३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जेलरको सरुवा, नाइके निष्क्रिय

मधु शाही, रूपा गहतराज

(नेपालगन्ज) — बेथिति र अनियमितता बढेको भन्दै आन्दोलित भएका नेपालगन्जस्थित कारागारका कैदीबन्दीको माग सम्बोधन भएको छ । 

कारागारभित्रका चौकीदार, जेल प्रशासन प्रमुख (जेलर) र नाइकेको मनोमानी व्यवहारले कैदीबन्दी पीडित भएको भन्दै कारागारभित्र बिहीबारदेखि आन्दोलन भएको थियो । आन्दोलनका कारण चौकीदार भरत फडेरा र नाइके मानबहादुर शाही बिहीबारदेखि नै कारागारभित्र पस्न पाएका थिएनन् । जेलर भरतराज पाण्डेको कुरा सुनेर चौकीदार फडेरा र नाइके शाहीले कैदीबन्दीमाथि शारीरिक एवं मानसिक यातना दिंदै आएको उनीहरूको आरोप थियो । कैदीबन्दीले जेलर पाण्डेको सरुवा, चौकीदार फडेरा र नाइके शाहीको पद निष्क्रिय पार्न माग गर्दै आन्दोलन गरेका थिए ।


प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी वीरबहादुर ओली, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य, कानुन व्यवसायी एवं सञ्चारकर्मीको सहभागितामा शुक्रबार भएको छलफलमा जेलर पाण्डेको सरुवा, चौकीदार र नाइकेको पद निष्क्रिय भएपछि आन्दोलन फिर्ता भएको हो । सरुवा र पद निष्क्रियसँगै आरोपका विषयमा छानबिन गर्न छिट्टै समिति गठन गर्ने सहमतिसमेत भएको प्रजिअ खड्काले बताए । ‘कैदीबन्दीलाई कष्ट दिएका जेलरलाई सरुवा गरेका छौं,’ उनले भने, ‘कारागारको आन्तरिक समस्या बुझ्न छानबिन समिति पनि बनाउने सहमति भएको छ ।’ जेलरले चौकीदार बनाउन १५ लाख घुस लिएको र त्यसको असुली चौकीदारले कैदीबन्दीसँगबाट गरेको आरोप पीडितले लगाएका थिए । पीडित कैदी हरि खत्रीले नाइके तथा सहनाइके नियुक्ति गर्दा चौकीदार र जेलरको मिलेमतोमा प्रतिव्यक्ति ५ हजारदेखि १५ हजार रुपैयाँ लिने गरेको, पहिला फोन गर्दा २० रुपैयाँ मात्रै तिर्नुपर्नेमा अहिले अनिवार्य ६० रुपैयाँ तिर्न बाध्य बनाएको, कैदीबन्दी बिरामी पर्दा चन्दा संकलन गरेर वा आफैंले व्यक्तिगत खर्चमा उपचार गर्दै आएको, जेलर र चौकीदारको मिलेमतोमा सरुवा गर्दा अनिवार्य १० देखि २५ हजार रुपैयाँ माग्ने गरेको बताए ।


कैदी विकास केसीले जेलभित्र कैदीबन्दीलाई गर्ने व्यवहार अमानवीय रहेको बताए । ‘बाहिर प्रतिकेजी ६० रुपैयाँ पर्ने मुलालाई जेलभित्र हामीले सय रुपैयाँ तिरेर खान बाध्य छौं,’ उनले भने, ‘त्यस्ता बेथिति यहाँ अरू थुप्रै छन् ।’ कैदीबन्दी भगत सिंहले अनावश्यक महँगी बढाउनु, कैदीबन्दीबाट पैसा असुल्नु, घुस खाएर चौकीदार पद पाउनुजस्ता गतिविधिले यहाँको कारागार कमाउने थलो बन्न थालेको आरोप लगाए । ‘जेल कमाउने थलो होइन,’ उनले भने, ‘नाइके, जेलर र चौकीदारको मनोमानी हामी सहँदैनौं ।’ जेलर पाण्डेले भने आफूमाथि लगाइएको आरोप निराधार भएको दाबी गरे । उनका अनुसार कैदीबन्दीबीच चौकीदारको पद पाउने खिचातानी हुन्छ । त्यसैका लागि विरोध भएको उनले बताए । ‘क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा पनि नियन्त्रण गर्न गाह्रो भएको हो,’ उनले भने, ‘चौकीदार पद सबैले चाहन्छन्, खिचातानी नै हुन्छ ।’


चौकीदार पदमा आकर्षण

कारागारमा रहेका कैदीबन्दीको नेतृत्व गर्ने जिम्मेवार पद चौकीदार हो । असल व्यवहार भएका र अपराध समय पूरा गरिसकेका कैदीबन्दीमध्ये कारागार प्रशासनको सिफारिसमा चौकीदार छनोट गरिन्छ । चौकीदारलाई कैदीबन्दीलाई खुवाउने, सामान किन्ने, व्यवस्थित गराउने, अनुशासनमा राख्नेजस्ता जिम्मेवारी हुन्छ । त्यस्तै, कैदीबन्दीको संख्याअनुसार नाइके र सहनाइके छानिन्छन् । कारागारलाई व्यवस्थित राख्न चौकीदार र नाइके छनोट हुने जेलर पाण्डेले बताए । उनका अनुसार २५ जना कैदी बराबर एक जना नाइके, १० जना बराबर एक सहनाइकेको नियुक्ति जेल प्रशासनले गर्छ । नियुक्ति पाएकालाई केही सुविधासमेत उपलब्ध हुन्छ । नियुक्ति पाएकाहरूले जेल प्रशासनबाट देखिने गरी केही सुविधा मात्रै होइन, अन्य लाभ पनि लिने गरेको कैदीबन्दीहरू बताउँछन् । त्यसैले चौकीदारदेखि नाइकेसमेतको नियुक्तिमा प्रतिस्पर्धा र चलखेल हुने गरेको छ ।



निर्माण अलपत्र

बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र छ । निर्माण अलपत्र परेपछि निर्माण कम्पनी पप्पु–रसुवा कन्स्ट्रक्सनलाई दिइएको पेस्की रकम फिर्ता लिइएको छ । पेस्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु भएकाले निर्माण अलपत्र परेको हो ।


३९ करोड रुपैयाँ लागतमा तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना एकाइ कार्यालय नेपालगन्जका इन्जिनियर होमनाथ भुसालले बताए । ‘सम्झौता अवधि पूरा हुन लाग्दासमेत पाँच प्रतिशत काम भएको छ,’ उनले भने, ‘काम अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेस्की रकम फिर्ता लिइएको हो ।’


प्रकाशित : कार्तिक १६, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?