भारतले सीमा मिचेकोमा रोल्पामा विरोध

काशीराम डाँगी

(रोल्पा) — नेपालको भूमिलाई मिचेर बनाइएको नक्सा भारतले सार्वजनिक गरेपछि रोल्पामा पनि विरोध भएको छ । भारतले जबरजस्ती नेपाली भूमि मिचेकोमा बिहीबार रोल्पामा संयुक्त विरोध र्‍यालीको आयोजना गरिएको हो ।

भारतले सीमा मिचेकोमा रोल्पामा विरोध

भारतको उक्त कार्यप्रति विरोध र असहमति जनाउँदै रोल्पाली जागरुक समूहको ब्यानरमा विद्यार्थी, अधिकारकर्मी, दलका कार्यकर्ता, विद्यार्थी समूह, सामाजिक कार्यकर्ता, व्यवसायी, कर्मचारी लगायतले लिबाङ बजारको परिक्रमा गरेर विरोध प्रदर्शन गरेका थिए ।


स्वतःस्फूर्त निकालिएको र्‍यालीपछि टुँडिखेलमा कोणसभा आयोजना गरेर सहभागीले विरोध गरेका हुन् । सहभागीले भारतको उक्त कार्यप्रति तीव्र आक्रोश व्यक्त गर्दै भारतलाई सच्चिन आव्हान गर्दै ‘गो ब्याक इण्डिया’ लगायतका नारा लगाएका थिए ।


ऐतिहासिक प्रमाण र भोगचलनले नेपाली भूमि लिपुलेक समेतलाई आफ्नो भूमिमा पारेर भारतले केही दिन अघि राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । त्यस विरुद्ध मुलुकभर विरोध भइरहेको छ ।


सहभागीले नक्सामै भारतले नेपाली भूमि समेट्नु ठाडो हस्ताक्षेप भएको ठहर गरेका छन् । नेपालीले सार्वभौम राष्ट्रमाथि सबैको पनि हस्तक्षेप भएमा विरोध जारी राख्ने बताउदै आएका छन् । विरोध कार्यक्रममा नागरिक समाजका अगुवा घनश्याम आचार्य, पत्रकार महासंघका अध्यक्ष महेश न्यौपाने, पत्रकार महासंघका पूर्व अध्यक्ष खेम बुढा, विद्यार्थी नेताहरु आलोक पुन र शेरबहादुर थापा लगायतले मन्तव्य दिएका थिए ।


सहभागीले नेपाली भूमिमाथि भारतले हस्तक्षेप रोक्नुपर्ने, सीमा तारबार गर्नुपर्ने लगायतका माग गरेका थिए । उनीहरुले सरकारलाई कुटनीतिक रुपमा भारतसँग सीमा मिचिएकोबारे बोल्न आग्रह गरे । भारतको उक्त गतिविधिप्रति परराष्ट्र मन्त्रालयले विज्ञप्ति मात्रै सार्वजनिक गरेको थियो ।


प्रकाशित : कार्तिक २१, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?