुढामगरले भने, ‘हृदयाघातका कारण उहाँको मृत्यु भएको परिवारले जनाएको छ ।’ मृतक वडाध्यक्ष विष्टको उमेर ६० वर्षको थियो । विष्टको मृत्यु भएको कुरा शनिबार बिहान मात्रै परिवारजनले थाहा पाएका थिए । हरेक बिहानै ४ बजे उठेर काममा खट्ने उनी त्यस दिन नउठेपछि पत्नी हेर्न जाँदा मृत्यु भएको जानकारी पाएकी थिइन् । दिउँसोदेखि टाउको दुखेको भन्दै आत्तिएका उनले शुक्रबार राति ११ बजेसम्म टेलिभिजनमा समाचार हेरेको परिवारले जनाएको छ ।


वडाध्यक्ष विष्टको मृत्युपछि गाउँपालिकाले दु:ख व्यक्त गरेको छ । शोक वक्तव्य सार्वजनिक गर्दै गाउँपालिकाकी कार्यवाहक अध्यक्ष वागमती क्षेत्रिनीले जनप्रतिनिधिको दु:खद मृत्यु भएकामा ठूलो क्षति पुगेको बताइन् । विष्टको निधनप्रति दु:ख मनाउन आइतबार गाउँपालिका कार्यालय बन्द गरिएको थियो भने तीन दिन झन्डा आधा झुकाउने निर्णय भएको छ । विष्ट नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यसअघि थबाङ गाउँपालिका–१ का वडाध्यक्ष खर्कबहादुर बुढाको मृत्यु भएकोमा आउँदो मंसिर १४ मा निर्वाचन हुँदैछ ।


प्रकाशित : कार्तिक २६, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?