१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वाणगंगा र छिचौबीच भगिनी सम्बन्ध

कान्तिपुर संवाददाता

कपिलवस्तु — वाणगंगा नगरपालिका र चीनको छिचौं नगरबीच भगिनी सम्बन्ध कायम भएको छ । वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारू र छिचौं नगर जनसरकार उपप्रमुख फु चिन क्वाङले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारी पत्र आदानप्रदानसँगै दुई नगरबीच भगिनी सम्बन्ध औपचारिक रुपमा अगाडि बढेको हो ।

आर्थिक विकास तथा लगानी प्रवर्द्धनमा सहकार्य गर्ने तथा शिक्षा, स्वास्थ्य र प्राविधिक शिक्षामा दुवै नगरबीच सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । पर्यटन प्रवर्द्धन र बुद्ध शिक्षामा अध्ययन अनुसन्धानमा सहयोग गर्ने समझदारी पनि भएको छ । ‘चीनको समृद्ध र पर्यटकीय नगरसँग भएको समझदारी जिल्लाकै लागि ऐतिहासिक हो,’ वाणगंगा नगर प्रमुख थारूले भने, ‘यसले स्थानीय सरकार पनि आफ्नै अग्रसरतामा नगरको विकास गर्न सक्छन् भन्ने देखाएको छ ।’ छिचौं नगर जनसरकार उपप्रमुख क्वाङले बुद्धको नगर र छिचौं नगरबीच भएको समझदारीले आफूहरू सदाका लागि नजिकिएको बताए ।


‘बुद्धभूमि कपिलवस्तुमा पाइला टेक्न पाउँदा निकै गौरवान्वित छौं,’ उनले भने, ‘यहाँ आउन धेरै चिनियाँ लालायित छन् ।’ तीन वर्षदेखि वाणगंगाले छिचौंसँग भगिनी सम्बन्धका लागि पहल गर्दै आएको थियो । जनसरकारका उपप्रमुख क्वाङ र महासचिव उ किङवासहित पाँच सदस्यीय टोली यहाँ आएको थियो । एक वर्षअघि छिचौं नगरको निमन्त्रणामा यहाँका नगरप्रमुख थारुको नेतृत्वमा एक टोली चीन पुगेर फर्किएको थियो ।

प्रकाशित : कार्तिक १९, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?