मिलापत्रमा घटना टुंग्याउँदा  अपराध बढ्यो

ठाकुरसिंह थारू

(बर्दिया) — गत वर्ष सुन्दरपुर गाउँमा गएर रोकाय समूहले मारपिट गरेपछि प्रहरीमा ठाडो उजुरी पर्‍यो । सामान्य कुटपिट भएको भन्दै गाउँका अगुवाले मिलापत्र गराए । त्यही समूहले फेरि ठाकुरबाबा नगरपालिका–३, प्रतापपुरमा विवाद गर्‍यो । बिनाकारण झगडा गर्न थालेपछि स्थानीय मिलेर लखेटे । त्यहाँ पनि मिलापत्र भयो ।

ठाकुरबाबा–८, कालीगौडीका स्थानीयसँग कैयौंपल्ट विवाद भयो । कुटपिट गरे । फेरि पनि अगुवाहरूले मिलापत्र गराए । दुई साताअघि त्यही रोकाय समूहले बिनाकारण अटो रिक्सा मजदुरलाई कुटे । मोबाइल लुटे । रिक्साको सिसा फुटाए । स्थानीय प्रहरीमा उजुरी पुग्यो । गाउँका अगुवाहरूको यसपटक पनि क्षतिपूर्ति दिलाएर मिलापत्र गराए ।

गाउँका सर्वसाधारणलाई दुर्व्यवहार गर्नु स्थानीय देवी रोकाय, सन्तोष रोकाय र शरण रोकायको समूहका लागि सामान्य थियो । अन्ततः भाइटीकाको साँझ त्यही समूहले भुडकैयाका सर्वसाधारणमाथि आक्रमण गर्‍यो । गाउँका ३२ वर्षीय सतराम थारूको मृत्यु भयो । दर्जनभन्दा बढी स्थानीय घाइते भए ।

यस समूहले स्थानीय र आसपासका गाउँमा पुगेर विवाद गर्दै आएको धेरै भयो । तर सबै घटना मिलापत्रमा टुंगिने भएकाले उनीहरू हत्या गर्नसमेत पछि परेनन् । उनीहरूले आफूलाई त्यस क्षेत्रको डन मान्दै आएका छन् ।

‘पहुँचवाला हुन् । त्यसैले उनीहरूले सर्वसाधारणलाई गालीगलौज गर्नु, हेप्नु र कुट्नु सामान्य हो । दर्जनौं घटना भए तर मिलापत्र गराइयो,’ भाइटीकाको दिन भएको घटनाका पीडित महेश चौधरीले भने, ‘रिक्सा मजदुरलाई कुटपिट गरेको घटनामा उनीहरूमाथि मुद्दा चलाएको भए सायद सतरामले ज्यान गुमाउनु पर्दैनथ्यो होला ।’

प्रहरीले हत्या आरोपमा त्यस समूहका रोकायत्रयसहित आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । एक जना अझै फरार छन् । पक्राउ परेका देवी भगौडा सैनिक हुन् । सन्तोष नेपालगन्जमा एमआर र शरण भारतीय सेनामा कार्यरत छन् । उनीहरूको समूहको आतंकले गाउँ नै त्रस्त बन्दै आएको थियो ।

‘उनीहरू कसैलाई मान्छे गन्दैनन् । कुटपिट गरिहाल्छन्,’ चौधरीले भने । इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रमुख प्रहरी निरीक्षक वसन्त पाण्डेले उक्त समूहले गाउँमा पटकपटक विवाद गर्ने गरेको मौखिक उजुरी बकुवा प्रहरीमा आएको तर गाउँका अगुवाहरूले मिलापत्र गराएर लैजाने गरेको बताए । आफू हालै मात्रै सरुवा भएर आएका कारण उक्त समूहको गतिविधिबारे धेरै जानकार नभएको बताए ।

‘इलाका प्रहरीमा अटो रिक्सा चालक कुटपिट भएको रेकर्ड छ । तर अगुवाहरूले त्यही दिन क्षतिपूर्ति तिर्ने गरी मिलापत्र गराएका हुन्,’ उनले भने, ‘मौखिक उजुरीबारे प्रहरीमा अभिलेख हुँदैन । तर हत्या अभियोगमा पक्राउ परेका व्यक्तिको गतिविधि राम्रो नभएको स्थानीयबाट जानकारी आएको छ ।’ बिनाकारण सतरामको हत्यापछि स्थानीय आक्रोशित छन् । झडप हुन सक्ने भन्दै गाउँमा बाक्लो प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा गस्ती गरिरहेको छ ।

रोकाय समूहले गाउँमा आतंक मच्चाउँदै आएको ठाकुरबाबा–८ का वडाध्यक्ष निमप्रसाद थारूले बताए । ‘उनीहरूका कारण समुदायमा नै विवाद उत्पन्न हुने गरेको छ,’ उनले भने, ‘यस समूहले पहिले पनि अराजक गतिविधि गर्दै आएको थियो । अहिले त हत्यामै उत्रियो ।’


प्रकाशित : कार्तिक १८, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?