१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बहुविवाहका प्रमाण जुटाउनै हम्मे

मधु शाही

(बाँके) — जेठाजुका नाममा नेपालमा जमिनै छ । केटाले पनि आफू नेपाली नै भएको विश्वास दिलाए । त्यही भरमा उनले बिहे गरिन् । श्रीमान्ले अर्की विवाह गरेपछि उनलाई न्याय पाउन मुस्किल भइरहेको छ । 

जानकी गाउँपालिका–६ की भागमन्ती मिश्रले यो दिन आउला भन्ने सायदै सोचेकी थिइन् । पति भारत आउजाउ गरिरहन्थे । उनी पनि बिहेपछि केही महिना उतै बसिन् । त्यही क्रममा उनीमाथि दाइजोको बहानामा कुटपिट हुन थाल्यो । त्यसपछि भागेर नेपाल आइन् । माइती बस्न थालिन् । यसैबीच पतिले भारतीय युवतीसँग दोस्रो बिहे गरे ।


भागमन्ती बहुविवाहविरुद्ध उजुरी गर्न प्रहरीमा पुगिन् । तर केटा नेपाली भएको प्रमाण फेला नपरेपछि मुद्दा अगाडि बढेन । उनलाई अहिले डेढ वर्षकी छोरी हुर्काउन समस्या परेको छ । आफूमाथि भएको अन्यायविरुद्ध लड्न प्रशस्त प्रमाण छैन । ‘यस्तो नतिजा आउँछ भन्ने थाहा पाएको भए उहिल्यै नागरिकता माग्थें,’ उनले भनिन्, ‘नेपालमै जन्मदर्ता छ । उसले प्रमाण लुकायो ।’


डोल्पामा बिहे गरेकी एक महिला एक वर्षदेखि नेपालगन्ज प्रहरीको महिला सेल धाइरहेकी छन् । बहुविवाहविरुद्ध उजुरी गर्न चाहेकी उनले पनि पतिले दोस्रो बिहे गरेको प्रमाण जुटाउन सकेकी छैनन् । उजुरी दिए पनि व्यक्ति सम्पर्कमा नआउँदा न्याय नपाएको उनको भनाइ छ । ‘केटी लिएर हिँड्छ, घरै आउँदैन,’ उनले भनिन्, ‘बिहे दर्ता, सबै प्रमाण उसैले राखेको छ ।’ पहिलो पटक महिला सेलमा उनी र पतिबीच मिलापत्र भएको थियो । केही समय सँगै बसिन् । त्यसपछि प्रमाण लिएर पति सम्पर्कविहीन भएको उनको गुनासो छ ।


नेपालगन्ज, राँझाकी एक महिलाले प्रेमीसँग सुटुक्क बिहे गरिन् । एक वर्ष मिलेर बसे । श्रीमान्ले घर लैजाने भन्दै आश्वासन दिएर भाडाको कोठामा राखे । धेरै पटकभन्दा पनि घर नलगेपछि ती महिलालाई आफूमाथि गलत भएको महसुस भयो । महिला सेलमा मुद्दा हालेर न्यायका लागि अपिल गरिन् । तर उनीसित न बिहे दर्ता छ, न त नागरिकता । यस्तोमा मिलापत्र गराउनुबाहेक कुनै उपाय नहुने केन्द्रकी प्रमुख श्यामकुमारी मगरले सुनाइन् । उनका अनुसार घर लैजाने भनी मिलापत्र गरेका पुरुष अहिले बेपत्ता छन् । ती महिला भने उजुरी दिने प्रमाण नहुँदा अलपत्र परेकी छन् । बहुविवाहको प्रमाण नभएकै कारण महिलाहरू झन् पीडामा परेका घटनासमेत केन्द्रमा आएका छन् ।


नेपालगन्ज बस्ने एक पुरुषले बिहे गरे । त्यसको केही महिनामै जेठी श्रीमती बहुविवाह भएको भन्दै उजुरी हाल्न केन्द्रमा आइन् । उनीसँग न नागरिकता थियो, न त बिहे दर्ता । यही कमजोरीको फाइदा उठाएर कान्छीले बिहेको प्रमाण र नागरिकता, नाता प्रमाण सबै देखाइन् । कागजकै आधारमा कान्छीचाहिँ वास्तविक पत्नी सावित भएकी छन् । पीडित भनिएकी जेठी पत्नी प्रमाण नहुँदा उल्टै दोषी ठहरिएको प्रमुख मगरले बताइन् । केन्द्रमा दैनिक ५ देखि १० वटा बहुविवाहका उजुरी आउँछन् । तिनमा आधाजतिको प्रमाण नै हुँदैन । विवाह दर्ता र नाता प्रमाण नहुँदा मुद्दा चलाउन गाह्रो हुने गरेको छ । प्रमाण नहुँदा र साक्षी बसिदिने व्यक्तिसमेत नहुँदा बहुविवाहको मुद्दा चलाउन अप्ठ्यारो परेको जिल्ला प्रहरी बाँकेका इन्स्पेक्टर दीपक मल्लले बताए ।


जिल्ला प्रहरी बाँकेका एसपी वीरबहादुर ओलीका अनुसार सम्बन्ध सुमधुर हुँदासम्म महिलाहरू नाता प्रमाणित गर्नतिरै लाग्दैनन् । समस्या आएपछि प्रमाण जुटाउन खोज्दा सहज हुँदैन । ‘अबको नाता कागजमा जरुरी छ भन्ने कुरा महिलाले बुझेका छैनन्,’ उनले भने, ‘यसैले अन्यायमा परेकाले न्याय पाउन कठिन भएको छ ।’


प्रकाशित : कार्तिक १६, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?