कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुखका टुप्पामा घर 

वीरेन्द्र केसी

(गुल्मी) — सल्लाको अग्लो रुखको टुप्पामा के हुन्छ होला । काग वा अन्य चराको गुँड । यहाँ  भने रुखका टुप्पामा पुगेर बस्ने, रमाउने र तस्बिर खिच्नेको घुइँचो छ । 

रुखका टुप्पामा घर 

गुल्मीको रेसुंगा नगरपालिका–५, ६ र ७ वडाको संगमस्थल उनायचौरको सबैभन्दा अग्लो सल्लाको रुखमा घर निर्माण गरिएको छ । ४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर छ । पाँच तलाको घरमा एक सय सिँढी उक्लेर पुगिन्छ । टुप्पामा चारैतिर फैलिएको हाँगामा फलामको तारले घेरेर घर बनाइएको हो । माथि टिनको छानो छ । ढोका खोलेर भित्र पसेपछि १० जना अट्न सकिन्छ । त्यहाँ बस्ने, रमाइलो गर्ने, तस्बिर खिच्ने र तम्घाससहित गुल्मी, अर्घाखाँची, पाल्पालगायतको दृश्य हेर्न सकिन्छ ।


यसरी ‘ट्री हाउस’ मा चढ्न टिकट काट्नुपर्छ । विद्यार्थीलाई १० रुपैयाँ, अन्यलाई २० र ज्येष्ठ नागरिकलाई निःशुल्क छ । रुखमा चढ्नेको दैनिक घुइँचो लागेको छ । उनायचौर भगवती मन्दिर व्यवस्थापन समितिले प्रदेश ५ को वन मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय गुल्मीको १२ लाख ८८ हजार रुपैयाँ लगानीमा रुखको टुप्पामा घर निर्माण गरेको समितिका सचिव युवराज मरासिनीले बताए । समितिले दुई लाख रुपैयाँ लगानी गरेको छ । दुई महिनादेखि सञ्चालनमा छ । ‘पहिले जंगलमा कोही आउने थिएनन्,’ मरासिनीले भने, ‘अहिले ट्री हाउसमा चढ्न दैनिक ३ सयसम्म आन्तरिक पर्यटक आउँछन् ।’ गत भदौ ३ गतेदेखि अहिलेसम्म दुई लाखले अवलोकन गरिसकेको उनले बताए । टिकट बिक्रीबाट १ लाख ३० हजार रुपैयाँ रकम संकलन भएको मरासिनीले बताए । रकम कोषमा जम्मा गर्ने र अन्य पर्यटकीय संरचना निर्माण गरिने उनले बताए ।


रुख चढेपछि चारैतिरको हरियाली भूगोल र बस्ती देखिन्छ । वरपर विभिन्न प्रजातिका रुखको जंगल छ । शीतल, स्वच्छ हावा, सुन्दर मनमोहक दृश्यले जोकोहीको मन लोभिन्छ । अहिले बालकदेखि वृद्धासम्म रुख चढ्न जानेको भीड छ । चौरमा बस्न र रुख चढेर चारैतिरका दृश्य हेर्न पर्यटक भित्रिने क्रम बढेको रेसुंगा नगरपालिका–७ का वडाध्यक्ष मोहन पाण्डेले बताए । अब छिट्टै वडा र नगरपालिकाबाट बजेटको व्यवस्था गरेर रुख चढ्न आएका पर्यटकलाई बस्ने र खाने व्यवस्था गर्न रिसोर्ट निर्माण गर्न लागिएको उनले बताए । जंगल नै पर्यटकीय गन्तव्य बनाउन र पर्यटक तान्न रुखको टुप्पामा फलामे घर निर्माण गरिएको डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत मदन ढुंगानाले बताए । ‘पर्यटन प्रवर्द्धन गरी गुल्मीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ट्री हाउस बनाइएको हो,’ उनले भने ।

प्रकाशित : कार्तिक १९, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?