धान भित्र्याउने चटारो

‘तिहार मनाउँदा पनि खेतमा पाकेको धानकै चिन्ता भयो । वर्षभरि खाने अन्नलाई समयमा भित्र्याउन पाए मन खुसी हुन्छ ।’
माधव अर्याल

(पाल्पा) — बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराका कमानसिंह कुमाललाई तिहारको अघिल्लो दिन धान काट्ने र स्याहार्ने चटारो थियो । तिहारको भोलिपल्ट पनि खेतमै थिए । उनको खेतमा तिहारअघि नै धान पाकेकाले उनलाई यतिबेला भित्र्याउन हतार भएको हो । 

धान भित्र्याउने चटारो

खेतमा पहेंलपुर भएको धान चाडपर्वका बेलामा भित्र्याउन हैरानी भएको उनले बताए । ‘तिहार मनाउँदा पनि खेतमा पाकेको धानकै चिन्ता भयो,’ उनले भने, ‘वर्षभरि खाने अन्नलाई समयमा भित्र्याउन पाए मन खुसी हुन्छ ।’

यसपटक विगतका वर्षमा भन्दा धान राम्रो फलेको उनले बताए । अहिले पर्मबाट धान काट्नुका साथै भित्र्याउने चटारो बढेको छ । आधुनिक प्रविधिअनुसार उनले धान काट्न भने पाएका छैनन् । धान झाट्न र स्याहार्न भने उनले थ्रेसर लगाउने योजना बनाएका छन् । गाउँ फर्केका साथीभाइसँग गफ गरेर बस्ने भन्दा पनि खेतको धान पाकेकामा स्याहार्ने चिन्ता हुने बाँसटारीकी इन्दिरा अधिकारीले बताइन् । ‘खेतमा धान पाकेको छ, चाडपर्वले गर्दा फुर्सद छैन,’ उनले भनिन् ।


उनलाई पनि धान भित्र्याउने चिन्ता छ । बाँसटारीका हेमबहादुर जीसीलाई पनि खेतमा धान पहेंलपुर भएकाले भित्र्याउने चिन्ता छ । पानी पर्न छाडेको एक सातामै खेतमा धान पहेंलपुर भएको उनले बताए । यहाँका माडी, अर्गली, कचल, रामपुर, बाँसटारी, झडेवा, कालीगण्डकी बेँसी, अरुणखोलामा धान खेती हुन्छ । अहिले किसान धान काट्ने र स्याहार्ने हतारमा रहेका छन् । यस वर्ष समयमै रोपाईं सकिएको र पानी राम्रो परेकाले किसानले विगत वर्षमा भन्दा यसपटक धान उत्पादन बढ्ने अनुमान गरेका छन् । आवश्यक वर्षात् भएको र धानमा लाग्ने रोग नदेखिएकाले जिल्लाको उत्पादनमा वृद्धि हुने अनुमान गरेका हुन् । साउनको दोस्रो सातामा शतप्रतिशत रोपाई सकिएको थियो ।


‘किसानले समयमा वर्षे धान लगाउन पाएका हुन्,’ कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले भने, ‘आवश्यक वर्षात् पनि भएकाले उत्पादन बढ्ने अनुमान गरिएको छ ।’ जिल्लामा यस वर्ष ९५ प्रतिशत किसानले धानखेती लगाएका थिए ।


जिल्लामा अघिल्लो वर्ष झण्डै २२ हजार टन धान उत्पादन भएको थियो । पानी समयमा परेको र सिञ्चित क्षेत्रसमेत बढेकाले यस वर्ष उत्पादनको कम्तीमा १० प्रतिशत बढ्ने अनुमान गरेका छन् । गत वर्ष भने ९० प्रतिशत मात्रै रोपाइँ भएको थियो । धानबाली लगाउने ८ हजार ८ सय ५ हेक्टर खेतमा वर्षायाममा सिंचाइ सुविधा उपलब्ध छ । टारी खेतको भने तथ्यांक छैन ।

वर्षैभरि ३ हजार ९ सय ३४ हेक्टर क्षेत्रफलमा सिंचाइ हुन्छ । मौसमी सिंचाइ ४ हजार ८ सय ७१ हेक्टरमा गर्न सकिन्छ । जिल्ला कृषि विकास कार्यालय जिल्लाको कुल जमिनमध्ये ३६ हजार हेक्टरमा खेतीबाली गरिन्छ । धानखेती भने ९ हजार ५ सय हेक्टरमा हुन्छ ।


प्रकाशित : कार्तिक १५, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?