चाडलगत्तै गाउँ सुनसान

गाउँमा काम नपाउँदा कोही वैदेशिक रोजगारीमा त धेरैजसो भारत जान्छन् । काम गर्न जाँदा राहदानी र लगानी गर्न नपर्ने भएकाले नेपालीको गन्तव्य भारत बनेको छ । 
ठाकुरसिंह थारु

(बर्दिया) — दसैं–तिहार सकिएलगत्तै पश्चिम नेपालका युवा काम खोज्दै भारत पलायन हुने क्रम सुरु भएको छ । चाडपर्वमा भरिएका गाउँ फेरि सुनसान हुन थालेका छन् । धान भित्र्याएर दैनिक एक हजारभन्दा बढी युवा भारत पलायन भइरहेका छन् । महिला, बालबालिका र ज्येष्ठ सदस्यलाई घरमै छाडेर उनीहरू प्रत्येक वर्ष यसैगरी गाउँ छाड्ने गर्छन् । 

चाडलगत्तै गाउँ सुनसान

चाडपर्व मनाउन वर्षमा एक/दुईपल्ट फर्किन्छन् । यहाँ उद्योग तथा कलकारखाना नभएका कारण रोजगारको अवसर छैन । गाउँमा काम नपाउँदा कोही वैदेशिक रोजगारीमा गएका छन् । धेरै युवा भारत जान्छन् । काम गर्न जाँदा राहदानी र लगानी गर्न नपर्ने भएकाले नेपाली युवाको रोजगारी गन्तव्य भारत बन्न पुगेको हो ।


‘दसैं, तिहार मजाले मनाइयो । थोरबहुत भएको धान भित्र्याइयो । अब घरमा काम छैन । त्यसैले काम गर्न भारत फर्किदै छौं,’ बर्दिया घोडपिट्टाका सुजन विकले भने, ‘अब माघीमा फर्किन्छु । होइन भने खेतीको सिजनमा घर फर्किनुपर्ला ।’ उनले यसैगरी हरेक वर्ष भारतमा मजदुरी गर्न जाने र चाडपर्वका बेला घर फर्किने गरेको बताए । दुई छोराछोरीको पढाइ खर्च, श्रीमती र आमाबुबाको पालनपोषण गर्न उनी दिल्ली, कालापहाड, सिमला र गुजरातलगायतका स्थानमा मजदुरी गर्न पुग्छन् । ‘दुई/तीन कट्ठा जग्गा छ । त्यसले खान पुग्दैन । मजदुरीकै भर पर्नु पर्छ । गाउँमा काम पाइँदैन,’ विकले भने, ‘भारतमा सडक निर्माण, पाइप खन्ने काम सहजै पाइन्छ ।’ त्यससँगै नेपालमा भन्दा भारतमा राम्रो कमाइ हुने भएकाले युवाहरूको आकर्षण त्यसतर्फ बढेको हो । भारु १ सयको नेपाली १ सय ६० हुने भएकाले मजदुरीको ज्याला बढी हुन्छ । एक जनाको मासिक २० हजार भारु कमाइ हुन सक्छ ।


भीडमा भेटिएका वीरबहादुर परियार पनि चाडपर्व मनाएर भारत नै फर्किएका हुन् । उनी बढीजसो सिमला पुग्छन् । तीन/चार महिना काम गरेर फिर्ता हुन्छन् । ‘वर्षमा तीन/चारपल्ट भारत जाने र फर्किने क्रम चलिरहन्छ । १०/१२ वर्षदेखि यसै गरिरहेको छु,’ उनले भने, ‘काम नगरे परिवार पाल्न सकिंदैन । गाउँघरमा काम पाइँदैन । त्यसैले भारतकै भर पर्ने गरेको छु ।’


बर्दियाका युवाहरू बढीजसो नेपालगन्ज नाका भएर भारत पस्छन् । बर्दियाको मूर्तिहा नाकाबाट पनि केही युवा भारत पस्छन् । भारतका विभिन्न सहरमा पस्न जमुनाहा नाकाबाट सहज हुने भएकाले यो नाका बढी प्रयोग हुने गरेको छ । नेपालगन्ज जमुनाहा नाका भएर प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका पूर्वी जिल्लाका युवा नेपालगन्ज हुँदै जाने गरेका छन् । नेपाल–भारत सीमास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सई माधव रिजालका अनुसार नेपालगन्ज नाका भएर दैनिक एक हजारभन्दा बढी नेपाली भारत पसिरहेका छन् ।


कतिपय दम्पती नै कामको खोजीमा भारत हिंडेका छन् । श्रीमान्लाई खाना पकाएर सहयोग गर्न उनीहरू काखमा बच्चा बोकेर जाने गरेका हुन् । सीमास्थित प्रहरीका अनुसार काखमा बच्चा समाएर भारत जाने महिलाको संख्या पनि उस्तै छ । दसैं/तिहार सकिएलगत्तै भारत जाने नेपालीको संख्या अत्यधिक बढेको हो । कर्णाली प्रदेशका कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमका युवाहरू बढीजसो भारत जाने गरेका हुन् ।


त्यस्तै, प्रदेश ५ को बर्दिया, बाँकेलगायतका युवा पनि कामको खोजीमा भारत पसिरहेका छन् । भारत जाने धेरैजसो युवा भारतको कालापहाड, चण्डीगढ, सिमला, गुजरात, दिल्ली, पन्जाबलगायतका सहरमा काम गर्छन् । कर्णाली प्रदेशका युवा कालापहाड, चण्डीगढ, सिमलामा सडक निर्माण र फलफूल खेतीका लागि जाने गर्छन् ।


प्रकाशित : कार्तिक २०, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?