३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दाङमा पर्याप्त बिजुली

कान्तिपुर संवाददाता

दाङ — जिल्लामा विद्युत् पर्याप्त आपूर्ति भएको छ । दुई ठूला सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि लो भोल्टेजको समस्या समाधान भएको छ । घोराही र बबईमा १३२ केभी प्रसारण लाइनका सबस्टेसन सञ्चालन भएपछि विद्युत् अभाव अन्त्य भएको हो ।

शुक्रबार घोराही उपमहानगरपालिका ३ झिङ्नीस्थित लमही–घोराही १३२ केभी प्रसारण लाइनको ऊर्जामन्त्री वर्षमान पुनले उद्घाटन गरे । गत फागुन ९ मा बबई गाउँपालिक–६ च्याटी खोलास्थित कुसुम–हापुरे १३२ केभी प्रसारण लाइनको उद्घाटन भएको थियो । यसअघि जिल्लामा लमहीको ३३ केभी लाइनबाट मात्रै विद्युत् विस्तार भएको थियो । जिल्लामा पहिलोपटक यति ठूलो क्षमताका सबस्टेसन निर्माण भएको र अब विद्युत् समस्या समाधान भएको ऊर्जामन्त्री पुनले बताए ।


‘अब दाङमा ठूला उद्योगहरू खोल्न सकिन्छ । विद्युत् आपूर्ति आवश्यकताभन्दा बढी भइसकेको छ,’ उनले भने, ‘अब एक वर्षमा दाङलाई पूर्ण विद्युत्युक्त जिल्ला बनाउने तयारी भइरहेको छ । विकास सम्भव छ भन्ने कुरा यसबाट प्रमाणित भएको छ ।’ नियमित विद्युत् आपूर्तिले देशको आर्थिक वृद्धिमा भूमिका खेल्ने उनले बताए । ‘नदीनालाको अध्ययन गरेर यसको बहुउपयोग गर्ने तयारी पनि भइरहेको छ । अब विद्युत् व्यापार गरिने उनले बताए । भारत, चीन र बंगलादेशलाई विद्युत् बिक्री गर्ने योजनाअनुसार काम गरिरहेको उनले जानकारी दिए ।


दुई वर्षमा नेपाललाई पूर्ण बिधुतिकरणयुक्त बनाउने योजना रहेको उनले बताए । अहिले १२ प्रतिशत जनता विद्युत् पहुँचबाहिर रहेको जानकारी दिंदै पुनले अब दुई वर्षमा विद्युत् र वैकल्पिक ऊर्जामार्फत सबै क्षेत्रलाई उज्यालो बनाउने बताए । लमही–घोराही सबस्टेसनबाट ४० हजार जनता प्रत्यक्ष लाभान्वित भएको नेपाल विद्युत् प्राधिकरणका निर्देशक दुर्गानन्द बडैतले बताए । यसबाट घोराही र रोल्पाको होलेरीमा विद्युत् बिस्तार भैरहेको उनले बताए । घोराही र सोनापुर सिमेन्ट उद्योगका साथै तुलसीपुरसम्म पनि विद्युत् आपूर्ति गर्न थालेको उनले जानकारी दिए । ‘यसबाट दाङमा औद्योगिक विकासको ढोका खुलेको छ । उद्योग खोल्न बलियो पूर्वाधार निर्माण भएको छ,’ उनले भने, ‘पहिले ४७ किलोमिटर लामो ३३ केभि लाइनबाट विद्युत् आपूर्ति हुँदा भोल्टेज नपुग्ने, चुहावट हुने, मधुरो बल्ने, उद्योग सञ्चालनमा समस्या हुने गरेको थियो । अब यी सबै समस्या समाधान भएका छन् ।’ अब यस सबस्टेसनबाट पहाडी क्षेत्रको बंगलाचुली गाउँपालिकामा पनि विद्युत् आपूर्ति गरिने उनले बताए । सबस्टेसनको लागत ४२ करोड ३७ लाख २८ हजार ९३ रुपयाँ रहेको बडैतले जानकारी दिए ।


यसबाट थप ट्रान्सफर्मर जडान गरी स्थानीय तहमा विद्युत् आपूर्ति गर्ने योजना रहेको विद्युत् प्राधिकरणका उप कार्यकारी निर्देशक बज्रभुसन चौधरीले बताए । यसैगरी बबईको च्याटीखोलामा ४३ करोड ८६ लाख लागतमा सवस्टेसन निर्माण भएको उनले जानकारी दिए । हापुरेमा निर्माण हुन थालेको दाङ सिमेन्ट उद्योगलाई लक्षित गरी बनाइएको सबस्टेसनले अन्तमा उद्योग नबन्दै दाङलाई उज्यालो बनाउन भूमिका खेलेको उनले बताए । अब जिल्लाका सबै सिमेन्ट उद्योगका लागि पर्याप्त विद्युत् भएको उनले बताए । हाल घोराही, सोनापुर, सम्राट र रोल्पा सिमेन्ट उद्योग सञ्चालित छन् । च्याटी खोलाबाट मात्रै सिमेन्ट उद्योगका साथै थप ३८ हजार ग्राहकलाई विद्युत् बिस्तार गर्न सकिने उनले बताए ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?