कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मूर्ति विसर्जन विवादले कृष्णनगर तनावग्रस्त, नेतृत्वविहीन आन्दोलन

मनोज पौडेल

(कपिलवस्तु) — लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा कृष्णनगर बुधबार रातिदेखि तनावग्रस्त बनेको छ । स्थानीयले प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने भागदौडमा चार जना घाइते भएका छन् । 

मूर्ति विसर्जन विवादले कृष्णनगर तनावग्रस्त, नेतृत्वविहीन आन्दोलन

स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ । स्थानीयका अनुसार झन्डेनगरबाट निकालिएको मूर्ति बुधबार साँझ ६ बजे सेलाउन पहिले नै रुट तय गरिएको थियो । तर एउटा टोली निर्धारित रुट छाडेर बाजागाजासहित मुस्लिम कन्या कलेजको बाटो हुँदै अघि बढेपछि विवाद भएको हो । कलेजअघि एक मुस्लिम निस्केर त्यो बाटो जान नदिने अडान लिएका थिए । विवाद चलिरहँदा राति साढे ८ बजे कसैले भीडमा ढुंगा हानेपछि भागाभाग मच्चियो । त्यसपछि दुवै पक्ष आक्रोशित बने । स्थिति बिग्रन थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । भागाभागमा चार स्थानीय घाइते भएका छन् । प्रहरीले राति ५० सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो ।


बिहीबार बिहान ठाउँ–ठाउँमा स्थानीयको भीड जम्मा भएको थियो । प्रहरीका अनुसार उनीहरू बजारका चारैतिरबाट लाठी, भाला, खुँडा र धारिलो हतियारसहित सडकमा निस्किएका थिए । उनीहरूले बसपार्कमा रहेको प्रहरी बिट जलाए, ट्राफिक बिट ढलाइदिए । बजारमा रहेका प्रहरीमाथि ढुंगामुढा हुन थालेपछि उनीहरू पछि हट्दै इलाका प्रहरी कार्यालयनिर पुगेका थिए । स्थिति नियन्त्रणबाहिर जान थालेपछि बिहान ११ बजे स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्‍यो । बजारमा कर्फ्युको माइकिड गर्दागर्दै भीड अघि बढ्यो । गल्लामण्डी आसपास तैनाथ प्रहरीले गोली चलाउँदा भारतको सिद्धार्थनगर जिल्लाअन्तर्गत मुडिला गाउँका २२ वर्षे सुरज पाण्डेलाई लाग्यो । प्रदर्शनकारीले उनलाई उपचारका लागि स्थानीय क्लिनिकमा पुर्‍याए पनि ज्यान बचेन ।


डीएसपी सुनील मल्लले स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि बाध्य भएर गोली चलाएको बताए । ‘कर्फ्यु लगाएका बेला भीड अघि बढ्नाले घटना भयो,’ उनले भने ।


पाण्डेको शव आन्दोलनकारीले गल्लामण्डीनजिक बैंक रोडमा ठेलामा राखेर बसेका छन् । आठ वर्षदेखि कृष्णनगरमा बस्दै आएका पाण्डे गोलघरमा चिया बिक्री गर्थे । उनी नेपाली भएको कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ताले दाबी गरे ।


कर्फ्युका कारण बजार सुनसान छ । सर्वसाधारण घरभित्रै बसेका छन् । स्थिति नियन्त्रणमा राख्न प्रशासनले सदरमुकाम तौलिहवा, चन्द्रौटा, भालुवाङ र बुटवलबाट प्रहरी र सशस्त्र बल झिकाएको छ । सीमा नाका बन्द गरिएको छ । भारततिर सीमा सुरक्षा बल सतर्क छ । भारतीय सुरक्षा अधिकारीले प्रान्तीय आर्म प्रहरी (पीएससी) झिकाएको जनाएका छन् । कृष्णनगर भारतीय सीमासँग जोडिएको छ ।


नेतृत्वविहीन आन्दोलन

कृष्णनगरमा भइरहेको आन्दोलनमा नेतृत्वकर्ता कोही छैन । समस्या समाधानका लागि प्रशासनले स्थानीय नेतालाई सम्पर्कमा आउन भने पनि कोही नआएकाले समस्या भएको प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले बताए । पत्रकार महासंघ र नागरिक समाजलाई वार्ताको वातावरण बनाउन आग्रह गरेको उनको भनाइ छ ।


यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सामाजिक सद्भाव कायम राखी संयम अपनाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका निर्देशक मुरारिप्रसाद खरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा आयोगको टोली बिहीबार नै घटनास्थल पुगी अनुगमन गरिरहेको जनाइएको छ ।


प्रकाशित : कार्तिक १५, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?