२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बल्झियो सीमा विवाद

हरि गौतम

(रुकुम पूर्व) — मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व र छिमेकी जिल्ला बाग्लुङको सिमाना पातिहाल्नामा भूमे गाउँपालिकाले निर्माण गर्न लागेको प्रवेशद्वारको काम अलपत्र परेको छ । 

रुकुम पूर्वको भूमे गाउँपालिका र बाग्लुङको निसीखोला गाउँपालिकाबीचको सीमा विवादले प्रवेशद्वार निर्माण अलपत्र परेको हो । लामो समयदेखिको विवादले सडक निर्माणमा समेत अवरोध भएको छ । दुवै गाउँपालिकाका सीमामा रहेका स्थानीयले एकअर्काको काममा अवरोध गर्दै आएका हुन् । रुकुम पूर्वको भूमे गाउँपालिका–१ र बाग्लुङको निसीखोला गाउँपालिका–६ सीमा क्षेत्रमा पर्छन् ।


पछिल्लो समय मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएसँगै यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दै छन् । स्थानीय तहको आम्दानीको बलियो स्रोत बन्ने सम्भावना बढेपछि दुवै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा पर्ने भूगोल भन्दै जमिनमा दाबी गर्दै आएका छन् । त्यही विवादले प्रवेशद्वारदेखि स्थानीयस्तरका सडक निर्माणमा समेत अवरोध हुँदै आएको छ ।


बाग्लुङको निसीखोला गाउँपालिकाले रुकुम पूर्वको भूमे गाउँपालिकाले बनाउन लागेको प्रवेशद्वार निर्माणमा पहिलोपटक अवरोध गरेको थियो । त्यसको विरोधमा भूमे गाउँपालिकाले आफ्नो भूगोल भएर निसीखोलाले निर्माण गरेको सडकमा अवरोध गर्दै आएको छ । भूमे गाउँपालिका १ का रुजिधन घर्ती मगरले आफूहरूले भोगचलन गर्दै आएको जमिन बाग्लुङले च्यापेपछि समस्या भएको बताए । विवाद मिलाउन दुवै जिल्लाले लामो समयदेखि प्रयास पनि गर्दै आएका छन् । तर, विवाद समाधान हुन सकिरहेको छैन । पछिल्लोपटक कात्तिक ८ मा दुवै जिल्लाबीच भएको छलफल पनि निष्कर्षमा पुग्न सकेन । दुवै जिल्लाका समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष, दुवै वडाका वडाध्यक्ष तथा भूगोलबारे जानकारी राख्नेको संयुक्त बैठक विवादस्थलमै बसेको थियो । दुवै क्षेत्रका स्थानीयले आफूहरूको सिमाना चर्चेको क्षेत्रभन्दा टाढासम्म दाबी गरेपछि विवाद मिल्न नसकेको हो । फेरि थप गृहकार्य गरेर बैठक बस्ने निर्णय गर्दै छलफल सकिएको जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर वलीले बताए । ‘छलफल विवाद समाधान नजिक–नजिक पुग्दैछ,’ उनले भने, ‘दुवै क्षेत्रका स्थानीयले आ–आफ्नो भूगोल दाबी गरे पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आन्तरिक छलफल जारी छ ।’ मध्यपहाडी लोकमार्गका कारण त्यस ठाउँमा बढेको चहलपहलले विवाद निम्त्याएको उनले बताए । कर संकलन तथा आ–आफ्नो भूगोलमा विकास गर्न दुवै स्थानीय तह लागेपछि विवाद चर्किएको हो । दुवै जिल्लाको छलफल हुनुअघि नापी कार्यालयका प्राविधिकको टोलीले समेत विवादित क्षेत्रको अध्ययन गरेको थियो । प्राविधिकले भनेको कुरा पनि दुवै क्षेत्रका स्थानीयले स्वीकार गर्न सकेका छैनन् ।


छलफलअघि नै दुवै जिल्लाबाट नापी कार्यालयका अमिन कात्तिक ७ गते विवादास्पद क्षेत्रमा पुगेर जमिन छुट्याउने काम गरेका थिए । पातिहाल्नामा होटल सञ्चालनमा आइसकेका छन् । खानेबस्नेहरू बढ्दै गएका छन् । डिभिजन वन कार्यालय रुकुम पूर्वले त्यही ठाउँमा सार्वजनिक शौचालयसमेत बनाइदिएको छ । मान्छेको चहलपहल बढेको भन्दै अरु गतिविधि पनि बढिरहेका बेला दुवै क्षेत्रका स्थानीयले आ–आफूले भोगचलन गर्दै आएको जमिन भनेर दाबी गर्दै आएका हुन् ।


यसअघि पनि सीमा विवाद थियो । तर, धेरै चासो थिएन । पातिहाल्नामा दुवै क्षेत्रका सर्वसाधारण वर्षाको समयमा मात्रै बस्तुभाउ लिएर जाने गर्थे । केही समयमात्रै स्थानीय बस्ने भएकाले उतिबेला सीमाको कुरा चासो नभए पनि अहिले बाह्रै महिना गतिविधि हुन थालेपछि जमिनमाथिको विवाद बढ्दै गएको हो । विवाद मिलाउन भनेर पानीढलोका आधारमा सीमा निर्धारण गरौं भनिए पनि निसीखोलाबासीले नमानेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । निसीखोलाबासीले भने भूमेबासीका कारण विवाद समाधान हुन नसकेको बताए । गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले नापीको टोलीले निर्धारण गरेको सीमा भूमेले नमानेपछि समस्या समाधान हुन नसकेको बताए ।

प्रकाशित : कार्तिक १६, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?