विदेशभन्दा गाउँमै बढी कमाइ

हरि गौतम

(रुकुम पूर्व) — सिस्ने गाउँपालिका–६ का ३९ वर्षीय रेवन्त मल्ललाई वैदेशिक रोजगारीमा जान दबाब थियो । उनका साथीभाइ र इष्टमित्र विभिन्न मुलुक पुगेर कमाइ गरिरहेका थिए । गाउँमा काम छैन, विदेश जाऊ भन्नेहरू धेरै भए । सामान्य साक्षर मल्ललाई विदेश जान पटक्कै मन थिएन । गाउँमै केही गर्ने मन थियो । 

गाउँमै उनले तीनथरी काम गरे । सुरुमा पानीघट्टमा लगानी गरे । दोस्रो व्यवसायका रूपमा तरकारी खेती रोजे । तरकारीको आम्दानी भैंसी पालनमा लगाए । साढे तीन वर्षअघि तरकारी खेती छाडेर दुईवटा भैंसी खरिद गरेका मल्ल यहाँसम्म आइपुग्दा व्यावसायिक भैंसीपालक किसान बनेका छन् । दुईवटा भैंसीबाट सुरु भएको उनको व्यवसायमा हाल १३ वटा भैंसी भएका छन् । १४ लाख लगानी गरेको उनको भैंसी पालन व्यवसायमा छोटो अवधिमै ६५ लाख रुपैयाँ पुगेको छ ।

उनको भैंसी फार्ममा अहिले दैनिक ६ जनाले काम पाएका छन् । मल्ल आफू, कामदार र परिवारका सदस्य गरी ६ जनाले भैंसी फार्ममा रोजगारी पाएको सुनाए । परिवारका सदस्यबाहेकका कामदारलाई उनले मासिक १८ हजार रुपैयाँ तलब दिइरहेका छन् ।

‘म विदेश गएको भए आफैंले त केही कमाउँथे होला,’ मल्लले भने, ‘तर यहाँ बस्दा अरूका लागि पनि रोजगारी सिर्जना भएको छ ।’ विदेशको रोजगार अस्थायी भएकाले विदेश नगई गाउँमै व्यवसाय गरेको उनले बताए । उनले दैनिक ६५ लिटर दूध बजार पुर्‍याउँछन् । उत्पादित दूधले बजार नपाउला भन्ने चिन्ता उनलाई छैन । रुकुम पूर्व छुट्टै जिल्ला बनेपछि अस्थायी सदरमुकाम बनेको रुकुमकोटलाई दूध पुर्‍याउन नै नसकिएको उनले बताए ।

फार्मका १० भैंसी दुहुना छन् भने ३ भैंसी ब्याउने छन् । दूध बिक्रीबाट हाल उनले महिनामा १ लाख २० हजार रुपैयाँ आम्दानी गर्छन् । वर्षातको अवधिमा उनले महिनाको १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरेको सुनाए । उनको मन यत्तिले मानेको छैन । भैंसी फार्ममा साढे तीन वर्षमा लगानी गरिएको ६५ लाखमा ५८ लाख उनको आफ्नै हो भने सात लाख रुपैयाँ सिस्ने गाउँपालिकाले अनुदान दिएको हो । भैंसी फार्म अलि ठूलो बनाउने र रुकुमकोटलाई दूध पुर्‍याउने लक्ष्य छ उनको । मकै भित्र्याएपछि उनले बारीमा गहुँ लगाएका छैनन् । गहुँको सट्टा जई र नेपियर घाँसको खेती गरेका छन् ।

आफ्नो फार्ममा कामदार आवश्यक भएको तर नपाइएको उनले बताए । ‘फार्ममा काम गर्ने मान्छे नपाउँदा समस्या भइरहेको छ,’ उनले भने, ‘राम्रो तलब दिँदा पनि काम गर्न कोही इच्छुक देखिन्नन् । कस्तो विडम्बना हो ।’

प्रकाशित : कार्तिक २०, २०७६ १०:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

धानमा कालोपोके

माधव अर्याल

(पाल्पा) — जिल्लाका अधिकांश स्थानमा काट्ने बेलाको धानमा कालोपोके रोग देखा परेको छ । ढुसी जातको यस रोगले यस वर्ष धान उत्पादनमै असर पर्ने देखिएको छ । जिल्लाका अधिकांश एग्रोभेटले यूएस ३१२ जातको बीउ बिक्री गरेका थिए । त्यसमै अत्यधिक कालोपोके फैलिएको किसानको दाबी छ । माडी फाँट, दमार, भैसीकट्टा, झडेवा, रामपुर, पूर्वखोला, अगाहाखोला, अर्गली, बाँसटारीलगायतका स्थानमा कालोपोकेले सताएको हो । 

रोग फैलिँदा जिल्लामा २० प्रतिशत बढी धानबाली नष्ट भएको अनुमान किसानको छ । काट्ने अवस्थामा धानबाली रोगले नष्ट गरिदिएपछि किसान मर्कामा परेको माथागढी गाउँपालिका–३, कसेनी, सिकारकोटका खड्गबहादुर ठाडाले बताए । उनका अनुसार अधिकांश स्थानका खेतमा लगाएको धानबालीमा कालोपोके रोग लागेको छ । ‘रोगले भित्र्याउन तयार हुँदै गरेको धानबाली नष्ट गरेको छ,’ उनले भने, ‘अब कसरी यसलाई छुट्याउने हो भन्ने विपत्मा छौं ।’ उनले हाइब्रिड धानखेती रोगले सखापै पारेको बताए ।

यहाँ राम्रो फलेकाले उक्त जातको हाइब्रिड धानको बीउ अधिकांश किसानले लगाएका हुन् । उत्पादकत्व र क्षेत्रफलका हिसाबले धान खेतीमा बाला लागिसकेपछि पाक्ने बेलामा यो रोग देखा परेकाले किसान चिन्तित भएका हुन् ।

रोग लागेका बालाका सबै दाना कालो धूलोमा परिणत भएको छ । ‘सुरुमा कालोपोके एक प्रकारको झिल्लीले ढाकेको थियो,’ ठाडाले भने । कृषि प्राविधिकका अनुसार झिल्ली केही समयपछि फाटेको हो । त्यसको बिजाणु हावामा फैलिने प्राविधिकले बताए । रोगी बीउ नै रोगको प्रमुख स्रोत हो । संक्रमित बीउ खेतबारीमा छरेपछि बिरुवा उम्रे, बढ्दै जाँदा सुषुप्त अवस्थाका जीवाणुका मसिना रेशा सक्रिय भए । बाला लाग्ने समयमा बिजाणुहरू निस्केर पूरै बालामा अंगारको जस्तो कालो ढुसीका पोका देखिएको किसान ठाडाले बताए ।

वर्षभरि खान दु:ख गरेर लगाएको धानबाली भित्र्याउने बेला रोगले नष्ट गरेपछि के खाने भनेर समस्या परेको कसेनी दमारका पूर्णबहादुर गाहाले बताए । उनको खेतमा लगाएको धानमा ५० प्रतिशत बढी कालोपोके देखिएको छ । ‘पसाउने बेलामा पानी परेर हो कि भन्ने लागेको छ,’ उनले भने, ‘मल राख्न नपाएर हो कि भन्ने पनि लागेको छ ।’

बीउ बिजन बिक्री गर्ने बिक्रेता, कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषि प्राविधिकले यस विषयमा अध्ययन गर्नु जरुरी रहेको गाहाले बताए । ‘हामीलाई कालोपोके रोगले बर्वादै बनायो,’ उनले भने, ‘वर्षभरि खाने धानमा कालोपोकेले सत्यानाशै पारेको छ ।’ अन्यत्र भन्दा दमार क्षेत्रमा कालोपोकेले बढी असर गरेको उनले सुनाए । माडीफाँट क्षेत्रमा अघिल्लो वर्ष कहींकतै उक्त जातको धानमा कालोपोके लागेको थियो । यस वर्ष भने अत्यधिक देखिएको छ । बढी उत्पादन हुने क्षेत्रमै हाइब्रिड धानमा कालोपोके रोग लागेको माडीफाँटकै अर्का किसान मानबहादुर थापाले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले आफूहरूलाई कालोपोकेका विषयमा अहिलेसम्म कुनै गुनासो नआएको बताए । उनका अनुसार ढुसीजन्य यस रोगको उपचारका लागि बीउमै समस्या भएको हुन सक्छ । उक्त रोगको यकिन उपचार नभएकाले किसान मर्कामा परेका छन् । बीउ लगाउनु पूर्व विषादी हालेर पानीमा भिजाउनु पर्ने भए पनि कृषकहरूले सीधै खेतमा लगाउँदा समस्या आएको हुन सक्ने उनले बताए । हावाको माध्यमबाट अन्य स्थानमा यो रोग फैलदै जाने भएकाले हाइब्रिड धानमा बढी असर गर्छ । यसले स्थानीय धानको जातलाई भने क्षति गर्न नसक्ने प्रमुख अर्यालले बताए ।

जिल्लाका तीन सय हेक्टरभन्दा बढी खेतमा लगाएको धानमा कालोपोकेले सताएको छ । । धानबाली लगाउने ८ हजार ८ सय ५ हेक्टर खेतमा वर्षायाममा सिंचाइ सुविधा उपलब्ध छ । वर्षैभरि ३ हजार ९ सय ३४ हेक्टर क्षेत्रफलमा सिंचाइ हुन्छ ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT