कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘बालविवाहले पढाइ रोकियो’

रूपा गहतराज

(नेपालगन्ज) — बाँकेको डुडुवा गाउँपालिका २, करातियापूर्वाकी १६ वर्षीया ओमाकुमारी लोनिया विद्यालय जान्नन् । कक्षा ५ सम्म अध्ययन गरिन् । बीचमै पढाइ छोडेकी उनको काँधमा अहिले घरको चुलोचौकादेखि गाईवस्तु हेर्ने जिम्मा छ । ‘पढ्न मन लाग्छ, आमाबुबालाई भन्न सक्दिनँ,’ उनले भनिन्, ‘आफ्नै उमेर समूहका साथीहरू विद्यालय जाँदा रहर लाग्छ ।’ घरमा धेरै काम हुनाले फुर्सद नहुने उनले बताइन् । ‘मन मारेर बस्नु पर्छ,’ उनले भनिन्, ‘विद्यालयबाटै भागेर विवाह गर्छन् भन्ने डरले पनि धेरै अभिभावक छोरीलाई विद्यालय पठाउँदैनन् ।’ 

‘बालविवाहले पढाइ रोकियो’

उनीजस्तै डुडुवा २, करातियापूर्वाकी १५ वर्षीया सुनीता लोहनिया घरकी साइँली छोरी हुन् । कक्षा ५ सम्म अध्ययन गरेपछि उनले पनि पढाइ छाडिन् । उनका भाइ नेपालगन्ज बजारमा पढ्छन् । दुई बहिनीको विवाह भइसक्यो । पिता वैदेशिक रोजगारीमा छन् । घरको काम र भाइबहिनी हेर्ने जिम्मेवारी उनलाई छ । ‘सबै पढ्न गए भाइबैनी कसले हेरिदिन्छ र १,’ उनले भनिन् ।


डुडुवा २, सन्तलियाकी मनीषा नाउले ३ कक्षा पढेर विद्यालयको आँगन टेक्न पाइनन् । १८ वर्ष नपुग्दै विवाह गरेकी उनले २० वर्ष पूरा भएपछि पतिको घर जाने योजना सुनाइन् । अहिले उनी माइतीमा छन् । ‘त्यसभन्दा अगाडि पढ्न लाज लाग्यो,’ उनले भनिन्, ‘अब साथीहरू ठूलो कक्षामा गइसके । पुरानो कक्षामा कसरी पढ्न जाने १’ विवाह भइसकेकाले पनि विद्यालय जान अफ्ठ्यारो लागेको उनले बताइन् ।


डुडुवा २ की सन्तलिया नाउ १६ वर्षकी भइन् । ५ कक्षासम्म पढेपछि फेरि पढ्न गइनन् । आमा बिरामी हुन थालिन् । आमाको हेरविचारमा उनको स्कुल छुट्न थाल्यो । त्यसपछि विद्यालय जान छाडिन् । एक वर्षदेखि उनी घरायसी कामधन्दामा व्यस्त छन् । ‘हाम्रो समाजमा छोरीलाई पढाउँदैनन्,’ उनले भनिन्, ‘घरको कामले पढ्न पनि पाइँदैन, गृहकार्य नगरे शिक्षकले कुट्छन् । घरमा पढ्ने वातावरण हुँदैन ।’


राप्तीपारिको विकट मानिएको गाउँपालिकामा विकास र बाटो बने पनि सोच परम्परागत छ । शिक्षक गोपीचन्द्र बर्माले यहाँका धेरै अभिभावकले छोरीलाई विद्यालय नपठाउने गरेको सुनाए । ‘कति त बालविवाह गरेका कारण विद्यालय आउँदैनन्,’ उनले भने, ‘जति चेतना बढाए पनि छोरी पढाउनु पर्छ भन्ने मानसिकता नै छैन ।’ पशुपति माविमा कक्षा ७ मा पढ्ने सुनीता थारु रोपाइँ र धान काट्ने बेला विद्यालय जान्नन् । सिर्जना बाल क्लबकी कोषाध्यक्षसमेत रहेकी उनले मधेसी समुदायका बालबालिकालाई रोपाइँका बेला अभिभावकले विद्यालय नपठाउने गरेको बताइन् । ‘केही आफैं पढ्न खोज्दैनन्, धेरैलाई अभिभावकले नै अनुमति दिंदैनन्,’ उनले भनिन्, ‘एकपटक विद्यालय छोडेका छात्रा फेरि विद्यालयमा भर्ना हुन नखोज्ने प्रवृत्ति पनि बढ्दो छ ।’

प्रकाशित : कार्तिक १९, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?