सबै घरमा पानीका धारा

कान्तिपुर संवाददाता

अर्घाखाँची — पाणिनि गाउँपालिका खिदिमकी तुलसा पराजुलीको घरको धारामा खानेपानी खसेपछि फुरुंग छिन् । एक गाग्री पानी ल्याउन कुवा खोज्दै जंगल धाउनुपर्ने बाध्यता हटेसँगै यहाँका बासिन्दा निकै खुसी भएका छन् । पानी बोक्दा ढाड, कम्मर, घुँडा दुख्ने समस्याले महिला रोगी थिए । घरमा पानी आएपछि दु:खबाट मुक्ति पाएको उनले बताइन् । ‘गर्मीको बेला मुहान सुकेर पानीको हाहाकारै हुन्छ,’ उनले भनिन्, ‘एक गाग्री पानी बोक्न घण्टौं धाउनुपर्थ्यो, अहिले बाध्यता हट्यो ।’ 

पाणिनी गाउँपालिकाको अभियानअन्तर्गत खिदिमका ६१ घरमा र एक सार्वजनिक धारा जडान गरिएको छ । गडुलगौरा, दोमही छरछरे खानेपानी योजनाको काम २४ लाख रुपैयाँमा सम्पन्न भएको हो । गाग्रीमा पानी बोक्दा धेरै महिला चिसोले ढाड दुख्ने समस्याका रोगी थिए । बर्षौंदेखि बोक्दै आएको थाप्लोबाट नाम्लो हटेकोमा स्थानीय मधु थापा खुसी छिन् । धारामा नियमित पानी आउने भएकाले बारीमा मुला, साग, आलु, गोलभेडा खेती गर्ने उनले तयारीसमेत गरेकी छन् ।


खानेपानी ल्याउन स्थानीयले पनि श्रम गरेका थिए । धेरै वर्षको दु:खपछि गाउँमा सबैका घरका धारामा पानी आएको उपभोक्ता समिति अध्यक्ष उपेन्द्र केसीले बताए । पानी आएपछि गाउँमा पशुपालनमा वृद्धि, तरकारी खेती उत्पादन र हिउँले बालीमा सिचाइँ सुविधा पुगेको छ । तीन वर्ष भित्रमा एक घर एक खानेपानीका धारा बनाउने योजना सम्पन्न गर्न गाउँपालिकाले साढे ३ करोड, ४ करोड प्रदेश र १ करोड संघ सरकारले सहयोग गरेको छ । पालिकामा सञ्चालन भएका खानेपानीका १२ साना योजना सम्पन्न भए । अन्य योजना पनि सुरु भएका छन् । ‘ठुला योजना दुई वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य अनुसार काम अगाडी बढेको छ,’ गाउँपालिका अध्यक्ष अच्युत गौतमले भने, ‘तीन वर्ष भित्र सबैका घरमा खानेपानी पुग्छन् । पानीको दु:ख कसैलाई हुँदैन ।’


गाउँपालिकाको सबैभन्दा ठुलो योजना बाग्दुला–मैदान–धातीवाङ खानेपानी योजना हो । योजनामा १ वर्ष देखि काम भएको छ । त्यसबाट मैदान र धतीवाङका साढे ८ सय घरधुरी लाभाविन्त हुनेछन् । प्रदेशबाट १ करोड र गाउँपालिकाबाट ५५ लाख बजेटबाट काम शुरु भएको योजनाको काम मुहानमा इन्टेक, पाइप लाइन बनेको छ । अहिले प्रदेशबाट थप एक करोड र पालिकाको ६ लाख रुपैयाँ बजेट परेको उपभोक्ता समितिका अध्यक्ष जीवनारायण कोइरालाले बताए । तीन वर्षमा घरमा धारामा पानी खसाल्ने लक्ष्य छ । काम सम्पन्न गर्न १० करोड रुपैयाँ बजेटको लागत स्टिमेट गरिएको उनले बताए । क्रमागत योजना भएकाले सम्पन्न नहुँदासम्म बजेट आइरहन्छ । गाउँमा पानी ल्याएपछि खानेपानीको समस्या हल हुने र उर्बरभूमीलाई कृषिमुखी बनाइने उनले बताए । मैदान गाउँबाट सालझण्डी–सन्धिखर्क–ढोरपाटन सड्क जोडिएकाले व्यावसायीक कृषितिर गाउँलेको ध्यान छ ।





प्रकाशित : कार्तिक २३, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?