कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गाउँपालिकाले डक्टर–पाइलट पढाउने

मनोज पौडेल

(कपिलवस्तु) — शुद्धोदन गाउँपालिकाले पालिकाभित्रका छात्रछात्रालाई एमबीबीएस वा पाइलट कोर्स अध्ययनका लागि सहयोग गर्ने निर्णय गरेको छ । यी विषय अध्ययनका लागि आर्थिक अभाव भएकाको सबै खर्च बेहोर्ने गाउँपालिकाले जनाएको हो । गाउँपालिका अध्यक्ष निसार अहमद खाँले भने,‘ एमबीबीएस वा पाइलट पढ्न चाहेका तर आर्थिक अवस्थाले नभ्याउने विद्यार्थीको सबै खर्च गाउँपालिकाले बेहोर्नेछ ।’ उनले गाउँपालिकाले धेरै पहिले यो निर्णय गरे पनि अहिलेसम्म कोही आएको बताए ।

उनकै पहलमा गाउँपालिकाको सक्रियतामा नेपाल राष्ट्रिय माविमा सिभिलतर्फ सबइन्जिनियरिङको पढाइ भइरहेको छ । १६ जिल्लाका ४८ विद्यार्थी पढिरहेका छन् । तीनवर्षे कोर्सका लागि न्यूनतम शुल्क १ लाख २० हजार छ । उक्त कोर्स पूरा गर्न उक्त विद्यालयभन्दा बाहिर तीनदेखि साढे चार लाख रुपैयाँ खर्च लाग्छ । यस वर्षबाट अमिन (नापी सर्वेक्षक) को पढाइ पनि त्यहाँ सुरु हुँदै छ । गत शनिबार प्रवेश परीक्षा थियो । ४८ जनाले अमिन पढ्न पाउनेछन् । तीनवर्षे उक्त कोर्सका लागि १ लाख २० हजार रुपैयाँ शुल्क तोकिएको छ । विद्यालय बाहिर पढ्नका लागि तीनदेखि साढे चार लाख खर्च लाग्छ । यी दुवै पढाइ जिल्लाका अन्य स्थानीय तहका विद्यालयमा छैनन् । राष्ट्रिय माविलाई पढाइका पूर्वाधार तयार गर्न गाउँपालिकाले गत वर्ष २८ लाख रुपैयाँ दिएको थियो । यो वर्ष २० लाख रुपैयाँभन्दा बढी विनियोजन गरेको छ । अपांगता भएकालाई जीवनयापनमा सहयोग पुर्‍याउन दुई वर्षमा १६ वटा मोटरसाइकल र स्कुटी वितरण गरेको छ । यो वर्ष १० वटा वितरणको योजना छ । ‘भन्सार छुट गराएर ल्याउँछु,’ अध्यक्ष खाँले भने, ‘एउटाको ९९ हजार ५ सय रुपैयाँ पर्छ । दुवै खुट्टा नभएकालाई प्राथमिकता दिने गरेको छु ।’ यी त भए शिक्षा क्षेत्रमा अध्यक्ष खाँको पहल ।


घर र गाउँपालिका मोटरसाइकलमा आउजाउ गर्ने जिल्लामा उनी एक्ला अध्यक्ष हुन् । योजना अनुगमन र गाउँपालिकाको काममा मात्र उनी गाडी चढ्छन् । दुई वर्षअघि गाउँसभामा सबैले गाडीका लागि बजेट छुट्याउन माग गर्दा उनले मानेनन् । दबाब बढेपछि १५ लाख रुपैयाँ छुट्याइयो । उक्त रकमबाट ११ लाख खर्चेर एम्बुलेन्स खरिद गरियो । बाँकी रकमले त्यसैका लागि ग्यारेज बनाइयो । गाउँपालिकाले धेरैपछि गाडी किन्यो ।


गाउँपालिकाले गर्भवती र सुत्केरीलाई एम्बुलेन्सको सेवा नि:शुल्क दिएको छ । अन्य स्थानीय तहका महिलाले पनि ५० प्रतिशत छुटमा सेवा पाइरहेका छन् । उपचारका लागि जहाँ गए पनि पैसा तिर्नुपर्दैन । चालु वर्षमा वडा ६ बाट एम्बुलेन्स खरिदका लागि १२ लाख रुपैयाँ विनियोजन गराएका छन् । एकल महिलालाई आयआर्जनका लागि फिर्ता गर्नु नपर्नेगरी १० हजार रुपैयाँ बीउ पुँजी प्रदान गर्ने निर्णय गरेका छन् । गत वर्ष ६० जनालाई वितरण गरे । क्यान्सर, मुटु र मिर्गौला रोगपीडितलाई ३० हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेका छन् । गत वर्ष ७९ जनाले त्यस्तो सहयोग लिए । चालु वर्षको अहिलेसम्म ३८ जनाले उक्त सहयोग पाइसकेको उनले बताए । गाउँपालिकाका २४ विद्यालय र १७ मदरसाका छात्रालाई स्यानेटरी प्याड नि:शुल्क उपलब्ध गराइएको छ । मोतीपुरमा गाउँपालिकाको अग्रसरतामा कन्या कलेज सञ्चालन गरिएको छ । गाउँपालिकाको १६ लाख रुपैयाँ लगानीमा कलेजका लागि तीनकोठे भवन बनाइएको छ । त्यहाँ ६, ७ र ८ कक्षा सञ्चालित छन् । सांसद चक्रपाणी खनालको संसदीय विकास कोषको ५० लाख रकमले उक्त कलेज भवनको डीपीसीसम्म निर्माण गरिएको छ । गाउँपालिकाको बहुवर्षे योजनाअन्तर्गत ५ करोड ८० लाख रुपैयाँ लागतमा बेथीखोलामा पुल निर्माण भइरहेको छ । ७० प्रतिशत काम भइसकेको छ । विपत्ति, दुर्घटनामा परी ज्यान गुमाउनेलाई पनि ३० हजार सहयोग गर्ने निर्णय गरेका छन् । ‘तीन दशकदेखि जनतासँग छु,’ उनले भने, ‘कहाँका जनतालाई के चाहिन्छ मैले राम्रोसँग बुझेको छु ।’


सीमित स्रोतसाधनलाई कसरी परिचालन गर्ने भन्ने उनलाई राम्ररी थाहा छ । मजदुरदेखि चालक र कृषकदेखि जमिनदार भएका खाँले अनुभवबाट सिकेका कुराबाटै समाजको खाँचो पहिल्याएका छन् । ‘मोटरसाइकलभन्दा माथिका साधन चढ्ने मेरो हैसियत छैन,’ उनले भने, ‘पहिले गाविसको अध्यक्ष र उपाध्यक्ष हुँदा त साइकल चढेर सेवा गरेको हुँ ।’ उनलाई गाउँसभाले मासिक ६० लिटर पेट्रोल सुविधा दिएको छ । तर उनले निर्वाचित भएदेखि अहिलेसम्म पाँच लिटरमात्र लिएका छन् । पछिल्लोपटक राष्ट्रिय जनता पार्टी छाड्दै स्वतन्त्र उम्मेदवार दिएर गाउँपालिका अध्यक्ष जिते पनि उनी पार्टीको संगठन हुँदै राजनीतिमा सक्रिय रहेका हुन् । सद्भावना पार्टीको केन्द्रीय महासचिवसम्म भएका उनी ०४८ मा साबिक बाँसखोर गाविसको उपाध्यक्ष र ०५४ मा अध्यक्षमा निर्वाचित भएका थिए । ‘अध्यक्षको विकासप्रति लगाव छ,’ प्रशासकीय अधिकृत प्रेम खनालले झने, ‘व्यतिगत र दलगत स्वार्थ नहुँदा काम गर्न सजिलो भएको छ ।’ फरक दलको भए पनि राम्रो कामका लागि अध्यक्षको सहयोगी भावना हुँदा गाउँमा विकासले गति लिएको उपाध्यक्ष सुधादेवी पाण्डेले बताइन् ।


प्रकाशित : कार्तिक २०, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?